Comments Add Comment

‘फुटबल जगतकै उत्कृष्ट हुन मेस्सीले विश्वकप जित्नै पर्दैन’

काठमाडौं । अर्जेन्टिनाका पूर्वखेलाडी हर्नान क्रेस्पोले मेस्सी फुटबल जगतकै उत्कृष्ट खेलाडी रहेको र त्यसका लागि उनले विश्वकप जित्नै पर्ने नभएको बताएका छन् ।

रसिया विश्वकपको आफ्नो पहिलो खेलमा मेस्सीले पेनाल्टीमा पनि गोल गर्न नसकेपछि अर्जेन्टिना आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । खेलपछि मेस्सीले क्लब फुटबलमा मात्रै राम्रो गर्ने तर, राष्ट्रिय टिमलाई उपाधि दिलाउन नसक्ने भन्दै आलोचना भएको थियो ।

३० वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा १४ सिजनमा ३२ क्लब उपाधि र फुटबलमा व्यक्तिगत रुपमा दिइने ठूलो अवार्ड बालोन डि’ओर पाँच पटक जितिसकेका छन् ।

‘धेरै खेलाडी छन् जसले विश्वकप जितेका छैनन् तर उनीहरु महान छन्’ क्रेस्पोले बीबीसीसँग भनेका छन्, ‘मेस्सी गजबमा खेलाडी हुन् । उनी खेलिरहेको हेर्न असाध्यै रमाइलो हुन्छ । उनी विश्वकप जित्न योग्य पनि छन् ।’

‘उनले विश्वकप जिते भने त राम्रो भइहाल्यो तर जितेनन् भने पनि उनी उत्कृष्ट खेलाडी नरहने भन्ने हुँदैन’ उनले भने ।

रसिया विश्वकप मेस्सीको चौथो विश्वकप हो । सन् २००६ र २०१० मा मेस्सीसहितको अर्जेन्टिना क्वाटरफाइनलमा र २०१४ मा फाइनलमा पराजित भएको थियो । सन् २०१४ मा मेस्सीले विश्वकपकै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए ।

क्रेस्पो अर्जेन्टिनाबाट धेरै गोल गर्ने तेस्रो खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि खेलेका ६४ खेलमा ३५ गोल गरेका छन् ।

साथै क्रेस्पोले मेस्सीले राष्ट्रिय टिमबाट उपाधि जित्न नसक्नुमा मैदानबाहिरका कुराहरु पनि मुख्य रहेको बताएका छन् । ‘हामीले उनलाई केही मद्धत नै गरेका छैनौँ । मेरो मतलब प्रशिक्षक, हाम्रो फुटबल फेडेरेसनका प्रमुख कसैले पनि उनलाई ध्यान दिएका छैनन्’ क्रेस्पोले भने ।

उनले अघि भने, ‘अचम्मको कुरा छ । अहिले विश्वकै महत्वपूर्ण खेलाडी हुन् मेस्सी तर हामीले उनलाई केही मद्धत गर्न सकेका छैनौँ । उनी जसरी हुन्छ जित्नै पर्छ भन्नेमा छन् त्यसैले दबाव महशुस गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment