Comments Add Comment

संयुक्त राष्ट्रसंघको मानवअधिकार काउन्सिलबाट बाहिरियो अमेरिका

६ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार काउन्सिल (यूएनएचआरसी)बाट अमेरिका बाहिरिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेका हुन् ।

भेनेजुयला र इरानमा भइरहेको मानवअधिकार उल्लंघका घटनामा चुप लागेको, राजनीतिक रुपमा पक्षपात गरेको भनेर अमेरिकाले काउन्सिलको आलोचना गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा निकी हेलीले मानवअधिकार काउन्सिललाई ‘तथाकथित’ भनेर टिप्पणी गरिन् । उनले भनिन्, ‘जब एक तथाकथित मानवअधिकार काउन्सिल भेनेजुयला र इरानमा भइरहेको मानवअधिकार उल्लंघनको बारेमा केही पनि बोल्न सक्दैन र कंगो जस्तो देशलाई आफ्नो नयाँ सदस्यको रुपमा स्वागत गर्दछ भने यसले मानवअधिकार काउन्सिल भन्ने अधिकार गुमाउँछ ।’

उनले भनिन्, ‘खासमा यस्तो संस्थाले मानवअधिकारलाई नोक्सान पुर्‍याउँछ ।’

काउन्सिलका प्रमुख जेद बिन राद अल हुसेनले भने अमेरिकालाई आफ्नो निर्णय फिर्ता लिन र मानवअधिकारको रक्षाबाट पछाडि नहट्न आग्रह गरेका छन् ।

हेलीले भने काउन्सिलबाट बाहिरिनुको अर्थ मानवअधिकारप्रतिको जिम्मेदारीबाट हटेको भनेर बुझ्न नहुने बताइन् ।

पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले विश्वभर भइरहेको मानवअधिकार उल्लंघनका घटनामा काउन्सिलले आँखा चिम्लिएको आरोप लगाए । उनले भने, ‘एक समय यूएनएचआरसी राम्रो थियो । तर, हाल यसले मानवअधिकारको रक्षा गर्न सकिरहेको छैन । यो भन्दा पनि दुःखद कुरा यो कि काउन्सिल लाजमार्दो र पाखण्डको साथ बिभिन्न क्षेत्रमा भएको मानवअधिकार उल्लंघनका घटनालाई नदेखेको झैं गरिरहेको छ ।’

यूएनएचआरसीको स्थापना सन् २००६ मा भएको थियो । यसमा ४७ सदस्य राष्ट्र छन् । तर, मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेका देशहरु नै यसको सदस्य बनेकाले आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment