Comments Add Comment

सवारी व्यवस्थापनका लागि जीपीएस प्रणाली लागू गर्न अध्ययन थालियो

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तराष्ट्रिय स्तरको जीपीएस प्रणाली लागू गर्नका लागि अध्ययन सुरु गरेको छ ।

राजधानी काठमाडौंमा बढ्दो सवारीसाधनको संख्यासँगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जीपीएस प्रणालीको अध्ययन सुरु गरेको हो ।

जीपीएस प्रणाली लागू भएपछि जथाभावी बस स्टप गर्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धारित बस स्टपमा यात्रुले सवारी साधन आगमनको यथार्थ विवरण थाहा पाउन सकिने विश्वास लिइएको छ ।

यसले यात्रुहरुलाई सुविधा पुग्नुको साथै अव्यवस्थित सवारी चापलाई कम गरी सवारी सुशासन कायम गर्न सकिने विश्वास महानगरले लिएको नगरपालिकाका कार्यकारी प्रमुख यादवप्रसाद कोइरालाले बताए ।

महानगरले विशेष गरेर सडक सुशासन कायम गर्दै प्रभावकारी सार्वजनिक यातायातका लागि अन्तराष्ट्रिय स्तरका गाडी सञ्चालन गर्ने बारेमा पनि छलफल अघि बढाएको उनको भनाइ छ ।

बिहीबार राजधानीमा आयोजित ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले ट्राफिक लाइट व्यवस्थापन र सडक सुसासनमा महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गर्न महानगर तयार रहेको पनि जानकारी दिए ।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सवारी व्यवस्थापन सम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७४ साउनदेखि २०७५ जेठसम्म नेपालभर ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका छन् । ती मध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन् ।

यो अवधिमा भएको सवारी दुर्घटनामा मुलुकभर २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment