Comments Add Comment

बाबाको माया कति लाग्छ रे ….

निष्प्राण डा. उपेन्द्र देवकोटालाई उनकै रगत र पसिना सिंचित बाँसबारीस्थित न्युरो अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

उनकै इच्छाअनुसार निधनपछि दौरा, सुरुवाल र ढाका टोपी पहिर्‍याएको थियो । फूलै फूलको चाङमाथि चिर-विश्राम लिइरहेका डा. देवकोटाका सम्मुखमा थिए, पत्नी डा. मधु दीक्षित । देवकोटासँगै थिए तीन छोरीहरु मेधा, वसुधा र मञ्जरी ।

सायौं विरामीलाई नयाँ जीवन दिएका डा. देवकोटाप्रति श्रद्धान्जली दिन शुभचिन्तक तथा समर्थकको भीड लागेको थियो । डा. देवकोटाको पार्थिव शरीरमा फूल चढाएपछि धेरै भावुक भए, कतिपय त भक्कानिएर रोए ।

तीन छोरी भने डा. देवकोटाको निस्प्राण देहको यसरी ख्याल राखिरहेका थिए, ताकि बाबालाई कुनै असजिलो नहोस् । फूलमाला र अबिरले नबिझाओस् । अनुहारमा परेको एक चिम्टी अबिरसमेत मायालु हातहरुले पुछिदिन्थे । यस्तो लाग्थ्यो डा. देवकोटा मरेका छैनन् ।

उनीहरुलाई लाग्दो हो, यति निशब्द, यति निरिह, यति निर्जीव कहिल्यै थिएनन्, बाबा ।

हिजो ति बाबा, जो आफ्ना आदर्श थिए । प्रेरणा थिए । तिनको मुहारमा ओज थियो । आत्म-स्वभिमानले छाती सधै चौडा हुन्थ्यो । ति हातहरु कति उर्जावान् थिए । कति यन्त्रवत् थिए उनका शरीर ।

[sam_list] संघर्षको कठोर पहाड चिरेर चिकित्सा विज्ञानकै उपल्लो उपलब्धी हासिल गरेका बाबा आज आफ्नै रोगसँग पराजित भए ।

सम्भवत उनले यसअघि कहिल्यै घुँडा टेकेका थिएनन् । यति निर्भिक, जोशिला, ओजश्वी बाबा आज किन यति शिथिल !

सायद उनीहरुलाई लाग्दो हो, अब फेरि कहिल्यै बाबाको त्यो सग्लो अनुहार देख्न पाइने छैन । त्यो आँखा, त्यो नाक, त्यो ओठ, जसको स्पर्श अब कहिल्यै पाइने छैन । त्यो न्यानो छाती, जहाँ लहाडप्यारले टाँसिन पाइने छैन ।

अनि त्यो आवाज, अब फेरि कहिल्यै सुन्न पाइने छैन ।

देवकोटा विरामी भएर थला परेदेखि छोरीहरुले कहिल्यै साथ छोडेनन् । अस्पतालमा २४ सै घन्टा उनीहरु बाबाको हेरचाहमा तल्लिन थिए ।

बाबाको प्रत्यक्ष सास गनिरहँदा उनीहरुले आफूलाई कसरी सम्हाले त्यो उनीहरुलाई मात्र थाहा छ । तर, भिजेका आँखा कहिल्यै बाबालाई देखाएनन् ।

डा. देवकोटाको आखिरी दिनहरु जति दर्दनाक थिए, त्यसको पीडाबोध यी छोरीहरुले आवश्यै गरे होलान् । परिवारको मियो गुमाउनु पर्दाको असहृय बेदनासँगै पितृ-स्नेहले उनीहरु पक्कै भक्कानिए होलान् ।

विद्युतीय शवदाहमा जलेर क्षणभरमै खरानी हुने बाबाको यो शरीर अब फर्केर घरमा कहिल्यै आउने छैन । यो क्षणमा उनीहरुले त्यो निस्प्राण देहबाट यस्तो ध्वनी अनुभूत गरे होलान्, ‘छोरी, तिम्लाई बाबाको माया कति लाग्छ रे ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment