Comments Add Comment

मेस्सीलाई लिफ्ट, अरु हिँड्दै मैदानमा

काठमाडौं । विश्व उत्कृष्ट फुटबलरलाई जेमा पनि अतिरिक्त सुविधा त हुनैपर्‍यो नि । सायद यही भएर होला अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बुधबार ट्रेनिङका लागि पिचसम्म जाने क्रममा छोटो यात्रामा पनि लिफ्ट पाए ।

टिमका अन्य खेलाडीहरु लुखुलुखुर हिँडेर आइरहँदा मेस्सीसँगै सर्जियो अग्युरो र मार्कोस रोजो पनि ‘गल्फ बुगी’ मा सवारी भएका थिए ।

बिहीबार क्रोयसियासँग महत्वपूर्ण खेल खेल्ने अघिल्लो दिन मेस्सीको उर्जा वचत गर्ने सोच पनि हुन सक्छ । पहिलो खेलमा आइसल्यान्डसँग मेनाल्टी मिस गरेका मेस्सीलाई आफ्नो आत्मविश्वास फर्काउने चुनौती पनि त छ । यदि क्रोयसियाविरुद्ध स्पष्ट जित हासिल गर्न नसकेको खण्डमा मंगलबार सेन्ट पिटसबर्गमा नाइजेरियाविरुद्धको म्याच उसका लागि गर वा मरको हुनेछ ।

मेस्सी केही दिनमा ३१ वर्ष पूरा हुँदैछन् । उनले बार्सिलोनाबाट क्लब फुटबलमा देखाएको क्षमता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भने प्रतिबिम्बित हुन सकिरहेको छैन । अघिल्लो विश्वकपमा उनले आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएका थिए तर फाइनलमा जर्मनीसँग १-० ले निराश हुनुपरेको थियो ।

कोपा अमेरिकाको फाइनलमा पनि हारेपछि मेस्सीले विक्षिप्त भएर राष्ट्रिय टिमबाट सन्न्यास लिए तर चौतर्फी दवावपछि फर्किए ।

अर्जेन्टिनाले विश्वकप उचालेको ३२ वर्ष भइसकेको छ भने २५ वर्षदेखि कोपा अमेरिका पनि जित्न सकेको छैन । यस विश्वकपमा आइल्यान्डविरुद्धको पहिलो खेलमा मेस्सीको जादू फिक्का देखिएको थियो ।

‘जे भयो त्यसबाट हामी पाठ सिक्नेछौं र अर्को खेल आफ्नो पक्षमा पार्नेछौं,’ अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओलीले भनेका छन् ।

डिफेन्डर गाबि्रयल मर्काडो भन्छन्, ‘हामी आइसल्यान्डसँगको खेलका आधारमा आफूलाई सुधार्नेछौं, तर त्यही खेल सम्झेर विरक्तिएर भने बस्दैनौं । हामी अगाडि बढ्नु छ र क्रोयसियाविरुद्धको खेल जित्नुछ ।’

क्रोयसियाका प्रशिक्षक ज्लाट्को डालिकले भने मेस्सीलाई रोक्ने रणनीति बुनिरहेका छन् । यसका लागि उनले बार्सिलोनाका मेस्सीका टिममेट इभान राकिटिकसँग टिप्स लिइरहेको बताए ।’उनले दिएका सबै सूचनाहरु प्रयोग गर्नेछु,’ उनले भने, ‘मेस्सी संसारकै महान खेलाडी हुन् र उनलाई रोक्ने कुनै खास सूत्र छैन । तर, हामी उनीहरुभन्दा ‘रिल्याक्स्ड’ मुडमा खेल्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment