Comments Add Comment

फोक्सोको क्यान्सर कसरी हुन्छ ? डा.सम्पूर्णमान तुलाधरको लेख

फोक्सोको क्यान्सर एउटा यस्तो जटिल क्यान्सर हो, जसले विश्वमा प्रत्येक वर्ष लाखौ मानिसको मृत्यु हुन्छ । अझ भनौ, स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा प्रोस्टेट क्यान्सरका कारण वर्षमा जति मानिसको मृत्यु हुन्छ, त्यो भन्दा बढीको मृत्यु फोक्सोको क्यान्सरले हुने गर्छ ।

फोक्सोको क्यान्सरको प्रमुख लक्षण भनेको कफ आउने खोकी लाग्ने भएकोले यदी कसैलाई बारम्बार खोकी लागेमा भने तूरुन्तै चिकित्सकका जचाउनु पर्छ । किनकी फोक्सोको क्यान्सर भएमा खोकी लाग्ने, कफ आउने, स्वा स्वा हुने, छातीमा दाग देखिने लगायतका लक्षण देखा पर्दछ ।

तर कयौ मानिसहरुले यस्ता लक्षणलाई गम्भीरता पूर्वक नलिदा मानिसहरु ढिला भएपछि मात्र चिकित्सकका पुग्ने गर्दछन् । जसमा नेपालका पढेलेखेकाहरु तथा धनाड्यहरु मानिसहरु समेत पर्ने गर्छन् ।

त्यसो त फोक्सोको क्यान्सर आफैमा जटिल त छ नै । साथै, यो क्यान्सर सजिलै पत्ता समेत लाग्दैन ।
विश्वका विकसित मुलकहरुमा समेत जम्मा ३० प्रतिशत मानिसहरुमा मात्र फोक्सोको क्यान्सर भएको समयमै पत्ता लाग्छ । जबकी नेपालमा भने जम्मा ५ प्रतिशत विरामीमा मात्र यो रोग समयमै पत्ता लाग्ने हुदाँ यसको उपचारमा समेत जटिलता उत्पन्न हुने गर्दछ ।

नेपालमा थोरासिक वा फोक्सोको क्यान्सरका विरामी कति छन् , त्यसको यकिन तथ्यांक त छैन । तर पनि मेरो हकमा सातामा कम्तीमा २ देखि ३ जना सम्म विरामी उपचारका लागि आउने गरेको मेरो अनुभव छ ।

फोक्सोको क्यान्सर भएको ढिलो पत्ता लागेमा यसको उपचार निकै कठिन हुन्छ । त्यसैले चिकित्सकहरु यसलाई डरलाग्दो रोग पनि भन्ने गर्छन् । किनकी यो रोग नै समयमा पत्ता नलाग्ने रोगहरुमध्यमा पर्दछ ।

कसरी हुन्छ फोक्सोको क्यान्सर ?

डा.सम्पूर्णमान तुलाधर

धुमपान, मदिरापान, लगायतका सेवनका कारण पनि मानिसहरुमा फोक्सोको क्यान्सर हुने गर्दछ । त्यसो भन्दैमा धुमपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । तर जोखिम भने धुमपान गर्नेमा धेरै हुन्छ ।

त्यसबाहेक, वंशाणुगत कारण, वायु प्रदुुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धि दिर्घकालीन रोग लगायतका कारण पनि फोक्सोको क्यान्सर हुने गर्दछ । फोक्सोमा क्यान्सर भएमा फोक्सोको कोशिका अनियन्त्रित रुपमा बढ्ने गर्छ । र, उक्त कोषिका बढ्दै गई ट्यूमरको रुपमा परिणत हुने गर्दछ ।

फोक्सोको क्यान्सर भएमा यस्ता लक्षण देखा पर्ने गर्छ । जुन यस प्रकार छ:

-कफ आउने

-स्याँस्याँ हुने

-छाती दुख्ने

-खकारका साथमा रगत देखिने

-सास लिनमा कठिनाई हुने

-एक्सरे गर्दा छातीमा दाग देखिने

क्यान्सर नशासम्म पुगेमा काँधमा पीडा महसुस हुने

हुन त छातीमा दाग देखिएमा कतिपयले त्यसलाई टिबीको लक्षण समेत भन्ने गर्छन् । जबकी छातीमा देखिने यस्ता दाग टिबी नभएर फोक्सोको क्यान्सरको संकेत समेत हुन सक्दछ । अर्थात धेरै मान्छे यस्ता दागलाई लिएर झुक्किने गर्छन् । कतिपयले त यसलाई यसलाई नबुझेर टिबी भन्ने गर्छन् । र , लगातार टिबीको औषधी सेवन गर्दछन् । र , उक्त औषधी सेवन गरेको तीन महिना सम्म पनि
उक्त क्यान्सर निको नभएपछि मात्र विरामीहरु चिकित्सकका पुग्ने गर्दछन् । यस बारे हामीले विभिन्न कन्प|mेन्सहरुमा समेत कुरा राख्दै आएका छौ ।

हामी भन्छौ, ‘कुनै पनि दाग प्रमाणित नभएसम्म त्यो क्यान्सर हो ।’

नेपालमा फोक्सोको क्यान्सर र उपचार प्रविधि

नेपालमा फोक्सोको क्यान्सरका विरामीको यकिन तथ्यांक छैन । यद्यपी, अस्पताल आउने विरामीहरुमध्य सातामा २ देखि ३ जना विरामी फोक्सोको क्यान्सरको समस्या लिएर आउने गरेका छन् ।

कुनै पनि क्यान्सरको जम्मा चारवटा स्टेज हुन्छ । जसमा स्टेज एक र स्टेज दुईलाई प्रारम्भिक चरण मानिन्छ । फोक्सोको क्यान्सर प्रारम्भिक चरणमा भएमा त्यसलाई शल्यकि्रयाद्धारा सजिलै निकाल्न सकिन्छ । कुनै कुनै क्यान्सर तेश्रो स्टेजमा छ भने पनि त्यसलाई शल्यकि्रयाद्धारा हटाउन सकिन्छ ।

नेपालमा फोक्सोको शल्यकि्रया गर्ने चिकित्सक धेरै कम छन् । यद्यपी, नेपालमा दक्ष कार्डियो थोरासिक सर्जनहरु रहेको हुदाँ अब नेपालीले फोक्सोको क्यान्सर रोगको उपचार गर्नकै लागि विदेश जानु पर्दैन ।

यसरी नेपालमा फोक्सोको क्यान्सरको रोगको उपचार गर्दा जोखिम भने रहन्छ । तर उक्त जोखिम अमेरिकामा जति हुन्छ, नेपालमा पनि उति नै हुन्छ ।

फोक्सोको क्यान्सर भएको थाहा पाउने तरीका ?

फोक्सोको क्यान्सर आफैमा जटिल भएकाले यो रोग सजिलै पत्ता लगाउन सकिदैन । यद्यपी, लो डोज अर्थात विना इन्जेक्सनको प्रयोगद्धारा सिटी स्क्यान गरेर पनि यो रोग भए नभएको पत्ता लगाउन सकिन्छ । त्यसको लागि धुमपान गर्ने तथा जोखिममा रहेका मानिसहरुले निश्चित उमेर कटेपछि फोक्सोको क्यान्सर भए नभएको हेर्न बेलाबेलामा सिटी स्क्यान गर्नु पर्छ । सिटी स्क्यानमा फोक्सोको दाग देखिएमा पेट स्क्यान गरेर तथा रगतको जाच गरेर पनि फोक्सोको क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

(डा. तुलाधार कार्डियो थोरासिक सर्जन हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment