Comments Add Comment

प्रदेश ७ः आंशिक बजेटको खर्च निराशाजनक

७ असार, कैलाली । प्रदेश ७ सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको आंशिक बजेट सन्तोषजनक रुपमा खर्च गर्न सकेको छैन । वैशाख पहिलो साता ल्याइएको बजेट दुई महिना बित्दा पनि खर्चको अवस्था अत्यन्त न्यून छ ।

प्रदेश सरकारले अध्ययन, अनुसन्धान र अनुगमनमा केन्दि्रत भएर १ अर्ब २ करोड पाँच लाखको बजेट ल्याएकोमा हालसम्म जम्मा १२ करोड २६ लाख ९१ हजार रुपैयाँ बजेटमात्रै खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रशासनिक खर्चको रुपमा चालूतर्फ ८ करोड ४४ लाख २२ हजार रुपैया खर्च गरिए पनि विकास बजेट खर्चको अवस्था झनै निराशाजनक छ । विकास बजेटको रुपमा रहने पूँजीगत बजेट हालसम्म जम्मा ३ करोड ८२ लाख ६९ हजार रुपैयाँ खर्च गरिएको छ ।

छोटो अवधिका लागि बजेट तयार पारेर छोटो अवधिमै खर्च गर्नुपर्ने र तत्काल खर्च गर्नका लागि आवश्यक संयन्त्र पनि नरहेकाले खर्च प्रगति सोचे अनुरुप हुन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए । प्रदेश सरकारले चालू बजेट खर्च गर्नु पर्ने बेलामा आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयारी गर्ने व्यस्तताले पनि चालू आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक नभएको मन्त्री बोहराको दावी छ ।

आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले असार १ गते २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट ल्याइसकेको छ ।

मन्त्रालयहरुको अवस्था अस्तव्यस्त रहनु, अनगिन्ती योजनाहरु हुनु, योजना छनोट यथार्थपरक नहुनु, कर्मचारीतन्त्र हावी हुनु लगायतका कारणले चालू आर्थिक वर्षको आंशिक बजेट खर्च अवस्था सन्तोषजनक नरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले दावी गरेको छ ।

विपक्षीको आलोचना

आर्थिक वर्ष सकिन अब एक महिना पनि बाँकी नरहेकोले प्रदेश सरकारले आधा पनि बजेट खर्च गर्न नसक्ने देखिएको छ । आवश्यक संयन्त्र तयार नगरी हतारमा बजेट ल्याइएकाले प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट खर्च अवस्था भद्रगोल रहेको प्रतिपक्षी दलका सांसदहरुले आरोप लगाउँदै आएका छन् ।

नेपाली कांग्रेस प्रदेश नम्बर ७ संसदीय दलका नेता डा. रणबहादुर रावलले हचुवाको भरमा प्रदेश सरकारले चालू आर्थिक वर्षको अल्पकालीन बजेट ल्याएकाले सन्तोषजनक रुपमा खर्च गर्न नसकिरहेको बताए । उनले बिना कुनै योजनाको बजेट ल्याउँदा यस्तो परिणाम देखिएको उल्लेख गरे ।

‘बजेट कार्यान्वयन कसरी गर्ने स्पष्ट थिएन । कुन-कुन ठाउँमा खर्च गर्ने त्यो पनि स्पष्ट थिएन । खर्च गर्ने सन्दर्भमा कार्यविधी नै बनाइएको थिएन, संरचना थिएन’, डा. रावलले भने, ‘बजेट बनाउँदा विधिसम्मत तरिकाले नबनाएकाले खर्च नभएको हो ।’

प्रदेश सरकारले अल्पकालीन बजेट सन्तोषजनक रुपमा खर्च गर्न नसक्दा संसदमै सरकारको आलोचना भइरहेको छ । प्रदेश सरकारले अहिलेसम्म कहाँकहाँ कति बजेट खर्च गरेको छ ? कुन योजनाको कति पटक अनुगमन भएको छ ? त्यो सबै विवरण सम्मानित सदनलाई जानकारी समेत गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment