Comments Add Comment

यसरी निर्धारण हुनेछ नेकपाका पदाधिकारी र सदस्यहरुको हैसियत

नियमावली सच्याउन भातृ संगठनका पदाधिकारी र प्रवासी नेपालीको दबाब


५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले विभिन्न तहका पदाधिकारी र सदस्यहरुको मर्यादाक्रमबारे मापदण्ड बनाएको छ । स्थायी कमिटीमा पेश भएको पार्टीको नियमावलीको दफा २४ मा मर्यादाक्रमको प्रस्ताव गरिएको छ ।

नियमावलीमा हरेक पार्टी कमिटीले आफ्नो कमिटीका पूर्ण तथा वैकल्पिक सदस्यहरुको मर्यादाक्रम तोक्न सकिने उल्लेख छ । मर्यादाक्रम तोक्दा पार्टी सदस्यता प्राप्त मितिलाई पहिलो मापदण्ड बनाइएको छ ।

त्यस्तै पार्टीमा पूर्णकालीन भएर काम गरेको समय तथा पार्टीका विभिन्न कमिटीमा रहेर गरेको योगदान तथा इतिहासलाई मर्यादाक्रमको मापदण्डमा राखिएको छ । त्यस्तै पार्टी कामको निरन्तरता र क्रियाशीलता हेरेर मर्यादाक्रम तोक्न मातहत कमिटीलाई निर्देशन दिइएको छ ।

केन्द्रमा ९ जनाको मात्रै मर्यादाक्रम

नेकपाको केन्द्रीय कमिटी सदस्यहरुको पनि मर्यादाक्रम तोकिएको छैन । ९ सदस्यीय सचिवालयका बाहेक अन्य नेताहरुको मर्यादाक्रम तोक्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । संसदीय दलमा भने दलको नेतापछि अध्यक्ष, वरिष्ठ नेता र उपनेताको वरियता कायम हुने भएको छ ।

केन्द्रीय सचिवालयमा अध्यक्षद्वय केपी शर्मा अेाली र प्रचण्डपछिको तेस्रो वरियता माधव नेपालको तोकिएको छ । चौथोमा झलनाथ खनाल, पाँचौमा बामदेव गौतम, छैटौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा बादल र नवौंमा महासचिव विष्णु पौडेलको वरियता तोकिएको छ ।

स्थायी कमिटी सदस्यहरुको वरियताक्रम अहिलेसम्म तोकिएको छैन । माइन्युटमा वणर्ानुक्रम अनुसार नाम राखिएको छ । नियमावलीले व्यवस्था गरेको मापदण्ड अनुसार स्थायी कमिटी सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्न सकिने एक सचिवालय सदस्यले बताए ।

नेकपाको केन्द्रीय कमिटी र स्थायी कमिटीबीचमा पोलिटव्यूरो गठन हुन बाँकी छ । पोलिटव्यूरो सदस्य बन्नका लागि कम्तिमा एकपटक केन्द्रीय सदस्य भइसकेको हुनुपर्ने बैधानिक व्यवस्था गरिएको छ । पोलिटव्यूरो सदस्य चयनपछि नेताहरुको वरियता आफैं निर्धारण हुने ती सदस्यले बताए ।

भातृ संगठनका पदाधिकारी असन्तुष्ट

नेकपाका बिभिन्न भातृ संगठन, सम्पर्क मञ्च र प्रवासी कमिटीहरुका पदाधिकारी तथा सदस्यहरुको पनि नियमावलीमै व्यवस्था गरेर मर्यादाक्रम तोकिएको छ । पार्टीका घोषित २० वटा जनवर्गीय संगठनका पदाधिकारीको हैसियत नेकपाका जिल्ला कमिटी सदस्य सरह हुने व्यवस्था गरिएको छ ।

ती जनवर्गीय संगठनका केन्द्रीय सचिवालय सदस्यहरुको हैसियत पनि जिल्ला कमिटी सदस्य सरहनै हुने प्रस्ताव गरिएको छ । तर भातृ संगठनका पदाधिकारीहरुले स्थानीय कमिटी सदस्यहरुलाई भेटेर जिल्ला कमिटी सदस्य सरहको हैसियत अपमानजनक भएको भन्दै प्रदेश कमिटी सदस्यसरहको मर्यादाक्रम मिलाउन दबाब दिइरहेका छन् ।

स्थायी कमिटीहरुलाई नियमावली अध्ययन गरी असार १२ गतेसम्म लिखित सुझाव दिन महासचिव विष्णु पौडेलले पत्राचार गरेका छन् । भातृ संगठनका पदाधिकारीको हैसियत जिल्ला कमिटी सदस्य सरह बनाउन नहुनेमा नेताहरु पनि सहमत भएका छन् ।

भातृ संगठनका केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरुकोको हैसियत प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी सदस्यको सरह प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरुको हैििसयत प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी सदस्य सरह प्रस्ताव गरिएको छ ।

सम्पर्क मञ्चको हैसियत कमजोर

नेकपाको नियमावलीले केन्द्रीय सम्पर्क समन्वय कमिटी तथा प्रदेश सम्पर्क कमिटीको व्यवस्था गरेको छ । ती अन्तगृत जिल्ला सम्पर्क मञ्च, प्रतिनिधिसभा क्षेत्रीय सम्पर्क मञ्च, प्रदेशसभा क्षेत्रीय सम्पर्क मञ्च र स्थानीय तह सम्पर्क मञ्च गठन गर्न सकिने नियमावलीमा उल्लेख छ ।

सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरुको पार्टीको मर्यादाक्रम पनि नियमावलीमै तोकिएको छ । जिल्ला र महानगर सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरुको मर्यादा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी सदस्य सरह हुनेछ । अन्य तल्ला सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरुको मर्यादा पनि सोही बमोजिम तल्ला कमिटी सदस्य सरह हुनेछ ।

पार्टीका भातृ संगठनहरुले भने सम्पर्क मञ्चहरु गठन गर्न नपाउने नियमावलीले व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटी अन्तर्गत कार्यरत संगठित सदस्यहरुले सम्बन्धित जिल्लाका अधिवेशनहरुमा भाग लिन र उम्मेदवार बन्न नपाउने बन्देज पनि लगाइएको छ ।

प्रवासमा ७ कार्यक्षेत्र, मर्यादामा विभेद

नेकपाले विदेशमा बस्ने नेपालीहरुका लागि प्रवासी कमिटीहरु बनाउने भएको छ । प्रवास कार्यक्षेत्रलाई ७ वटामा वर्गिकरण गरिएको छ । जसमध्ये एसियामा नै तीनवटा प्रवास कमिटी छन् भने उत्तर र दक्षिण अमेरिकाको एउटै बनाइएको छ । एसियामा भारत प्रवास, दक्षिण पूर्व एशिया, मध्य तथा पश्चिम एशिया गरी तीनवटा छन् । त्यस्तै युरोप, उत्तर तथा दक्षिण अमेरिका,अष्ट्रेलिया र अफ्रिका महादेशमा अलग अलग कमिटी रहने भएका छन् ।

पृथ्वीका सात महादेशमध्ये एशियामा तीन र अरु महादेशमा एक एकवटा कार्यक्षेत्र नियमावलीले तोकेको छ । प्रवासी नेपाली संघ वा मञ्चका पदाधिकारी रसदस्यहरुको पार्टीको मर्यादाक्रम पनि नियमावलीमा व्यवस्था गरिएको छ ।

प्रवासी नेपाली संघ भारतको केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रदेश कमिटी सदस्य सरह कायम गरिएको छ । त्यस्तै भारतका विभिन्न राज्य समितिका पदाधिकारी र सदस्यहरुको मर्यादा जिल्ला कमिटी सदस्यसरह हुनेछ ।

भारतबाहेक अन्य प्रवास कमिटीका पदाधिकारी र सदस्यहरुको मर्यादाक्रम जिल्ला कमिटी सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपालमा रहँदा जिल्ला कमिटीभन्दा माथिल्लो तहका काम गरिसकेकाहरुले भने यो प्रावधान हटाएर प्रदेश कमिटी सदस्य सरहको मर्यादाक्रम तोक्न सुझाव दिएका छन् ।

भारत प्रवास र अन्य प्रवास कमिटीका पदाधिकारी तथा सदस्यहरुमाथि विभेद गर्ने ढंगले नियमावली आएको भन्दै सच्याउन लबिङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment