Comments Add Comment

बन्यो स्यानिटरी प्याडबाट वातावरणलाई जोगाउने मेसिन

रजश्वला भएका महिलाले आफ्नो स्वास्थ्य जोगाउन स्यानिटरी प्याड प्रयोग गर्दछन् । तर प्रयोग गरी फ्याँकिएको स्यानिटरी प्याड नकुहिने फोहोर भएको हुँदा यसको व्यवस्थापन निकै चुनौतिपूर्ण हुँदै गएको छ । किनकी नकुहिने फोहोर जम्मा हुँदै जाँदा त्यसले वातावरणमा नकारात्मक असर पार्दछ ।

यहि तथ्यलाई मध्यनजर गर्दै भारतको नागरपुरस्थित नेसनल इन्भारोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्यूट (निरी)को अगुवाइमा एउटा गज्जबको आविष्कार भएको छ ।

त्यहाँका वैज्ञानिकहरुले बिजुलीबाट चल्ने एउटा नयाँ भट्टी तयार गरेका छन् जसले मानिस र पर्यावरण दुवैको ख्याल गर्दछ । यस्ता भट्टीलाई स्वयंसेवी संस्था तथा नगरपालिकाको सहकार्यमा सार्वजनिक स्थान तथा होटलहरुमा राखिनेछ । प्रयोग भएका प्याड त्यही भट्टीमा जलाइन सकिने बीबीसी हिन्दीले जनाएको छ ।

शोधकर्तामध्येका एक डाक्टर नितिन लाभसेटवारका अनुसार दुई वर्ष अघिसम्म हरेक महिना ३३ देखि ३५ करोडसम्म स्यानिटरी प्याड प्रयोग हुन्थे । अहिले भने त्यो संख्या ५५ देखि ६० करोड पुगेको छ ।

प्रयोगपछि स्यानिटरी प्याडहरु अन्य ठोस फोहोरसँगै फ्याँकिने, कुनै खुल्ला स्थानमा गाडिने वा ट्वाइलेटबाट फ्लस गर्ने गरिन्छ ।

यसले प्रदुषणको समस्या दिनानुदिन बढिरहेको मात्र होइन प्रयोग भएका प्याडमा लागेको रगतमा भएका सुक्ष्म जिवाणु वातावरणमा फैलिएर त्यसलेे संक्रमणको खतरा पनि पैदा गर्दछ ।

कहिलेकाहीँ त प्रयोग गरेर फोहोरमा फ्याँकिएका प्याडहरु भुस्याहा कुकुरले च्यात्दै हिँडेको दृश्य पनि देखिन्छ । ट्वाइलेटबाट फ्लस गरिने ठूलो संख्याका स्यानिटरी प्याडहरुले पानी सोस्दै फुलिने र पानी ने रोकेर ढल प्रणालीमै व्यवधान उपत्न्न गर्ने गर्दछ ।

प्रयोग गरिएका प्याडहरु सामान्यतया प्लास्टिकमा पोको पारेर अन्य फोहोरसँगै फ्याँक्ने गरिएको हुन्छ । त्यसैले यस्ता प्रयोग भैसकेर फ्याँकिएका प्याडहरु एकत्रित गरेर वैज्ञानिक तवरले नष्ट गर्नु निकै चुनौतिपूर्ण रहेको अनुसन्धानकर्ताको भनाई छ ।

वैज्ञानिकहरुले तयार पारेको प्याड जलाउने विद्युतीय भट्टी वातावरणमैत्री छ । प्याड राम्रोसँग जलोस् भन्नका लागि मेसिनमा दुईवटा एयरवेज राखिएको छ । साथै अतिरिक्त हिटरको पनि प्रयोग गरिएको छ । एक हजार डिग्रीको अति उच्च तापक्रममा जलाइने भएकाले त्यसक्रममा धुवाँ पनि निस्किँदैन । बिजुली धेरै खर्च नहोस् भनेर निकै राम्रो पर्फमेन्सवाला हिटर डिजाइन गरिएको छ । उक्त मेसिनमा जलाइएको प्याडको खरानी पनि परीक्षण गरियो र त्यसक्रममा उक्त खरानीमा कुनै हानिकारक तत्व फेला परेन ।

शोधकर्ता नितिनका अनुसार उक्त भट्टीमा एक पटकमा ५ देखि १५ प्याड जलाउन सकिन्छ र पूरा जल्नका लागि १२ देखि १५ मिनेट लाग्दछ । यस हिसाबले १० घण्टामा ३ सयदेखि ६ सय वटासम्म प्याड सजिलो तथा सुरक्षित तरिकाले नष्ट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment