Comments Add Comment

कांग्रेस जिल्ला सभापतिको भेलाः देउवालाई थप ‘कर्नर’मा पार्ने दाउ

विधान आफ्नो अनुकूल बनाउने देउवाको समूहको रणनीति


४ असार, काठमाडौं । भातृसंगठनमा गुटगत संघर्ष गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह अब जिल्ला सभापतिहरुको भेलालाई आफू अनुकुल उपयोग गर्ने रणनीतिमा सक्रिय बनेका छन् ।

जिल्ला सभापतिहरुको तीनदिने भेला भोलिबाट हेटौंडामा सुरु हुँदैछ । त्यसअघि आज सोमबार अपराह्न ४ बजे हेटौंडामा नै केन्द्रीय कार्यसमितिको बैठक बस्ने कार्यक्रम छ ।

महासमिति बैठकको पूर्वसन्ध्यामा हुन लागेको जिल्ला सभापतिहरुको यो भेलाको बैधानिक हैसियत केन्द्रीय नेतृत्वलाई सुझाव दिने मात्रै हो । तर, राजनीतिक रुपमा भने यो भेलालाई अर्थपूर्ण मानिएको छ ।

काभ्रे सभापति मधु आचार्य भन्छन्, ‘पार्टी केन्द्रीय समितिले नै निर्वाचन पराजयको समीक्षा जारी राख्ने भनेकाले त्यसबारे पनि जिल्ला सभापतिहरुको भेलामा छलफल गर्छौं । तर, हामी त्यतिमा मात्रै अड्किँदैनौं ।’

संसदमा पार्टीको भूमिकादेखि सामाजिक–राजनीतिक मुद्दाहरुमा पार्टीको दृष्टिकोणबारे भेलामा छलफल हुने आचार्यले बताए ।

पौडेल एण्ड कम्पनी बलियो

जिल्ला सभापतिहरुको भेला वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको मागअनुसार बोलाइएको हो । यो समूहमा पछिल्लो समय कृष्ण सिटौला र अर्जुननरसिंह केसीदेखि देउवासँग रुष्ट भएकाहरु समेत मिलेका छन्, जसबाट ‘पौडेल एण्ड कम्पनी’ बनेको छ ।

पार्टीभित्रको यो नयाँ गठबन्धनले ट्रेड युनियनसहितका भ्रातृ संगठनका चुनावमा आफूलाई बलियो साबित गरेको छ । यससँगै अब जिल्ला सभापतिहरुको भेलालाई पनि देउवालाई कर्नरमा पार्नका लागि उपयोग गर्ने रणनीतिमा ‘पौडेल एण्ड कम्पनी’ लागिपरेको छ ।

यसका लागि उनीहरुसँग गणित पनि छ । १३ औं महाधिवेशनमा दोस्रो चरणको चुनाव हुँदा नै झण्डै ५० जिल्ला सभापतिले रामचन्द्र पौडेललाई भोट मागेका थिए । उनीहरु मध्ये अधिकांश अहिले पनि पौडेल समूहमै छन् ।

पछिल्लो समय कृष्ण सिटौला पनि यो समूहमा आएपछि झापा र कालिकोटका सभापति पनि आएका छन् ।

अर्जुननरसिंह केसी यो समूहतिर आउँदा नुवाकोटका सभापति पनि देउवाविरोधी समूहमा थपिएका छन् ।

चुनावका करण देउवाकै गृहजिल्ला डडेलधुराका सभापति कर्ण मल्ल स्वयंम पनि असन्तुष्ट छन् ।

यसरी हेर्दा जिल्ला सभापतिहरुको भेलामा पौडेल–सिटौला समूहको प्रष्ट बहुमत देखिने सम्भावना छ । र, यही आडमा पौडेल एण्ड कम्पनी जिल्ला सभापतिहरुको भेलाबाट चुनावी हारका दोषी देउवा नै हुन् भनेर स्थापित गर्न चाहन्छन् ।

उनीहरुले केन्द्रीय कार्यसमितिबाटै यो स्थापित गर्न चाहेका थिए । तर, देउवाले मानेनन् र बहुमतको बलमा केन्द्रीय कार्यसमितिले सामुहिकरुपमा चुनावी हारको जिम्मा लिने निर्णय गराएका थिए ।

तर, जिल्ला सभापतिहरुको भेलामा पौडेल एण्ड कम्पनीको बहुमत भएकाले यो सम्भव देखिएको छ । ‘चुनावमा टिकट बाँड्ने बेलामा पनि जिल्ला सभापतिहरुलाई अण्डरमाइन्ड गरिएको छ र विभिन्न समितिका खडा गरेर यसले उनीहरु रुष्ट छन्’ पौडेल समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘त्यही असन्तुष्टिमा टेकेर जिल्ला सभापतिहरुको भेलाबाट हामी ‘देउवाले पार्टी चलाउन सकेनन्’ भन्ने स्थापित गर्छौं ।’

तर, देउवा समूहको पनि आफ्नै रणनीति छ । उनीहरुले देउवालाई गाली गरेर पार्टी बन्दैनन् भन्ने स्थापित गर्न चाहन्छन् ।

पछिल्लो समय देउवा स्वयंमले मलाई मात्र गाली गर्ने, ओलीबारे केही नबोल्ने भनेर लगातार प्रश्न गरेका छन् । अरु नेताहरुले पनि चुनावी हारको जिम्मा केन्द्रीय समितिले लिइसक्यो, अब देउवालाई गाली गर्नुको कुनै अर्थ छैन भन्ने तर्क गरिरहेका छन् ।

नेताहरुका अनुसार यो अभिव्यक्ति अर्थपूर्ण छ ।

मोरङका सभापति डिगबहादुर लिम्बु चुनावी हारको जिम्मा कसले लिने भन्ने बहस पहिल्यै बिग्रिएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘हामी हाम्रो तहबाट जिम्मेवारी लिन्छौं तर, सभापतिले पनि नैतिक दायित्व दिनुपर्छ भन्ने साथीहरुले खोजेका हुन्, यो विवादको विषय होइन ।’

उनीहरुको अर्को प्रयास भनेको पार्टी केन्द्रदेखि जिल्लासम्म पदाधिकारी बढाउनुपर्छ भन्ने निर्णय गराउने हुनेछ ।

किनकि, केन्द्रमा नेता म्यानेज गर्नुपर्ने देउवाको जे समस्या हो, जिल्लामा सभापतिहरुको पनि त्यही समस्या हो । गुट जे भए पनि समस्या एउटै भएकाले देउवा समूह जिल्ला सभापतिहरुको भेलाबाट पदाधिकारी थप्ने सुझाव पार्टीलाई दिन लगाउने रणनीतिमा छ ।

यसो भएमा अब हुने महासमिति बैठकबाट विधान संशोधन गरेर पदाधिकारी थप्न सकिने देउवाको बुझाइ छ ।

पौडेल–सिटौला समूह पनि पदाधिकारी थप्नै हुँदैन भन्ने पक्षमा छैन । तर, महासमितिबाट संशोधन गरिएको विधान अहिले होइन, १४ औं महाधिवेशनबाट लागू गर्नुपर्ने यो समूहको अडान छ ।

साथै सबै गाउँपालिका, नगरपालिका र प्रदेश अधिवेशन मंसिरभित्र गर्न दबाव दिने यो समूहको रणनीति छ ।

एक नेता भन्छन्, ‘शेरबहादुर दोषी हो भन्ने आयो भने जिल्ला सभापतिहरुको भेला बोलाउन लगाएर रामचन्द्र एण्ड कम्पनी सफल हुन्छ । बोलेनन् भने यो भेला पनि देउवाकै पक्षमा जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment