Comments Add Comment

पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने तयारी


७ असार, पोखरा । पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखानाथ शब्द हटाउने तयारी गरिएकाे छ । महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभामार्फत नाम हटाउने भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने र अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम भएकाले पोखरा मात्रै राख्न अधिकांशको सुझाव थियो ।

साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका वडाध्यक्षसमेत नाम पोखरा मात्रै राख्न सहमत भएका छन् । आगामी नगरसभामा नाम फेर्ने प्रस्ताव गरेर पारित गर्ने योजना महानगरपालिकाले बनाएको छ ।

यसअघिको नगरसभामै नाम फेर्न अधिकांश सभा सदस्य सहमत थिए । तर मेयर मानबहादुर जिसीले अधिकांश नाम फेर्न सहमत भएर पनि निर्णय गर्न सकेका थिएनन् ।

‘पोखराको ४ सय ६५ वर्ग किलोमिटर भरी नै मेरो मोह छ, लेखनाथमा मात्रै होइन । नाम हामीले बल्झाएको समस्या होइन । हिजो नाममा सिफारिस गर्ने बेला जो यक्तिहरु थिए, तिनले पोखरा मात्रै भनिदिएको भए टन्टै साफ हुन्थ्यो,’ मेयर जिसीले भने, ‘अब लेखनाथ हटाउन धेरै तयार छन् । एकैचोटी हतारिएर होइन, लेखनाथवासीको पनि मन जित्दै सोचौंला भनेको थिएँ । अब हट्छ ।’

यसअघिको नगरसभामा एमाले पार्टीले महानगरको नाम पोखरा मात्रै राख्न सिफारिस गरिसकेको थियो । पार्टीको सिफारिस र नगरसभामा बहुमतले नाम फेर्न प्रस्ताव गरे पनि मेयर हच्किएका थिए ।

नामभन्दा काम र विकास चाहिएको भनाइ अधिकांश लेखनाथवासीको छ । केही लेखनाथवासी महानगरको नामबाट लेखनाथ हटाउँदा साविकको लेखनाथको अस्तित्व नै नरहने चिन्ता व्यक्त गर्छन् । नाम फेरिने भएपछि अधिकांश लेखनाथबासीले पनि सकारात्मक रुपमा लिएका छन् ।

‘महानगरले नामबाट लेखनाथ हटाउन गरेको निर्णय ठीक भयो । हामीलाई नाम होइन, काम चाहिएको हो,’ लेखनाथ क्षेत्रका कृर्तीराज ढकाल भन्छन्, ‘अब बरु विमानस्थलको नाम लेखनाथ विमानस्थल हुनुपर्छ ।’

पोखरा नामका पछाडि लेखनाथ झन्ड्याउनु भन्दा विकासलाई जोड दिने र कुनै राष्ट्रिय गौरवको पूर्वाधारलाई लेखनाथ नाम दिन लेखनाथ क्षेत्रका वासिन्दाको माग पनि छ । कवि शिरोमणि लेखनाथ पौड्याल राष्ट्रले गौरव गर्ने साहित्यकार भएकाले पोखरा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोको नाम लेखनाथ राख्नुपर्ने आवाजसमेत उठेको छ ।

लेखनाथ नाम हटाउने सम्बन्धी केही फरक आवाज सुनिए पनि बहुमत सकारात्मक छन् । ‘लेखनाथ नगरपालिका छुट्टै हुनुपर्छ ,पोखरामा गाभेर लेखनाथ धेरै पछाडि पर्याे र हामी लेखनाथवासीलाई पनि असुविधा भयो,’ लेखनाथ क्षेत्रका लेखनाथ पौडेलले भने ।

लेखनाथ नाम झन्ड्याउनुभन्दा लेखनाथ पौड्यालको कृतित्व र व्यक्तित्वको विकास गर्ने, लेखनाथका काव्यलाई पुनःप्रकाशनदेखि पुस्ताकालय र जन्मस्थललाई एउटा पर्यटकीय उद्यानका रुपमा विकास गर्न महानगरले लगानी गर्नुपर्ने प्राज्ञिक क्षेत्रका व्यक्तिहरु बताउँछन् ।

पोखरामा लेखनाथ झन्ड्याउने तर मान्छेहरुले लेखनाथ भनेका को हुन्, उनको कृतित्व व्यक्तित्व के हो भन्ने थाहा भएन भने त्यसको अर्थ नहुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment