Comments Add Comment

छापामा आजः ह्वात्तै बढ्यो चिनियाँ लगानी, १० महिनामै ४३ अर्ब लगानी प्रतिबद्धता

३ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरु समेटेका छन् । थप हवाई रुट दिन भारत सहमत भएकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विविध शीर्षक दिएर लेखेका छन् । योसँगै भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हटेको छ ।

देशभर क्षारीय धमिलो वर्षा भएको छ । पत्रपत्रिकाहरुले राजस्थानको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी (डस्ट स्ट्रोम) नेपालको वायुमण्डलमा प्रवेश गरेपछि बिहीबारदेखि हिलोवर्षा भएको जनाएका छन् ।

सत्तारुढ सांसदलाई बजेटको विरोध नगर्न प्रधानमन्त्रीले गरेको आग्रहलाई पनि पत्रपत्रिकाले लेखेका छन् ।

यसका अतिरिक्त अरुण तेस्रोको बाँधमा चार बेपत्ता भएको, कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा थप कमजोर बनेको, नेपालमा चिनियाँ लगानी बढेको लगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले स्थान दिएर छापेका छन् ।

ह्वात्तै बढ्यो चिनियाँ लगानी

नयाँ पत्रिकाले आज नेपालमा चिनियाँ लगानी ह्वात्तै बढेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार पछिल्ला वर्षमा ३ अर्बको औसतमा लगानी आइरहेकोमा यस वर्ष १० महिनामै ४३ अर्ब लगानी आएको छ ।
उद्योग, जलविद्युत्त, होटेललगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।

उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ ।

‘प्रधानमन्त्री चीनबाट फर्कनासाथ संविधान संशोधन’

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणबाट फर्कनासाथ संविधान संशोधन प्रक्रिया अघि बढ्ने समाचार अन्नपूर्णमा छ ।

नेकपासँग संविधान संशोधन यथाशीघ्र गर्नेसर्तसहित सत्तामा सहभागी संघीय फोरम, सत्तामा जान तम्तयार राजपा र सरकारमा कांग्रेसबाहेकका शक्तिको प्रतिनिधित्व गराउने ओलीको रणनीतिले संशोधन अघि बढ्न लागेको अन्नपूर्णको विश्लेषण छ ।

नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसमेत मधेसवादी दलप्रति लचकदार छन् । संघीय फोरमका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री चीनबिाट फर्कनासाथ संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए ।

सवारी दुर्घटनामा दैनिक जान्छ ५ जनाको ज्यान

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५–७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ । ९ हजार ५० वटा दुर्घटनामध्े ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ ।

कान्तिपुरका अनुसार अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ ।

कृषकले पोखे सडकमा दूध

उत्पादित दूधको बिक्री नहुँदा बिर्तामोडका कृषकले सडकमा दूध पोखेका छन् । दैनिक उत्पादित दूध जिल्लास्थित एनएमसी डेरीले खरिद गरी लैजाने गरेकोमा हाल दूध उत्पादन बढी भएको भन्दै खरिद नगरेपछि कृषकले उत्पादित दूध सडकमा पोखेर विरोध जनाएको गोरखापत्र दैनिकमा खबर छ ।

चार वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाई पालना गर्न लगाएको तर अहिले दूध खरिद नगरिदिएको भन्दै आफूहरुले सडकमा दूध पोखेको स्थानीय चन्द्रप्रसाद खरेलले बताए ।

र, यो पनि– बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको नयाँ पत्रिकामा खबर छ ।

झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment