Comments Add Comment

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने


५ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र प्रख्यात स्नायू शल्यचिकित्सिक डा. उपेन्द्र देवकोटाको निधन परेको छ । पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर यी विषयमाथि खबर लेखेका छन् ।

‘रहेनन् डा. देवकोटा’ शीर्षक दिएर पहिलो पृष्ठमा डा. देवकोटाको निधनसम्बन्धी खबर छापेको कान्तिपुरले चीन भ्रमणका क्रममा रेलवे, पुनर्निर्माण र ऊर्जामा सम्झौता हुने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाले भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने जनाएको छ ।

राष्ट्रियसभाका ५९ सांसद्को कार्यकाल तय गरिएकोलाई पनि पत्रपत्रिकाहरुले आज नछुटाइकन छापेका छन् । यद्यपि, यो खबरले पहिलो पृष्ठमा भन्दा पनि भित्री पृष्ठमा ठाउँ पाएका छन् । सोमबार राष्ट्रियसभाका ५९ सांसदको कार्यकाल गोलाप्रथाद्वारा २, ४ र ६ वर्ष तय गरिएको थियो ।

यसका अतिरिक्त २५ वर्षपछि जापानसँग हवाई सम्झौता पुनरावलोकन भएको, कृषि मन्त्रीले पाउडर दूधको आयात बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको लगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ ।

यातायात तथा पारवहन सम्झौताको प्रोटोकोल भने अर्को महिना टुंगिने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीलाई उद्धृत गर्दै नयाँ पत्रिकाले प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने सहमति भ्रमणका क्रममा हुने लेखेको छ । नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश गर्ने तयारी छ ।

विदेश भ्रमण वर्षमा तीन पटक मात्रै

सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले वर्षमा बढीमा ३ पटक मात्र विदेश भ्रमण गर्न पाउने कार्यविधि प्रस्ताव गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमणलाई व्यवस्थित र मर्यादित बनाउन भनेको छ ।

संघीय सरकारलाई थाहै नदिई आफूखुसी औचित्यहीन कार्यक्रममा विदेश जाने क्रम बढेपछि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी किार्यविधि बनाउन लागिएको कान्तिपुरमा खबर छ ।

समाचार अनुसार संघीय मामिला मन्त्रालयले आफ्नो सिफारिसबिना स्थानीय तहका पदाधिकार िर कर्मचारीको भिसा सिफारिस नगर्न कन्सुलर सेवा विभाग तथा राहदानी विभागलाई ध्यानाकर्षण गराएको छ ।

तेल चोर्न नपाउँदा ढुवानी ठप्प

ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् ।

कान्तिपुर दैनिकका अनुसार लकिङ प्रणालीको विरोधमा उनीहरुले सोमबार इन्धन लोडसमेत गरेनन् ।

ढुवानी व्यवसायी महासंघका अनुसार आइतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरार भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् ।

पोखरामा करिब १५ दिनअघि औपचारिक रुपमा लकिङ शुरु भएको थियो । त्यसपश्चात चालकहरुले सांकेतिक विरोध गर्दै आएका थिए । तर अहिले ढुवानी नै ठप्प पारेका छन् ।

एकताको ब्यानरमुनि आरोपप्रत्यारोप


कांग्रेसका नेताहरुले पार्टी एकताको नारा लगाउँदै चितवनको भरतपुरमा सोमबार आयोजित दुई अलग अलग कार्यक्रममा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले अर्को खेमालाई आरोप–प्रत्यारोप लगाएका छन् ।

कांग्रेसको भातृसंगठन नेपाल दलित संघ र शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार प्रदेशस्तरी छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । एक–अर्काका कट्टर आलोचक मानिएका सभापति देउवा र पूर्वमहाचमन्त्री सिंह बेग्लाबेग्लै कार्यक्रममा प्रमुख अतिथि थिए । सभापति देउवा र नेता सिंहले गत वर्ष भएको तीनै तहका निर्वाचनमा कांग्रेसको पराजयको दोष एकअर्को पक्षलाई लगाउनमै समय खर्चिएको अन्नपूर्णमा खबर छ ।

र, यो पनि– सरकारले बनाइदिएको घर बाढीपीडितद्वारा बिक्री

बाढीपीडितको पुनर्वासको निम्ति सरकारले रौतहटमा बनाइदिएको घर बाढीपीडितले नै धमाधम बिक्री गर्न थालेका छन् ।

जीविकोपार्जनमा समस्या भएपछि उनीहरुले घर बिक्री गर्न थालेको गोरखापत्र दैनिकमा खबर छ ।

०५० सालमा आएको बागमती नदीको बाढीले विस्थापित रौतहटको साविक गढौ र पौराई गाउँ विकास समितिका करिब ५ सय घरपरिवारलाई लक्षित गरी सरकारले पौराई गाउँ विकास समितिको मंगलपुर र सन्तपुर गाउँ विकास समितिको नयाँ बस्तीमा निर्माण गरेको पक्की घर पीडितले नै बिक्री गरी साविककै स्थानलगायत अन्यत्र सर्ने गरेका छन् ।

बाढीले गढौ र पौराई गाविसका बासिन्दा घरवारविहीन भएपछि सरकारको अनुरोधमा चीनको चुची फाउण्डेसनले मंगलपुरका करिब ३ सय र नयाँबस्तीमा दुई सय घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाएको थियो । तर उनीहरुले जीविकोपार्जन गर्न समस्या भएको भन्दै घर बेच्न थालेको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् पत्रपत्रिकाको पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment