Comments Add Comment

इंग्ल्याण्डलाई हराएर ‘अरब क्रान्ति’को पीडा बिर्सन चाहन्छ ट्युनिसिया


काठमाडौं । ६३ वर्षका ताहेर ल्वाटी मध्य ट्युनिसको एउटा चिया पसलबाहिर विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डलाई हराउन सक्ने सम्भावनबारे गफ हाँकिरहेका थिए । ‘मैले फुटबल हेर्न थालेको वर्षौं भयो । यसपटक धेरैपछि विश्वकपमा पुगेको छ । ट्युनिसिया अर्को चरणमा पुगेको हेर्न मलाई धेरै नै मन छ’ उनले भने ।

ताहेरले सोचेको जस्तो हुनका लागि ट्युनिसियाले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डलाई निराश पार्नुपर्ने हुन्छ । ‘इंग्ल्याण्ड टिम हामीले खेल्ने लिगभन्दा धेरै माथि छ । इंग्ल्याण्डको प्रशिक्षकले नै भनेका छन्, फुटबलमा आचश्र्य लाग्ने कुराहरु पनि हुन्छन्’ उनले भने, ‘यदि भगवानले चाहने हो भने हामीले जित्ने छौँ ।’

ट्युनिसियामा धेरैका लागि रसिया विश्वकप ‘अरब क्रान्ति’ले दिएको पीडा बिर्साउने माध्यम बनेको छ ।

त्यसपछि भएका राजनीतिक र आर्थिक संकटले पीडामा रहेका उनीहरुलाई विश्वकप रमाउने मेलो बनेको छ । हिंसाका कारण कमजोर भएको घरेलु लिग फुटबललाई माथि उठाउन पनि ट्युनिसियनलाई विश्वकपले सघाएको छ ।

‘यसपटक टिमले राम्रो गर्नेमा म विश्वस्त छु’ ट्युनिसियाका फुटबल पत्रकार सोहाइल खमिरा भन्छन्, ‘जे सुकै होस् जुनसुकै तरिकाले पनि हामी उत्कृष्ट फुटबल हेर्नेछौँ । मेरो पुस्ताले सन् १९७८ को जस्तो ट्युनिसियन टिम हेर्न पाएको छैन । हामीले रक्षात्मक खेल मात्रै हेर्दै आएका छौँ ।’

फिफा वरियतामा २१ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । १२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि समूह चरणबाट माथि जान सकेको छैन ।

सोमबार समूह ‘जी’ मा रहेको ट्युनिसियाले आफ्नो पहिलो खेल इंग्ल्याण्डविरुद्ध खेल्दै छ । सन् १९७८ मा पहिलो विश्वकप खेलेको ट्युनिसियाले सन् १९९८, २००२ र २००६ को विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

सन् १९७८ मा विश्वकपमा आफ्नो पहिलो सहभागितामा मेक्सिकोलाई ३–१ ले हराएपछि ट्युनिसियाले कुनै खेल जित्न सकेको छैन । विश्वकपमा खेलेका १२ खेलमा ट्युनिसियाले एक खेलमा जित, चार खेलमा बराबरी गरेको छ । सात खेलमा पराजित भएको छ ।

यसपटक भने युवा खेलाडीको वर्चस्व रहेको ट्युनिसियाले समूह चरणमा कडा चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

ट्युनिसियाका फुटबल पत्रकार खमिरा पनि यसपटक कलात्मक खेलाडीहरु आफूहरुसँग भएको बताउँछन् । ‘हामीसँग अहिले भएका खेलाडी हेर्दा गोलका अवसर सिर्जना गर्न सक्षम छौँ । तपाइँ नइम स्लिटि, एन्सी बाड्री र वाहबी खाजरीलाई हेर्नुस् । उनीहरुले त्यो गर्न सक्ने छन्’ उनले भने,

‘मैले सजिलो हुन्छ भन्न खोजेको होइन । यथार्थमा रहेर हेर्नुपर्छ, इंग्ल्याण्ड र बेल्जियमसँग बराबरी साथै पानामासँग जित निकाल्ने हो भने हामी अर्को चरणमा पुग्छौँ ।’

ट्युनिसियामा फुटबल खेल कुनै राजनीतिक पक्षमा नपरी शुद्ध रुपमा रहेको छ । साथै समर्थक र प्रहरीको बीचमा हुने हिंसात्मक झडपबाट पनि बाहिर छ ।

‘राष्ट्रिय लिग पूर्व नेता बेन अलीसँग कहिल्यै जोडिएन । यो सधैँ राष्ट्रिय एकताको प्रमुख विषय बनिरह्यो’ ट्युनिसियन मामलाका जानकार अनुसन्धानकर्ता हम्जा मेदेबले भने,

‘सत्ताको औचित्य पुष्टि गर्न शासकले फुटबलको प्रयोग त गर्न खोज्छन् नै । यसैले बेल अलीले पनि अन्तर्राष्ट्रिय खेलहरुमा चासो देखाएका लगानी गरेका थिए । त्यस्तोमा पनि राजनीतिक अस्त्रका रुपमा नभई राष्ट्रिय एकताकै रुपमा फुटबल रह्यो ।’

यस्तोमा ट्युनिसियाका समकालीन राजनीतिज्ञहरु भने आफ्नो पक्षमा मानिसहरु पार्नका लागि फुटबलसँग जोडिन खोजिरहेका हुन्थे । नगरपालिकाका कतिपय चुनावमा उनीहरु फुटबलरसँग सम्बन्धित व्यक्तिलाई नै पनि सम्मिलित गर्थे । सन् २०११ पछि फुटबल राजनीतिक जीवनको फाइदाका लागि पनि जोडिन थालेको थियो ।

फुटबलमार्फत रहेको राष्ट्रिय एकताको भावना पनि गएको अप्रिलमा टुट्न पुगेको थियो । बेरोजगारी र व्यापक भ्रष्टाचारका कारण ट्युनिसियामा फुटबलका युवा समर्थकले आफ्नो पहिचान खोजिरहेका बेला प्रहरीसँग झडप भयो । त्यही घटनामा १९ वर्षका ओमर लाबिदीले रंगशाला नजिकैको नालीमा ज्यान गुमाए ।

फुटबलमा हुने जमघट राजजीतिक विषयको विवाद गर्ने स्थान बनेपछि समर्थकहरुले आफ्नो असन्तुष्टि फुटबल रंगशालामै देखाउन थाले । विभिन्न समूहमा विभाजित भएर प्रहरीविरुद्ध समर्थकहरु प्रयोग हुन थालेपछि रंगशाला भिडन्तको स्थान बन्न थाल्यो ।

हिंसाले थप हिंसालाई प्रसय दियो । अवस्था झनै बिग्रदै गयो । केही समूहहरु हिंसामै लाग्न थाले । उनीहरुले हिंसालाई दिएको महत्वले कतिपय जिहादी बनिरहेका थिए । राजनीतिक र सामाजिक संकटले युवाहरु धेरै नै भड्कीरहेका थिए । उनीहरुले फुटबललाई नै निराशा प्रस्तुत गर्ने माध्यम बनाए ।

ट्युनिसमा कुकको काम गर्ने नबिद बेन खायातिया भन्छन्, ‘राष्ट्रिय टिमको खेल त्यस्तो घरेलु प्रतियोगिता जस्तो होइन । त्यहाँ कुनै हिंसा हुँदैन । सबै जना एक ठाउँमा हुन्छन् । म मेरो सबै परिवारसँग बसेर विश्वकपको खेल हेर्छु । हामी क्याफेहरुमा गएर पनि खेल हेर्छौं र हुटिङ गर्छौं ।’

ताहेर पनि उनको कुरामा सहमत छन् । ‘महिना, बुढा मान्छे, केटाकेटी सबैजना नै विश्वकपलाई लिएर धेरै नै उत्साहित छन्’ उनी भन्छन्, ‘यसले हामी सबैलाई एकै ठाउँमा ल्याएको छ । म त इंग्ल्याण्डसँग पहिलो खेल हुने समय मिनेट मिनेट गनिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment