Comments Add Comment

रेफ्रीले रोनाल्डोको जर्सी माग्दा आक्रोश : यो विश्वकप हो कि सर्कस ?

७ असार, काठमाडौं । मोरक्कोका मिडफिल्डर नोर्दिन अमराबतले बुधबार भएको पोर्चुगल र मोरक्को बीचको खेलमा रेफ्रीले क्रिस्टियानो रोनाल्डोसँग उनको जर्सी मागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

टाउकोमा लागेको चोटको बाबजुद पनि पोर्चुगलसँगको खेलमा मैदानमा उत्रिएका अमराबतले रेफ्रीले देखाएको व्यवहार राम्रो नभएको बताएका हुन् । खेल खेलाइरहेका रेफ्रीले एक खेलाडीसँग प्रभावित भएर उनको जर्सी माग्दा त्यसले खेलमा नै असर पर्ने उनको भनाइ छ ।

‘मलाई थाहा छैन उनी के कुरामा अभ्यस्त भएका छन्, तर उनी क्रिस्टियानो रोनाल्डोको खेलबाट धेरै प्रभावित भएका थिए’ पोर्चुगलसँग मोरक्कोको पराजय पछि डच टिभीसँग कुरा गर्दै उनले भनेका छन्, ‘पेपेबाट मैले सुनेँ उनले पहिलो हाफमा रोनाल्डोसँग जर्सी मागेका थिए ।’

‘हामी के को बारेमा कुराकानी गरिरहेका छौं ? विश्वकपमा ? यहाँ सर्कस चलिरहेको छैन’ वार्टफोड क्लबका यी मिडफिल्डरले भने ।

बुधबार रातिसम्म उनको दाबीको बारेमा केही पुष्टी भएको छैन र पोर्चुगलका मिडिया अधिकारीहरुले पनि यसबारे कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

अघिल्लो सिजन लोनमा स्पेनको लेगानेसमा बिताएका अमराबत अझै पनि वाटफोर्डसँग नै आबद्ध छन् ।

इरानसँगको खेलमा टाउकोमा लागेको चोटको कारण उनी पोर्चुगलसँगको खेलमा खेल्ने अपेक्षा गरिएको थिएन तर, उनी विशेष टोपी लगाएर मैदानमा उत्रिएका थिए र खेलको केही समयपछि उनले उक्त टोपी फुकालेका थिए ।

मोरक्कोका प्रशिक्षक हेर्भे रेनार्डले चोटको बाबजुद उनलाई खेलाइएकोमा प्रष्टीकरण दिँदै भने, ‘म डाक्टर होइन, मेडिकल रिपोर्टहरु त्यससम्बन्धी जानकार मानिसहरुले पढ्छन् । मेडिकलका कुरामा मलाई ज्ञान छैन र उनीहरुले आफ्नो जिम्मेवारी लिन्छन् । त्यसैगरी खेलाडीहरुले पनि आफ्नो जिम्मेवारी लिन्छन् ।’

अमराबतको खेलको प्रशंसा गर्दै प्रशिक्षकले भने ‘मलाई लाग्छ उनले धेरै नै उत्कृष्ट खेले ।’

समूह ‘बी’ मा रहेको मोरक्कोले अन्तिम खेल स्पेनसँग खेल्नेछ । दुई खेलमा दुवै हारेर अघिल्लो चरणमा पुग्न नसके पनि मोरक्कोको खेलले भने प्रशंसा पाएको थियो ।

समूह ‘बी’ मा स्पेन र पोर्चुगल चार/चार अंकसहित शीर्षमा छन् । इरानको तीन अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment