Comments Add Comment

विश्वकपमा भीएआर प्रविधिः रेफ्रीको निर्णयमा असर पार्छ ?

काठमाडौं । विश्वकपका हरेक खेलका हरेक कुनामा नजर राख्न ३३ वटा क्यामरा राखिएका छन् । फुटबलमा रेफ्रीको गलत निर्णयले उत्पन्न हुनसक्ने विवाद कम गर्न लागू गरिएको भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा त्यसले काम गर्नेछ ।

विश्वकपमा तेस्रो दिनका दुई खेलमा पेनाल्टीको निर्णय गर्न गरिएको भीएआरको प्रयोगले फुटबलमा यस प्रविधिको महत्व के हो भन्ने बुझाएको छ ।

फ्रान्स र अष्ट्रेलियाबीच कजानमा भएको खेलमा फ्रान्सका एन्टोनी गि्रजम्यान अष्ट्रेलियाको पेनाल्टी बक्समा लडाइएपछि सुरुमा पेनाल्टी दिइएको थिएन । तर, पछि भीएआरको सहयोगमा फ्रान्सलार्इ पेनाल्टी दिइयो ।

त्यस्तै मस्कोमा भएको अर्जेन्टिना र आइसल्याण्डबीचको खेलमा अर्जेन्टिनाका क्रिस्टियन पाभोन आइसल्याण्डको पेनाल्टी बक्सभित्र लडेपछि भीएआरको सहयोग लिइयो । तर, पेनाल्टी दिनुनपर्ने निर्णय भयो र खेल सुचारु भयो ।

यो प्रविधि विश्वकपमा पहिलोपटक प्रयोग भइरहेको छ । यसले फुटबल खेललाई आधारभुत रुपमा फरक पार्न सक्ने देखिएको छ । यसले खेलमा रेफ्रीले गरेका केही महत्वपूर्ण निर्णयहरु उल्ट्याएर नतिजामा नै फरक पार्न पनि सक्छ ।

यसका समर्थकहरुले भीएआरले निर्णयहरु निष्पक्ष बनाउन सुनिश्चितता गर्ने र उत्कृष्ट टिमले जित्ने दावी गर्छन् । तर, यी समर्थकहरु यो प्रविधि सुरुवाती चरणमा भएकाले रेफ्रीहरु अझै पनि यसको प्रयोग गर्नेबारे दुविधामा रहेको स्वीकार्छन् ।

भीएआरले कसरी काम गर्छ ?

खासमा यो एक थप रेफ्री हो जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ । अभ्यासमा भने यो अलि जटिल हुन सक्छ ।

१३ जना रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा छानिन्छन् । खेल जहाँ भएपनि उनीहरु मस्कोको विशेष स्थानमा रेफ्रीले लगाउने कपडा लगाएर बसेका हुन्छन्, उनीहरुलाई देख्दा लाग्छ उनीहरु मैदानमा जतिखेर पनि प्रवेश गर्न सक्छन् ।

यी मध्ये एकजना प्रत्येक खेलको लागि चुनिन्छन् र उनीहरुको तीन सहयोगीसहित टिम हुन्छ । त्यहाँ उनीहरुले रंगशालाभित्रबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्, जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन् ।

भीएआरले सबै खेल पूरै हेर्छन् ।यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन् । त्यसपछि रेफ्रीले आवश्यक ठानेमा उनी भीएआरसँग जोडिन सक्छन् । अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भीएआरको सहयोग लिन चाहेमा लिन सक्छन् ।

अर्को अर्थमा भन्नुपर्दा भीएआरले सल्लाह दिने मात्रै हो । यदि भीएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने रेफ्री मै हुन्छ ।

भिडियो रेफ्रीले के के सुझाव दिन सक्छ ?

फिफाले यो प्रविधिलाई विश्वकपमा प्रयोग गर्ने अनुमति त दिएको छ । तर उसले यस प्रविधि केही सीमित निर्णयहरुको लागि मात्रै प्रयोग गर्न पाउने बनाएको छ ।

१. गोल

गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भीएआरको प्रयोग गर्न सकिन्छ । तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन । यदि कुनै गोल दिँदा कुनै उल्लंघनले यसलाई रोक्न सक्छ भने भीएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ ।

२. पेनाल्टी

पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भीएआरमार्फत हेर्न सकिन्छ त्यस्तै दिइएको निर्णय उल्ट्याउन पनि सकिन्छ ।

३. रातो कार्ड

यदि रेफ्रीले फल भएको निर्णय गरे भने भीएआर त्यस फलको लागि रातोकार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ । भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ ।

४. पहिचानमा गल्ती

भीएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यो हो । यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ । र, यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन् ।

भीएआर प्रयोग भइरहेको कसरी थाहा पाउने ?

भीएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ । यसको प्रयोगको तीन तरिका छन् । पहिलो अवस्थामा रेफ्रीले आˆनो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन् ।

भीएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्।दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो इयर पिस समातेको जस्तो मात्रै देख्न सक्छन् ।

दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ । यसको सहयोगको लागि रेफ्रीले हावामा टिभीजस्तो संकेत बनाउँछन् र भीएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन् । त्यसको लागि भीएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन् । त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल सुचारु गर्नेछन् ।

तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ । यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ । रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन् । उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णय गर्छन् ।

सबै अवस्थामा रेफ्रीले भीएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन् । निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन् ।

यो किन विवादित छ ?

भीएआर प्रयोगमा आउन धेरै समय लाग्यो । किनभने, यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर थियो ।

आलोचकहरुका अनुसार रेफ्रीहरुले भीएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ । त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन् ।

तर, यसका समर्थकहरुले यस्तो कुराको खण्डन गर्छन् । यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भएकाले खासै फरक नपर्ने उनीहरुलको दावी छ । यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै मिल्नेसम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक रहेको उनीहरुको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment