Comments Add Comment

अरुणको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

३ असार, संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो ।

उनीहरुको उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले अनलाइनखबरलाई बताए ।

‘उहाँहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम ल्याउने तयारी गरेका छौं’, घिमिरेले भने, ‘अहिले घटनास्थलमा पुगेको स्वास्थ्यकर्मीको टोली प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेको छ ।’

‘ढुंगामा प्वाल पारेपछि आवाज आयो’

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो ।

‘प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनियो’, घिमिरेले भने, ‘त्यसपछि डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरेका हौं ।’

उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment