Comments Add Comment

कात्तिक दोस्रो साताबाट पोखरा प्रिमियर लिग क्रिकेट


५ असार, काठमाडौं । आगामी कात्तिकमा पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) हुने भएको छ ।

क्विन इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा कात्तिक ९ देखि २० गतेसम्म हुने टी-२० क्रिकेटमा ६ वटा फ्रेन्चाइज टिम रहनेछ । केही ईपीएल-डीपीएल खेलेका र केही नयाँ शहरको स्वामित्वमा फ्रेन्चाइज टिम हुने आयोजकले जनाएको छ ।

खेलाडीहरुको छनोट अक्सनबाट गरिने क्विन इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए ।

पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिता अघि सम्बन्धित फ्रेन्चाइज टिमले यू-१६ टिम बनाउनेछन् र काठमाडौंमा जुनियर पोखरा पि्रमियर लिग खेलाइनेछ । यसको फाइनल भने पोखरामा नै खेलाउने सोच रहेको लामाले बताए ।

पीपीएललाई प्रभावकारी बनाउन फ्यान सदस्यताको अवधारणा पनि अघि सारिएको छ । फ्रेन्चाइज टिमको फ्यान सदस्यहरुलाई प्रतियोगिताका क्रममा पोखरा जान, बस्न सहुलियतमा सुविधा हुनेछ भने सम्बन्धित शहरमा फ्यान जोन बनाएर त्यही खेल हेर्न मिल्ने व्यवस्था पनि मिलाइने भएको छ ।

पुरस्कार राशीबारे केही बताइएको छैन । तर, सर्वाधिक बनाउने प्रयास हुने आयोजकले जनाएको छ ।

यसअघि काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगको विजेताले २१ लाख र धनगढीमा भएको धनगढी प्रिमियिर लिगको विजेताले २५ लाख पाएको थियो ।

प्रतियोगिताका सबै खेल पोखरामा हुने भनिएको छ । तर, पोखरा मैदानको अवस्था त्यति राम्रो छैन ।

आयोजक क्विन इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले पनि आफूहरुको मुख्य चुनौती मैदान तयार पार्नु भएको स्वीकार गरे । उनका अनुसार पिच निर्माणका लागि जुलाई १ मा भारतबाट क्युरेटर आउनेछन् भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सहयोग गर्ने आश्वासन दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले यस्ता प्रतियोगिताहरुले क्रिकेटको विकासमा मद्दत गर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment