Comments Add Comment

ट्याक्सीले ठग्यो ? ९८५१२७३२२२ फोन वा एसएमएस गर्नुस्


५ असार, काठमाडौं । तपाईं ट्याक्सीबाट ठगिनुभयो या ट्याक्सीले मिटरमा जान मानेन ? त्यसो हो भने ९८५१२७३२२२ फोन वा एसएमएस गर्नुस् । सरकारले ठग चालकहरूमाथि कारवाही हुने दावी गरेको छ ।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा सेवाग्राहीबाट ट्याक्सी सञ्चालनका सम्बन्धमा बारम्बार गुनासो समबोधन गर्न यो नम्बरको व्यवस्था गरेको हो । मिटरजडित ट्याक्सीको सेवा दिन नमानेमा ९८५१२७३२२२ मा फोन वा म्यासेज गरेर जानकारी गराउन आग्रह गरिएको छ ।

गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र तथा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने दावी गरेको छ ।

यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।

‘कतिपय सार्वजनिक सवारीका साधनहरुले कानुनले व्यवस्था गरेका आरक्षित सिट सम्बन्धी प्रावधानहरुको कार्यान्वयन नगरेको भनी सेवाग्राहीबाट बारम्बार गुनासो आउने गरेको पाइएकोले सम्बन्धित सबै सार्वजनिक सवारीका साधनहरुले अनिवार्य रुपमा कानुनले तोके बमोजिमका आरक्षित सीट सम्बन्धित यात्रुलाई उपलब्ध हुने गरी सुरक्षित राख्नु हुन अनुरोध छ,’ विभागले भनेको छ ।

अनुगमन गर्दा आरक्षित सीटमा कानुनले तोके बाहेकका यात्रुलाई राखेको पाईएमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाही गरिने विभागमा प्रवक्ता तुल्सीराम अर्यालले बताए ।

सार्वजनिक सवारीका साधनले आरक्षित सीटको प्रयोग कानुन बमोजिम नगरेको भेटिएमा पनि ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment