Comments Add Comment

जनकपुर-जयनगर ब्रोडगेज रेल चलाउन मोडालिटी टुंगिँदै


६ असार, काठमाडौं । सरकारले नेपालको एकमात्रै जनकपुर-जयनगर रेलमार्ग पुनःसञ्चालनको मोडालिटीमा भारत सरकारसँग छलफल सुरु गरेको छ । यसका लागि भारतीय रेल्वे अधिकारीहरु काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात मनत्रालयका वैदेशिक महाशाखा प्रमुख केवबराज शर्माकाअनुसार विभिन्न मोडलका विकल्पहरुमाथि छलफल भइरहेको छ ।

ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि अब रेल किनेर आफैंले चलाउनेसहति अन्य दुई विकल्पहरु देखिएका छन् । भाडामा रेलगाडी ल्याएर चलाउने र कन्ट्रयाक्टमा अन्य कम्पनीलाई आउटसोेर्सिङ गरेर चलाउन दिने विकल्प पनि सरकारसँग छ ।

यो वर्ष बजेटले यो रेलमार्गमा रेलगाडी किन्न बजेट पनि छुट्याएको छ । तर, उपयुक्त विकल्पअनुसार नै मोडालिटी तय गर्ने शर्माले बताए ।

‘रेल चलाउन हाम्रो आफ्नै कानुन छैन । यसका लागि ऐनसहित कार्यविधिहरु पनि जरुरत पर्नेरहेछन् । तर, तत्कालै रेल चलाउन के गर्न सकन्छि भनेर गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

यो छलफलपछि नेपाल र भारतीय संयुक्त कार्यदलले रेल चलाउने उपयुक्त मोडल प्रस्ताव गर्नेछ । त्यसअनुसार करिब ३ हप्तापछि दुईदेशबीच बस्ने उच्चस्तरीय बैठकले मोडालिटीको टुंगो लगाउनेछ ।

यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङको तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरुको छ ।

‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेसन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ विभागका एक अधिकारीले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले केही वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनु ठीक हुन्छ ।’

३ वर्षका लागि आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्नुपर्ने ती अधिकारीको सुझाव छ ।

कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिँदैछ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भइरहेको छ । सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर-जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको छ । पुल तथा कल्भर्ट बनिसकेका छन् । स्टेशनहरुको निर्माण पनि सकिएको छ । अब सञ्चालनको मोडालिटी तय भएपछि देशको एकमात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइँदैछ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि बनाइसकेको छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्षभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

कुर्ता-जनकपुर-जयनगर खण्डतर्फ भने लिक लगभग तयार छ । तर, अहिलेसम्म लिकमा गुडाउन रेल र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन ।

कुर्ता-जजकपुर-जयनगर रेलमार्गमा रेल चलाउन भारतीय सरकारले पनि चासो देखाएको छ । त्यसैले केही हप्तामै यो रेलमार्ग कसले कसरी सञ्चालन गर्ने भन्ने तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment