Comments Add Comment

यसपटकको विश्वकपमा पेनाल्टीको बाढी ! यस्तो छ इतिहास

७ असार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा धेरै नै अप्रत्याशित कुरा भइरहेका छन् । नसोचिएको टिमको राम्रो प्रदर्शन र आश गरिएको टिमको कमजोर प्रदर्शनले त खेलअघि नतिजा अनुमान गर्नेहरुलाई समस्या नै भएको छ ।

त्यस्तो अनुमानमा यसपटक असर पार्ने प्रमुख कुरा हो, पेनाल्टी । विश्वकपका समूह चरणका २० खेल भएका छन् जसमा १० वटा त पेनाल्टी प्रहार भएका छन् ।

विश्वकपमा अहिलेसम्म धेरै पेनाल्टी भएको सन् १९९८ मा हो । जतिबेला १८ पेनाल्टी भएको थियो । यस्तै सन् १९९० र सन् २००२ को विश्वकपमा पनि १८ पटक नै पेनाल्टी प्रहार भएको थियो ।

तर यो विश्वकपमा त्यो कीर्तिमान भंग हुने जस्तो देखिएको छ । अहिले रसियामा सुरुका २० खेलमा १० पेनाल्टी प्रहार भएको हेर्दा यही आधारमा बढ्ने हो भने विश्वकप सकिँदा ३० भन्दा धेरै पेनाल्टी प्रहार हुन्छ ।

यसपटक अहिलेसम्म प्रहार भएका १० पेनाल्टीमा ८ वटा गोलमा परिणत भएका छन् । अहिलेसम्म रुसमा पेनाल्टी प्रहार गर्ने मध्ये पेरुका क्रिष्टियन कुएभा र अर्जेन्टिनाका लियोनल मेस्सीले मात्रै पेनाल्टीमा गोल गर्न सकेनन् ।

दुई फरक विश्वकपमा पेनाल्टीमा गोल गर्ने खेलाडीको संख्या ११ छ । त्यसमध्ये एक हुन् पोर्चुगलका क्रिष्टियानो रोनाल्डो । उनले यो विश्वकपमा स्पेनसँगको खेलमा पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि उनले सन् २००६ को विश्वकपमा इरानविरुद्धको खेलमा पेनाल्टीमा गोल गरेका थिए ।

विश्वकपको इतिहासमा एक हजार औँ गोल पनि पेनाल्टी मार्फत नै भएको छ । सन् १९७८ को विश्वकपमा नेदरल्याण्डसका रोब रेनसेनबि्रन्कले स्कट्ल्याण्डविरुद्ध पेनाल्टी मार्फत गरेको गोल विश्वकपको इतिहासमा १००० औँ गोल थियो ।

अहिलेसम्म पाँचवटा विश्वकप यस्ता छन्, जसमा सबै पेनाल्टीमा गोल भएको छ । जसमा सन् १९९४ को विश्वकपमा महत्वपूर्ण छ । त्यसबेला १५ पेनाल्टी भएकोमा सबै नै गोलमा परिणत भएका थिए ।

विश्वकपमा दुईवटा पेनाल्टी बचाउ गर्ने गोलरक्षक तीनजना मात्रै छन् । त्यसमा ज्यान थोमस्जेवास्की, ब्राड पि|mडेल र इकर कासिलास हुन् । यो विश्वकपमा आइसल्याण्डका हान्स हाल्लडोर्सनले एउटा पेनाल्टी जोगाइसकेका छन् ।

अहिलेसम्म विश्वकपमा २ सय २८ पेनाल्टी प्रहार भएका छन् । यसमा १ सय ८३ पटक गोल भएको छ । २७ पेनाल्टी किपरले बचाएका छन् भने १८ गलत दिशामा गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment