Comments Add Comment

जिल्ला सभापतिलाई गगन-धनराजको पत्र : यो नेतृत्वबाट सशक्त प्रतिपक्षीय भूमिका पनि असम्भव

६ असार, काठमाडौं । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ ।

गगन थापा, चन्द्र भण्डारी लगायत आठ केन्द्रीय सदस्यहरुले हेटौंडामा जारी सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भनिएको छ । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ ।

पत्रमा भनिएको छ- हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं ।

उनीहरुले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गर्न आह्वान गरेका छन् । कम्तिमा यसै वर्ष ती तहको अधिवेशन सम्पन्न गरी २०७६ सालमा केन्द्रीय महाधिवेशन गर्न उनीहरुले सुझाव दिएका छन् ।

पत्रमा भनिएको छ- यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउनेछ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिज्यूहरुको यस बैठकले यी विषयहरुमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ।

आठ केन्द्रीय सदस्यहरुले कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।

सभापतिहरुलाई दिइएको पत्रमा भनिएको छ- अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ ? छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि ।

उनीहरुले यसअघि केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको ५१ पृष्ठ लामो प्रतिवेदन पनि अध्ययनका लागि सभापतिहरुलाई दिएका छन् । जुन प्रतिवेदनमा चुनावी हारको विस्तृत समीक्षा गर्दै कांग्रेस सुधारका विकल्प दिइएको छ ।

पत्रमा चण्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् ८ केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई लेखेको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment