Comments Add Comment

जिल्ला सभापतिहरुको भेलामा देउवाको चर्को आलोचना

६ असार, हेटौंडा । कांग्रेस जिल्ला सभापतिहरुको भेलामा चुनावी हारलाई लिएर नेतृत्वको चर्को आलोचना भएको छ । बहुसंख्यकको आक्रोस पार्टी सभापति शेरबहादुर देउवाप्रति थियो तर, आगामी बाटोबारे नयाँ प्रस्ताव आउन सकेन ।

मंगलबार ३८ जिल्ला सभापतिले बोलेको थिए । उनीहरु मध्ये १७/१८ जनाले सभापतिको आलोचना गरेका छन् भने केही मध्यमार्गी र केहीले बचाउमा बोलेका छन् ।

सभापतिहरु बोलिरहँदा पदाधिकारीका साथै धेरै केन्द्रीय सदस्य त्यही बसेर सुनिरहेका थिए ।

आक्रोस मात्र पोखियो

चुनाव सकिएको केही महिनापछि कांग्रेसले लामै समय लगाएर केन्द्रीय कमिटीमा चुनावी समिक्षा गरेको थियो । देउवा विरोधी नेताहरुले नेतृत्वको आलोचना गरेका थिए भने उनको समूहका नेताहरु बचाउमा उत्रिएका थिए ।

तर, चुनावी हारको जिम्मा केन्द्रीय कमिटीले लिने भन्दै बहस खुला राख्ने बाहेक केही गरेन । जिल्ला सभापतिहरुको भेला पनि त्यसको विस्तारित रुप मात्र भएको छ ।

रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहको बहुमत रहेको भेलामा धेरैले देउवाको आलोचना गरेका छन् । पार्टी नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, महाअभियोग, आईजीपी, राजदूत नियुक्ति प्रकरणमा चुकेको उनीहरुको आरोप छ । पार्टी नेतृत्वको गतिविधि पारदर्शी नभएको र टिकट वितरणमा आर्थिक चलखेल समेत भएको जिल्ला सभापतिहरुले बताए । धेरैको गुनासो जिल्लाको चुनाव हारेकाहरुलाई समेत सिफारिस समितिमा राखेर आफूहरुको अधिकार कटौती गरेकोमा समेत थियो ।

देउवा निकटवर्तीहरुले भने संसदीय समितिबाटै निर्णय भएको टिकट बाँडेको भन्दै बचाउ गरेका छन् । चुनावी हारको कारण वाम एकता, अन्तरघात पनि भएको बताएका छन् ।

पौडेल-सिटौला समूहले भने अन्तरघातीलाई कारबाही गर्ने भए नेतृत्वबाटै सुरु गर्नु पर्ने मत राखेका छन् । पार्टी नेतृत्वको निर्णय र कार्यशैलीका कारण पार्टी हारेको भन्दै उनीहरुले नेतृत्वमाथि चाँहि कस्तो कारबाही हुन्छ भनेका थिए ।

दिनभर जिल्ला सभापतिहरुको धारणा सुनेका एक केन्द्रीय सदस्य भन्छन्, ‘यो छलफल त धेरै सुनिसक्यौं तर, अब कसरी जाने भन्नेबारे खासै नयाँ कुराहरु आएन ।’

प्रकाशमानको बहिस्कार

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा केन्द्रमा चलिरहेको विवाद पनि देखिएको छ । नेतृत्वको चर्को आलोचना गर्दै आएका पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई उद्घाटन सत्रमा बोल्न नदिएपछि विवाद सुरु भएको थियो ।

त्यही कारण सिटौलाले लगातार मञ्च बहिस्कार गरेका छन् । सिंह भने मंगलबारको छलफलमा सहभागी नै भएनन् । उनले बहिस्कार गरेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment