Comments Add Comment

विश्वलाई देखाउनु छ, इजिप्टियन फुटबल चम्किएको छ

इजिप्टियन फुटबलको कथा

यो कथा सुरु गर्नुभन्दा पहिले म मेरो मिल्ने साथी जियानलुइजी बुफोनलाई एउटा सन्देश दिन चाहन्छु ।

जिजि, तिमीलाई थाहा होला, मैले जहिल्यै तिमीलाई आˆनो ‘रोल मोडल’ मानेको छु । अनि तिमीलाई थाहा छ ? तिमीहरुले सन् २००६ को विश्वकप जित्दा म कति खुशी भएको थिएँ । तिम्रो उत्कृष्ट खेल जीवनका लागि धेरै बधाइ ।

अब तिमीलाई मेरो एउटा प्रश्न पनि छ, ४० वर्षका उमेरमा तिमी फुटबल छाड्ने सोचिरहेका छौ, किन यति हतारो ?

मलाई थाहा छ तिमीले विश्वकप जित्यौ, फुटबलबाट सबै पाएका छौ … तर, तिमीले अझै च्याम्पियन्स लिग जितेका छैनौं हो ? तिमी आफूलाई हेर त, अझै युवा नै छौ ।

यसरी पनि सोच न, तिमीले आफूलाई खेल्नका लागि बुढो भएको सोच्छौ भने मैले के सोच्नु होला त ?

मैले यसो रमाइलो मात्र गरेको है । तर, यसमै अलि अलि गम्भीर पनि छु ।

यसो सोच्छु … तिम्रो उमेरमै मैले खेलबाट सन्यास लिएको भए मेरो फुटबल जीवन कस्तो रहन्थ्यो होला ।

मैले हिँड्न सक्ने भएदेखि देखेको सपना हो, इजिप्टबाट विश्वकप खेल्ने । धेरै समयसम्म त मेरो सपना सपना नै रहन्छ जस्तो थियो ।

तर, यो वर्ष हामी विश्वकपमा छौँ । अनि म ४५ वर्षको उमेर इजिप्टको गोल पोस्ट सम्हालिरहेको छु ।

मलाई मानिसहरुले सोध्छन् पनि, यो उमेरसम्म कसरी खेलिरहन सक्नुहुन्छ ? किनभने, सामान्यतः फुटबलरहरुले सन्यास लिने समय ३० देखि ३५ वर्षको बीचमा छ । म इजिप्टका लागि विश्वकपमा मैदान प्रवेश गर्न पाएँ भने विश्वकप खेल्ने सबैभन्दा पाको खेलाडी पनि हुनेछु ।

तिमी मलाई राम्ररी चिन्छौ भने मेरो जीवन बारे पनि थाहा होला । म धेरै सुबिधा पाएर हुर्किएको होइन । दुःखमै हुर्किएको हुँ । तर भगवानले मेरा लागि एउटा कुरा भने राम्ररी नै दिए, सधैँ अघि बढिरहन सक्ने क्षमता ।

जब म पछाडि फर्केर हेर्छु, त्यही मेरो अघि बढीरहने क्षमता हो जसले उत्तरी इजिप्टको कार्फ अल बतिखमा अरु बच्चाभन्दा मलाई भिन्न बनायो । त्यसभन्दा बाहेक हामी सबै उस्तै थियौँ । अझ विद्यालयमा उनीहरुभन्दा म अलि कमजोर नै थिएँ । अलि धेरै नै कमजोर । ठीकै छ, म त्यो कुरा स्वीकार पनि गर्छु ।

कक्षा सुरु हुन अघिसम्म कक्षामै रहेको म सुरु हुने बेला फुटबल मैदानमा हुन्थेँ । कक्षा छाडेर फुटबल खेलिरहेको हुन्थेँ ।

मेरोतर्फबाट हेर्दा त्यो मेरो बैकल्पिक शिक्षा थियो । यदि मलाई पछि गएर फुटबलर नै बन्नु छ भने कक्षाको त्यो झिँझोलाग्दो पढाइ किन पढ्ने ? तर मेरो बुबाले मेरो कुराको कुनै राम्रो कारण पाउनु हुँदैन थियो । यसैले बेला बेला बुबासँग बच्न म आमाको पछाडि लुक्थेँ ।
बुबाले सधैँ भन्ने उही हो, ‘खै इसाम कहाँ छ ? अहिलेसम्म त्यसले आˆनो होमवर्क सकाएको छैन ?’

अनि आमाले भन्नुहुन्थ्यो, ‘अँ के लिन हो भर्खरै भित्र छिरेको छ ।’

यहाँ म राम्रो उदाहरण दिन सकिरहेको छैन । मेरै टिममा रहेका केही साथीहरु मेरो छोरा भन्न सुहाउने उमेरका छन् । यसले पनि मानिसहरु मेरो कुरा सुनेर विद्यालयको काम छैन रहेछ भन्ने नुबझुन् भन्ने लाग्छ । म फुटबलप्रति निकै नै झुकाव राख्ने भएकाले मेरा लागि विद्यालयको महत्व कम भयो । अनि म फुटबल खेल्न मात्र चाहँदैन थिएँ । म अपि|mकाकै उत्कृष्ट गोलकिपर बन्न चाहन्थेँ । यसैले म आठ वर्षको हुँदा लोकल फुटबल टिमबाट खेल्न थालेँ ।

हाम्रो अवस्था सुविधासम्पन्न थिएन । घाँस भएको मैदानमा पनि कहिल्यै खेल्न पाएका थिएनौँ । बालुवामा खेल्थ्यौँ । राम्रो कुरा के भने डेमियटा शहरबाट स्काउट्सहरु हाम्रो खेल हेर्न आउँथे । उनीहरुले नै एकदिन डेमियटाको युवा टिमबाट खेल्न मलाई प्रस्ताव गरे । त्यो बेला म १२ वर्षको थिएँ । मैले १५/१६ वर्षका केटाहरुसँग खेल्न पर्ने थियो ।

अप्ठेरो कुरा उमेर होइन । म डेमियटाभन्दा धेरै टाढा बस्थेँ । त्यहाँ पुग्नका लागि प्रत्येक दिन म सात किलोमिटर यात्रा गर्नुपर्ने हुन्थ्यो । त्यहाँसम्म पुग्ने गाडी भाडा मसँग हुँदैन थियो ।

यसैले मैले काम गर्न थालेँ । म एउटै समयमा दुई तीनवटासम्म काम लिएर पनि बस्थेँ । त्यो समय मैले कार्पेन्टरको काम पनि गरेँ ।

उनीहरु मेरो हातबाट भएको काम मन पराउथे । राम्रो काम गर्छु भन्थे ।

काम गर्न थालेपछि मैले फुटबलको नयाँ बुट किन्न सकेँ । कहिले काहीँ पैसा सकिएको हुन्थ्यो । डेमियटामा अभ्यास सकिँदा रात परेर सार्वजनिक गाडी पनि हुँदैन थिए । यसैले कतिपटक सात किलोमिटर हिँड्दै घर फर्किएको छु । कहिँलेकाहीँ साइकल भएको साथीलाई लिएर खेल हेर्न लैजान्थेँ र उसँगै र्फकन्थेँ । घर पुग्नसाथ सुत्यो अनि भोलिपल्ट फेरि उही ।

म १७ वर्षको हुँदा डेमियटाको पहिलो टिममा स्थान पाएँ । त्यसपछि मैले फुटबल खेलेर पैसा पनि पाउन थालेँ । जसले मलाई घरदेखि क्लबसम्म जाने पैसाबारे चिन्ता लिनु पर्दैन थियो ।

डेमियटा इजिप्टको दोस्रो स्तरको लिग खेल्थ्यो । एकदमै ठूलो प्रतिस्पर्धा हुन्थ्यो । त्यसको एक वर्षमा पहिलो लिगमा हाम्रो टिमको बढुवा भयो । विस्तारै मानिसहरुले मलाई चिन्न थाले ।

एक दिन खेल भइरहँदा राष्ट्रिय टिमका सहायक प्रशिक्षक मोहसेन सलेह पनि मैदानमै थिए । त्यो खेलपछि उनी मलाई भेट्न आए र इजिप्टको राष्ट्रिय टिमका लागि तिमीले खेल्नुपर्छ भने ।

उनले राष्ट्रिय टिमका लागि बोलाउँदा म झसङ्ग भएँ ।

तपाइँलाई राष्ट्रिय टिमबारे केही कुरा भनिहालुँ । इजिप्टमा हामी झण्डै १० करोड मान्छे छौँ । अनि जब राष्ट्रिय टिम खेलिरहेको हुन्छ उनीहरु सबै प्रशिक्षक बनिहाल्छन् । उनीहरुमा फुटबलको पागलपन छ । उनीहरुका लागि यहाँ राष्ट्रिय टिमभन्दा ठूलो कुरा अर्को छैन ।

राष्ट्रिय टिमको खेल हुँदा स्टेडियममा मात्रै होइन, चोकका चिया पसलमा पनि सिट खालि हुँदैन । यसैले सन् १९९६ मा राष्ट्रिय टिममा डेब्यू गर्दा मैले निकै गर्व महशुस गरेको थिएँ । हामी एउटा उद्देश्य बोकेर बढीरहेका थियौँ ।

इजिप्टले जम्मा दुई पटक विश्वकप खेलेको थियो । सन् १९९० मा र सन् १९३४ मा । फुटबलमा यस्तो पागलपन भएको देशले जम्मा दुईपटक विश्वकप खेल्नु सानो कुरा थियो । हाम्रा १० करोड प्रशिक्षकहरु त्योभन्दा बढी चाहन्छन् ।

हामीले जब १९९८ मा अपि|mका कप अफ नेसन जितेका थियौँ, अब फुटबलमा केही होला भन्ने लागेको थियो । तर, त्यसपछि तीन सिजन कुनै पनि प्रतियोगिताको क्वाटरफाइनलमा पुग्न सकेनौँ । विश्वकपमा पनि पुग्न सकेनौँ । यसैले धेरै खेलाडीले फुटबल नै छाडे ।

त्यसले हाम्रो फुटबलमा ‘गोल्डेन जेनेरेसन’ पनि आयो । सन् २००५ देखि २०११ सम्म हाम्रो टिममा रहेका खेलाडी अब देख्न सकिँदैन भन्ने कुरा हुन्थे । हामीले लगातार तीनपटक अपि|mका कप अफ नेसनको उपाधि जित्यौँ । त्यो अरु कुनै टिमले गर्न सकेका थिएनन् । यसैले हामी अपि|mकाको उत्कृष्ट टिम भएका थियौँ । तर हामी सबैको सपनामा बाँकी थियो विश्वकप ।

हामी जति नै राम्रा हौँ तर २०१० को विश्वकप लागि छनोट हुन नसक्दा हाम्रो सपना टुट्यो । छनोटमा हामी अल्जेरियासँग अंकका आधारमा बराबरमा थियौँ तर गोल डिफेरेन्सले पछि परेर प्ले अफ खेल्नु पर्ने भयो । प्ले अफमा १-० ले हारेर हामीले विश्वकप गुमायौँ ।
हामी फेरि उही अवस्थामा फर्कियौँ । अनि त्यसपछि सबै कुरा फेरियो ।

तपाइँलाई थाहा छ, सन् २०११ मा हाम्रोमा क्रान्ति भयो । अनि २०१२ मा फुटबल रंगशालामै भएको दंगामा ७० जनाभन्दा बढी मानिस मारिए । त्यसले हाम्रो लिग फुटबल पनि बन्द भयो । अनि जब लिग सुरु भयो तब दर्शक प्रवेश निषेध गरिएको थियो । अनि समर्थकबिनाको फुटबल के फुटबल । जब समर्थक थिएनन् फुटबल केही होइन ।

यो सबै कुराहरुले हाम्रो राष्ट्रिय टिममा पनि असर परेको थियो । त्यसपछि अपि|mकन कप अफ नेसनमा पनि हामी कमजोर भयौँ । कुनै पनि छनोटसम्म हुन सकेनौँ । अनि विश्वकप पनि गुमायौँ । २०१४ को विश्वकपका लागि भएको प्ले अफमा हामी घानासँग पराजित भएका थियौँ ।

जब हाम्रो फुटबलमा स्थायित्व भएन धेरै खेलाडी विदेशीए । त्यसको केही वर्षमा हाम्रा स्टार खेलाडीहरुलाई विदेशी क्लबमा पो देखियो । मोहम्मद सलाह लिभरपुलमा, मोहमेद एलेनी आर्सनलमा अनि अरुहरु पनि अरु क्लबमा । यसैले अरु लिगमा जानका लागि खेलाडीहरुलाई पनि कुनै संकोच भएन । यसले नै हामीलाई झनै बलियो बनायो ।

यसैले त्यो उथलपुथलले अन्त्यमा केही राम्रो नै भयो । वास्तवमा के भने त्यो क्रान्तिले इजिप्टियन फुटबललाई फाइदा नै भयो ।

मेरा लागि कुरा गर्दा त्यो उथलपुथलले असर गरेन । म आˆनो फुटबलमै ध्यान दिइरहेको थिएँ । मलाई विश्वकप खेल्नु थियो ।

यस्तैमा २०१५ मा अर्जेन्टिनाका हेक्टर कुपरले हाम्रो राष्ट्रिय टिम सम्हाल्न थाले । मैले धेरै प्रशिक्षकसँग खेलेँ । तर उनीजस्ता कोही लागेनन् । मलाई लाग्यो कुपरसँगै यी सबै खेलाडी हुने हो भने हामी विश्वकप खेल्नेछौँ ।

ममा त्यो विश्वास आएपनि केही समस्या भने थियो । राष्ट्रिय टिमका लागि बोलाउने बेला भएको थियो । उनीहरुले मेरो उमेर भने अलि बढी नै भएको सोचिरहेका थिए । किन हो त थाहा छैन तर सन् २०१२ पछि राष्ट्रिय टिमबाट मैले मुस्किलले केही खेल मात्रै खेल्न पाएको छु । मलाई लाग्छ, उनीहरु मलाई सन्यास लियोस् भन्ने चाहन्छन् । तर त्यो बेला त म ४० को मात्र थिएँ ।

अझ भन्दा म आफूलाई ४० भएँ जस्तो पनि लाग्दैन थियो । त्यसैले सन्यास लिने भन्ने कुनै प्रश्न नै थिएन ।

यसैले मैले झनै कडा मेहनत गर्न थालेँ । त्यसपछि मैले क्लब वादी डेग्लाको लागि एकदमै राम्ररी खेलेँ । त्यसपछि फेरि म राष्ट्रिय टिमका लागि बोलाइएँ । तर सुरुवाती किपरका लागि होइन, तेस्रो कि चौथो रोजाइँमा थिएँ । त्यसमा पनि मलाई खुशी थियो ।

एक्कासी ममा २० वर्षे केटोमा जस्तो केही गरेर देखाउँछु भन्ने चाहनाहरु आउन थाल्यो । मनमनै लाग्यो, ‘तैलेँ जे कुरा चाहेको छस्, त्यसका लागि राम्ररी काम गर । कडा मेहनत गर । एकदिन अवश्य हुनेछ ।

सन् २०१७ मा हामी फेरि अपि|mका कप अफ नेसनका लागि छानियौँ । तर जब प्रतियोगिता सुरु भयो, म निकै कमजोर महसुश गर्न थालेँ । म मैदानमा खेलिरहेको थिइनँ ।

पहिलो खेलमा हाम्रो पहिलो रोजाइँका गोलकिपर अहमद एल सेनावी घाइते भए । म उनको ठाउँमा खेल्न गएँ । त्यसपछि सबै खेल मैले खेलेँ । सेमिफाइनलमा त बुर्किनाफासोको दुईवटा पेनाल्टी रोकेँ । जसले हामी फाइनलमा पुग्यौँ । फाइनलमा हामी क्यामरुनसँग हारेपनि हामीले फुटबलमा धेरै पाएका थियौँ ।

इजिप्ट फर्किएको थियो ।

अनि, सँगै फेरि आएका थिए, इसाम एल हदारी पनि ।

हामी विश्वकप छनोट खेल्दै थियौँ । म पनि टिममा नै थिएँ । गएको वर्ष अक्टोवरमा हामीले कंगोलाई हराउन सके विश्वकपमा स्थान पक्का थियो । हामी इजिप्टकै बर्ग एल अरब स्टेडियममा ८५ हजार दर्शकको अघि खेल्दै थियौँ । ठाउँ भएको भए त्योभन्दा धेरै मानिस हुने थिए ।

जब हामीले खेलमा अग्रता लियौँ, दर्शक पागल भइसकेका थिए । हामी विश्वकपको नजिकै थियौँ …

तर, खेलको ८७ औं मिनेटमा कंगोले बराबरी गोल फर्कायो । मलाई लाग्यो यो पटक पनि विश्वकप गयो । अब हामी सक्दैनौँ ।

म कामिरहेको थिएँ । पूरै इजिप्ट डरले कामिरहेको थियो । हामी आˆनो सक्दो गरिरहेका थियौँ । अनि इन्जुरी समयमा हामीले पेनाल्टी पायौँ । त्यसका लागि सलाह अघि बढे … उनले गोल गरे ।

त्यसपछि इजिप्टमा के भयो त्यो कसरी बुझाउनु । पूरा इजिप्ट रमायो ।

अनि म यहाँ खेलाडीको कुरा मात्र भनिरहेको छैन । पूरै इजिप्टको कुरा भनिरहेको छु । घर, क्याफेदेखि चोकसम्म हरेक ठाउँमा मानिस उल्लासमा थिए । बुढा मान्छेहरु रोइरहेका थिए । मानिसहरु नचिनेका मानिसलाई पनि यसरी अंगालो हालिरहेका थिए, यस्तो लाग्थ्यो उनीहरु वर्षौंदेखिका साथी हुन् ।

खेलाडीहरु पनि खुशीले उपि|mरहेका थिए । सबैभन्दा रमाइलो मोहम्मद सलाहलाई हेर्दा लागेको थियो । उनी केही नसोचि सबैतिर दौडिरहेका थिए । यो सब के भइरहेको छ, उनले केही सोच्न सकेका थिएनन् ।

मेरो कुरा गर्दा सबैभन्दा पाको उमेरको भएर पनि होला म नियन्त्रणमै थिएँ । शान्त बसिरहेको थिएँ ।

हाहाहा … यसोभन्दा मलाई कसले विश्वास गर्नु र ? म झनै १५ वर्षको केटा जस्तो कराउँदै सबैतिर कुदिरहेको थिएँ ।

त्यसपछि केहीबेरमा शान्त भएर म गोलपोस्टको माथि चढेँ । त्यो मेरो ‘सेलिब्रेसन’को तरिका हो । त्यहाँबाट देखिने भन्दा राम्रो दृश्य अन्तबाट देखिँदैन । मलाई असाध्यै गर्व लागिरहेको थियो ।

इजिप्ट यसका लागि २८ वर्ष पर्खिएको थियो । म यसका लागि आˆनो पूरा जीवन पर्खिरहेको थिएँ । यो नै मेरो जीवनको सबैभन्दा खुशीको दिन हो ।

अहिले हामी रसियामा इजिप्टको मात्रै प्रतिनिधित्व गरिरहेका छैनौँ, पूरा अरबी दुनियाको प्रतिनिधित्व गरीरहेका छौँ । हाम्रो उद्देश्य अघिल्लो चरणसम्म पुग्ने छ ।

अनि पूरा विश्वलाई देखाउनु छ कि इजिप्टियन फुटबल चम्किएको छ । मलाई थाहा छ उनीहरुले सक्थे भने हरेक इजिप्टियन अहिले हामीसँग रसियामा हुने थिए ।

खेलमा के हुन्छ त्यो भन्न मिल्ने कुरा होइन । तर, हामीलाई चाहनेहरुलाई खुशी दिन, गर्व महशुस गराउन हामी आफूले सक्दो गर्ने छौँ ।

आशा छ, यस्तो लामो प्रतिक्षाको फल राम्रै हुनेछ ।

(इजिप्ट टिमका गोलकिपर इसाम एल हदारीले फुटबलमा सुरुका दिन, इजिप्टियन फुटबल र विश्वकप सपनामा रहेर प्लेयर्स टि्रब्युनमा लेखेको लेखको भावानुवाद गरेका हौँ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment