Comments Add Comment

नाम जुधाएर कम्पनी दर्ता गरेको भन्दै सिद्धार्थ यातायात समितिको विरोध


५ असार, बुटवल । आफूसँग मिल्दोजुल्दो नाम राखेर अर्को यातायात कम्पनी दर्ता भएपछि सिद्धार्थ यातायात व्यवसायी समितिले विरोध जनाएको छ ।

समितिका निवर्तमान अध्यक्ष सूर्यकुमार सारु मगर अध्यक्ष रहेको सिद्धार्थ यातायात प्रालि सञ्चालनमा आएपछि समितिले विरोध जनाएको हो ।

वर्षौं पुरानो संस्थाको नाम हुबहु राखेर यातायात प्रालि सञ्चालन गर्दा सर्वसाधारणमा भ्रम पर्ने र संस्थामाथि आघात परेको भन्दै समितिले त्यही नाममा कम्पनी सञ्चालन नगर्न आगह गरेका हुन् ।

मंगलबार भैरहवामा पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सञ्जीव रोक्काले २०७२ सालमा सरकारको नीति अनुसार समितिलाई कम्पनीमा रुपान्तरण गर्ने समझदारी भएको तर अहिले समितिसंग सल्लाह नगरी समितिकै नाममा अर्को कम्पनी सञ्चालन गर्नु बेइमानी भएको बताए ।

‘हामी आफै राज्यको कानुन अनुसार प्रालिमा जान तयार थियौं तर हाम्रो नाममा अर्को प्रालि सञ्चालन हुँदा अन्याय भयो’ रोक्काले पत्रकारसंग भने ‘उहाँहरुले अरु कुनै नामबाट प्रालि सञ्चालन गर्दा हाम्रो भन्नु केही छैन, तर सिद्धार्थ यातायातको नाममा हाम्रो अधिकार रहन्छ ।’

अध्यक्ष रोक्काले मौखिक समझदारी र संस्थागत हित विपरीत निवर्तमान अध्यक्षले नै सिद्धार्थ यातायात व्यवसायी समितिका पुराना गाडीहरुमा रंगरोगन गरेर प्रालिमार्फत चलेको भनी यात्रुहरुलाई भ्रममा पारेको आरोप लगाए ।

तत्कालीन अध्यक्ष सारुले पुरानो सम्झौता तोडेर जालझेल गरेकाले आफूहरुले विरोध गरेको र आवश्यक पर्दा कानुनी उपचार पनि खोजिने अक्ष्यक्ष रोक्काले बताए ।

सारु अध्यक्ष रहेको सिद्धार्थ यातायात प्रालिले असार १ गतेदेखि १८ वटा बस सञ्चालनमा ल्याएको छ । वरिष्ठ उपाध्यक्ष सुनिलराज विष्टले आफूहरु कम्पनीको विरोधी नभएको तर यात्रुहरुलाई भ्रम पार्ने काम भएकाले समाधानका लागि कानूनी उपचार खोज्ने बताए ।

विष्टले सरकारले भनेअनुसार ऐन संशोधन भएमा साउन १ गतेदेखि आफूहरुले नै कम्पनीको नाममा बस सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment