Comments Add Comment

दयाहाङ भन्छन् : अब ग्याप राखेर मात्रै फिल्म गर्छु


अभिनेता दयाहाङ राईको अक्सर आलोचना हुने गर्छ, जस्तो पायो त्यस्तो फिल्म खेलेर संख्या मात्र बढाइरहेको भनेर । हुन पनि एकै वर्षमा उनका चार-पाँच वटासम्म फिल्म रिलिज हुँदा दर्शकहरु नै दिक्क हुने गरेका छन् ।

अर्कोतर्फ निर्माता-निर्देशकहरुको उनीसँग बेग्लै गुनासो हुन्छ । त्यो हो, चलचित्रको प्रमोसनका लागि समय नदिएको । एकैसाथ २-३ वटा चलचित्रमा व्यस्त हुने दयाहाङले बनिसकेको चलचित्रको प्रमोसनका लागि समय निकाल्न सजिलो पनि छैन ।

दयाहाङ स्वयंले पनि अब यो कुरा रियलाइज गर्न थालेका छन् । त्यसैले केही ग्याप राखेर मात्रै फिल्म गर्ने उनको मनस्थिति छ ।

सोमबार आयोजित ‘भैरे’ को ट्रेलर रिलिज कार्यक्रममा दयाले आफ्नो व्यस्तताबारे स्पष्ट पार्ने प्रयास गरे ।

‘म पनि चाहन्न मेरा धेरै चलचित्र एकैचोटि रिलिज होउन्, तर फरक समयमा गरेका चलचित्र पनि कहिलेकाही एकैचोटि रिलिज हुन आइपुग्छन्,’ उनले भने । त्यसो त अहिले पनि उनको हातमा तीनवटा चलचित्र छन्, आप्पा, नीरफूल र साइँली । तर, यी चलचित्रको सेड्यूल फरक फरक भएकाले एकैपटक नआउने उनले स्पष्ट पारे ।

भैरेको विषयमा चर्चा गर्दै दयाहाङले सुरुमा आफूलाई यो फिल्मको अफर आउँदा अस्वीकार गरेको बताए ।

‘मैले यो मेरो टाइपको फिल्म होइन भनेर सुरुमा पन्छाएको थिएँ,’ उनले भने । तर पछि निर्देशक एभरेष्ट सूर्य बोहाराले आफ्नो ड्रिम प्रोजेक्ट भन्दै उनलाई कन्भिन्स गरेका थिए । फिल्मको ट्रेलरबाट आफू सन्तुष्ट बनेको दयाहाङले बताए ।

आउँदो साउन ४ गते रिलिज हुने भैरेमा दयाहाङका साथमा वर्षा शिवाकोटी, सुरक्षा पन्त, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment