Comments Add Comment

कांग्रेसमा ‘कोइराला विरासत’ एकै ठाउँमा उभिँदा देउवा ‘रेडजोन’मा

भातृ संगठनमा लगातार पराजयले अग्रिम महाधिवेशनको माग बलियो बन्दै

३ असार, काठमाडौं । ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वको चुनावको मनोनयन भइसकेपछि गत विहीबार एकाएक कांग्रेसवृत्तमा हल्ला चल्यो-बूढानीलकण्ठको थैली खुल्यो ।

सामान्यतः शेरबहादुर देउवा र आरजु राणाले घरमा भित्रिएको रकमको थैली खोलेर कार्यकर्तालाई बाँड्दैनन् भन्ने कांग्रेस वृत्तमा चर्चा चल्ने गर्छ ।

पार्टीको सबैभन्दा ठूलो र धेरै सदस्य रहेको भातृ संगठन ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको कब्जामा जाने संकेत देखिएपछि आरजुले बुढानीलकण्ठ निवासबाटै थैली खोलेको चर्चा कांग्रेसजनमा चल्यो । सोही साँझ मतदातालाई पैसा बाँड्दा बाँड्दै रंगेहात भेटिएको आरोपमा देउवा पक्षका युनियन नेता समातिए ।

चार भाइ एक ठाउँ, देउवालार्इ दबाव

कार्यकर्ताहरुमा थैली खुलेको चर्चा चल्नु र देउवा पक्षका नेतामाथि पैसा बाँडेको आरोप लाग्नु संयोग मात्रै हुन सक्छ । तर, ट्रेड युनियनको निर्वाचन परिणामले कांग्रेसमा देउवा पक्ष ‘रेड जोन’ मा पुगेको संकेत दिएको छ ।

यसले अग्रिम महाधिवेशन माग गर्दै आएका शेखर कोइराला जस्ता नेतालाई बल पुगेको छ । त्योभन्दा पनि ठूलो कुराचाहिँ रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष एक ठाउँमा उभिँदा देउवा पक्ष अझ कमजोर बनेको छ ।

यसबीचमा शशांक कोइरालाको कथित तटस्थ भूमिका र शेखर कोइरालाको आफ्नै दौडाहाका कारण पौडेल पक्ष कमजोर बनिरहेको थियो । तर, जनाधार, वाकपटुता र सार्वजनिक छवि राम्रो भएका नेता कार्यकर्ताले नेतृत्व गरेको कृष्ण सिटौला पक्ष देउवाबाट कांग्रेस समाप्त हुने बुझेरै पौडेल पक्षसँग सहकार्य गर्न पुग्यो ।

यी दुई समूहलाई अर्जुननरसिंह केसी र केबी गुरुङ लगायतका नेताको पनि साथ रहेपछि तत्कालीन कोइराला परिवारको संरक्षण र सान्निध्यमा रहेका अधिकांश नेता कार्यकर्ता एकै ठाउँमा आइपुग्ने अवस्था बनेको हो ।

गत महाधिवेशनमा देउवाको महामन्त्री उम्मेदवार बनेका केसी र प्रस्तावक बनेका गुरुङ पनि ‘कांग्रेस बचाउने’ मूल्यमा पौडेल-सिटौला पक्षसँग सम्झौतामा पुगेका छन् ।

समीकरणमा फेरबदल

तीनै तहका चुनावमा भएको पराजयको नैतिक जिम्मेवारी समेत लिन नमानेपछि कांग्रेसभित्र देउवा थप अलोकपि्रय बनिरहेका छन् । यसको ज्वलन्त उदारहण हो- शिक्षक, कर्मचारी, इन्जिनियर र ट्रेट युनियनका अधिवेशनहरुमा देउवा पक्षको हार ।

भातृ संगठनहरुमा देउवा पक्षको अनपेक्षित पराजयले महासमिति बैठकलाई समेत प्रभावित पार्ने नेताहरु बताउन थालेका छन् । चुनाव देउवाकै गलत क्रियाकलापबाट हारिएको र हारको जिम्मेवारीसमेत लिन नमानेको भन्दै चन्द्र भण्डारीलगायतका नेताले देउवाको साथ छाडिसकेका छन् ।

कांग्रेसका जिल्ला सभापति भेलाको पूर्वसन्ध्यामा १३ औं महाधिवेशनको समीकरणमा व्यापक फेरबदल भएको छ । महाधिवेशनमा देउवालाई प्रत्यक्ष साथ दिएका अर्जुन नरसिंह केसी समूह, केबी गुरुङ समूह र चन्द्र भण्डारीहरुले साथ छाडेका छन् । कृष्ण सिटौला र गगन थापाहरु पनि देउवाबाट कांग्रेसको नेतृत्व खोस्न पौडेल समूहसँग एकजुट भएका छन् ।

गत साता आफ्नै निवासमा केही आफ निकट नेता कार्यकर्ता बोलाएर सिटौलाले देउवाबाट कांग्रेसलाई मुक्त गर्नुपर्नाको औचित्य पुष्टि गर्न खोजे । देउवाबाट आरजु राणामा नेतृत्व पुर्‍याउने कि, कांग्रेसको नेतृत्व कांग्रेसीहरुमै फर्काउने भन्ने प्रश्न अहिले कांग्रेस वृत्तमा उठाइएको छ ।

बिमलेन्द्र निधि, पूर्णवहादुर खड्का तहका केही नेता बाहेक अरु नेताहरु बूढानीलकण्ठ पुगेर केही माग राखे भने देउवाले ‘आरजुलाई भेट’ भन्न थालेका छन् । ‘देउवा आफू बाँचुन्जेल आफैं हुने र त्यसपछि आरजु हुँदै छोरा जयविर सिंह देउवालाई तयार पार्ने खेलमा लागे’ एक कांग्रेस नेताले भने ‘अब कांग्रेस जोगाउने हो भने हिजो कोइराला परिवारलाई साथ दिएकाहरु एकजुट हुनुको विकल्प रहेन ।’

अग्रिम महाधिवेशनकाे माग गर्नेलार्इ बल

ट्रेड युनियन कांग्रेसको अध्यक्ष पुष्कर आचार्य सिटौला निकट हुन् । देउवा पक्षका खिलनाथ दाहाललाई पराजित गर्न पौडेल पक्ष र सिटौला पक्ष एक ठाउँमा उभिए । अब यो क्रम जिल्ला सभापतिको भेला हुँदै महासमिति बैठकसम्म जारी रहने नेताहरुले बताएका छन् । जिल्ला सभापतिको भेलामा देउवाको आलोचना गर्ने बाहेक,त्यो फोरमको अरु कुनै बैधानिक हैसियत छैन ।

अब पौडेल-सिटौला-केसी र केबी गुरुङ पक्षको लक्ष्य भदौमा हुने महासमिति बैठकबाट देउवालाई अप्ठेरोमा पार्नेतिर हुनेछ । देउवाले बहुमत महासमिति सदस्यको पहिलेनै हस्ताक्षर संकलन गरेर विधानमा थप अधिकार आफूलाई राख्ने र महाधिवेशन ३ वर्षपछि धकेल्ने रणनीति बनाएका छन् । पौडेल-सिटौला पक्ष पनि महासमितिमा बहुमत सिद्ध गरेर अग्रिम महाधिवेशनमा लैजान चाहन्छ ।

अग्रिम महाधिवेशनको सवालमा महामन्त्री सशांक कोइराला सहमत छैनन् । कृष्ण सिटौलाले पनि खुलेर अग्रिम महाधिवेशन भनिसकेका छैनन् । तर, डा शेखर कोइरालाले दुवै नेतालाई अगि्रम महाधिवेशनमा सहमत गराउन खोजिरहेका छन् । शनिबार टेड युनियन कांग्रेसमा देउवा पक्ष पत्तासाफ भएको परिणाम आउँदा सशांक र शेखरसहितको लञ्च बैठक बसिरहेको थियो ।

यसबीचमा कोइराला परिवार एकजुट बन्न कार्यकर्ता तहबाट उनीहरुलाई दबाव बढेको छ । शशांक, शेखर र सुजाता कोइराला यसबीचमा पटक पटक लञ्च र डिनर बैठक बसिसकेका छन् ।

पछिल्लो समय देउवातिर लागेको भनेर पौडेल सिटौला पक्षको भेलामा समेत नबोलाइएका शशांकले टेड युनियनमा भने देउवा विरोधी उम्ेमदवार पुष्करलाई समर्थन जनाएर आफू सो समूहबाट अलग नरहेको सन्देश दिन खोजे ।

तैपनि देउवा बलशाली

यदि महासमिति बैठकअघि नै पौडेल र सिटौला पक्षलाई सिंगो कोइराला परिवार एकढिक्का भएर काँध थाप्यो भने देउवाले नेतृत्व गरेको संस्थापन पक्ष कमजोर बन्नेछ ।

अर्थमन्त्री भएको बेला आरजूले भने अनुसार गलत काम नगर्दा ज्ञानेन्द्रबहादुर कार्की महामन्त्रीबाट बञ्चित भए । बालकृष्ण खाँणलाई महामन्त्रीबाट रोकेर प्रमुख सचेतकमा थन्क्याइयो । जनाधार नभएका र चुनाव हारेकाहरुलाई पदाधिकारी मनोनित गरेको भन्दै देउवा पक्षभित्रै असन्तुष्टि छ ।

अहिले देउवालाई बिजय गच्छदारको साथ थपिएको छ । यद्यपि गच्छदारको साथले बैधानिक र गणितीय रुपमा कुनै फरक पार्दैन । बिधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या थप्ने र गच्छदार पक्षलाई समेट्ने आश्वासन दिइएको छ । तर महासमितिमा बहुमत जुटाउन देउवाका लागि अब निकै जटिल बन्दैछ । मिनेन्द्र रिजाल पौडेल सिटौला समूहबाट टाढा पुगिसकेका छैनन् । तर, आरजु देउवासँगको निकटताका कारण उनी देउवाको पनि खुलेर विपक्षमा उभिन सकेका छैनन् ।

चुनाव भइरहेका भातृ संगठनमा धमाधम संस्थापन पक्षको पराजय हुनु र चुनाव हुन बाँकी रहेका भातृ संगठनमा पौडेल-पक्ष मिल्दा आफ्नो पक्ष अल्पमतमा पर्ने अवस्था आउनु देउवा समूहका लागि चुनौति थपिएको हो । पौडेल-सिटौला पक्षमा अर्जुन र केबी समूह पनि थपिएपछि जिल्ला सभापति र महासमिति सदस्यको संख्यामा समेत हेराफेरि हुनेछ । यसले देउवामाथि दबाव थपिनेछ ।

यद्यपि देउवा अहिले पनि कांग्रेसमा सबैभन्दा बलियो पोजिशनमा छन् । सिटौला र पौडेल मिल्दा पनि र केही नेताहरुले छाडेर हिँड्दा पनि देउवालाई पराजित गर्ने शक्ति संगठित भइसकेको छैन । एकाध भातृ संगठनमा अर्को पक्षले जित्दैमा सभापतिको लोकपि्रयता घट्यो भन्न नमिल्ने र कतिपय संगठनका अध्यक्षको कमजोरीले पनि हारेको हुनसक्ने सहमहामन्त्री प्रकाशशरण महतको टिप्पणी अर्थपूर्ण छ ।

तर, प्रकाशशरणलाई तरुण दलकै पूर्व केन्द्रीय सदस्य तथा युवा नेतृ लक्ष्मी खतिवडाको एउटा जवाफ पर्याप्त हुन सक्छ । खतिवडाले ट्रेड युनियनमा देउवा पक्षको पराजय लगत्तै लेखिन्- यो खिलानाथ दाहालको हार होइन, शेरबहादुर देउवाप्रतिको वितृष्ण पोखिएको हो । हामीले भनेकै थियौं, यो चौधौं मिनि महाधिवेशन हो । कृष्ण सिटौल दाइ र अर्जुन नरसिंह केसी दाइलाई धेरै धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment