Comments Add Comment

अफगानिस्तानमा दुर्लभ दृष्यः सुरक्षाकर्मी र तालिवान लडाकुले सँगै मनाए ईद

राष्ट्रपति भन्छन्–सरकारी राहत दिन्छौं, स्थायी शान्तितर्फ कदम बढाऔं


३ असार, काठमाडौं । अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए । अफगानिस्तान र तालिवानको झण्डा लिएका उनीहरु कार र मोटरसाइकल चढेर प्रहरी चौकी हुँदै गए । केही दिनअघिसम्म यस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो ।

ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुहरुले युद्धविरामको घोषणा गरेका छन् । राष्ट्रपति असरफ गनीले युद्धविराम थप लम्बाइएको बताएका छन् । उनले तालिवानलाई पनि युद्धविरामलाई लम्बाउन आग्रह गरेका छन् ।

ईदको अवसरमा सरकारले केही तालिवान लडाकुहरुलाई पनि जेलमुक्त गरेको छ ।

तालिवानलाई पनि सरकारी राहत


राष्ट्रपति गनीले ईदको अवसरमा भएको संघर्षबिरामपछि स्थायी शान्तिका लागि कदम बढाउन चाहेको बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले तालिवानका सदस्यहरुलाई अब सर्वसाधारण नागरिकहरुलाई जस्तै सरकारी सेवासुविधा उपलब्ध गराइने बताए ।

ईद मनाउन तालिवान र सरकारी अधिकारीहरु भेला भएको बेला नंगरहार क्षेत्रमा भने आत्मघाती हमला हुँदा २५ जनाको ज्यान गयो । त्यो कुराको उच्चारण राष्ट्रपतिले आफ्नो सम्बोधनको क्रममा गरेनन् । बरु उनले गत आइतबार अमेरिकी वायुसेनाको ड्रोन आक्रमणबाट पाकिस्तानी तालिवानका प्रमुख मौलाना फजलुल्लाहको मृत्यु भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment