Comments Add Comment

केबल, एन्टेना र छाताविनाकै पोर्टेबल ‘प्रभु टिभी’को सेवा आजबाट

३ असार, काठमाडौं । अब केबल, एन्टेना र छाता नै नराखी टिभी हेर्न सकिने भएको छ ।

प्रभु समूहले आइतबारदेखि ‘प्रभु टिभी’ सेवा सुरु गर्दैछ । प्रभु समूहले नेपालमै पहिलोपटक भित्र्याएको टेलिभिजन प्रविधि डिजिटल टेरेस्टिरियल टेलिभिजन (डीटीटी) प्रविधिमा सानो डिभाइसबाट सिग्नल लिएर  ‘पोर्टेबल’ टेलिभिजन हेर्न सकिन्छ ।

परीक्षण सफल भएपछि आजदेखि सेवा सुरुवात हुन लागेको हो । यो प्रविधिमा आधारित भएर ग्राहकले महिनामा कति रुपैयाँ तिर्नुपर्ने हो भन्ने आजै सार्वजनिक हुनेछ ।

डीडीटी प्रविधि अन्यभन्दा स्तरीय हुने भएकाले ग्राहकको रोजाइमा पर्नेमा प्रभु टिभी विश्वस्त छ । टेरेस्टिरियल नै भए पनि प्रभु टिभीले आफूले सेवा दिने क्षेत्रका ९० प्रतिशत क्षेत्रमा एन्टेना नै राख्नु नपर्ने बताएको छ । कम्पनीले ग्राहकलाई दिने डिभाइसले नै च्यानलहरु रिसिभ गर्नेछ । प्रभुले डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिनेछ ।

यो प्रविधिमा सीधै सानो डिभाइसले नै टिभी च्यानल रिसिभ गर्छ । यो निकै सहज खालको टेलिभिजन प्रविधि हुने कम्पनीको दावी छ ।

टेरेस्टिरियल प्रविधिका टेलिभिजनका लागि केही टेलिभिजन कम्पनीले सञ्चार मन्त्रालयबाट लाइसेन्स लिइसकेका छन् । त्यसमध्ये प्रभु टिभीले पहिलोपटक यो प्रविधिमा प्रसारण थालेको हो । अब सिग्नल रिसिभ गर्ने विकसित डिभाइस राख्दा एउटा च्यानल मात्रै होइन, थुप्रै च्यानल प्याकेजमै लिन सकिने छ ।

बेसिकमा र प्रिमियम प्याकेजको घोषणा पनि आजै हुनेछ । टरेस्टिरियल प्रसारण गर्ने टेलिभिजनले फ्रिक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ  -सेकेन्ड जेनेरेसन टेरेस्टिरियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्टिरियल पनि भनिन्छ ।

नेपालमा सुरुवातमा टेरेस्टिरियल प्रविधिको प्रयोग गरेरै टिभी हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ । टेरेष्टिरियलको नयाँ प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।

प्रभु टेलिभिजनले काठमाडौं, पोखरा र चितवनबाट यो सेवको सुरुवात गर्न तयारी गरेको छ । त्यसपछि पूर्वको इटहरी, धरान लगायतका क्षेत्रमा पनि प्रभु टिभीको सेवा विस्तार गर्ने योजना छ ।

डीटीटी सेवा प्रदायकले विभिन्न स्थानमा प्रसारण केन्द्र राखेर सिग्नल रिले गर्छन् ।

सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्टिरियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।

यसका सजिला पक्षहरुले ग्राहकलाई थप आकर्षित गर्नेछ । तर, टेलिभिजन प्रसारकले दिने सुविधामा नै यसको बजार निर्भर हुनेछ । यो फूल एचडी क्वालिटीको भिडियोयुक्त टिभी भएकाले धेरै रुचाइने अपेक्षा छ ।

यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ ।

टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने दावी कम्पनीको छ । यो प्रविधिमा च्यानल रिसिभ गर्ने डिभाइसँगै टेलिभिजनसेटलाई यता-उता सारेर हेर्न सकिने भएकाले निकै उपयोगी पनि हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment