Comments Add Comment

लुम्बिनी अञ्चल अस्पतालले व्यवसायीलाई भन्योः जग्गा खाली गर

७ असार, बुटवल । लुम्बिनी अञ्चल अस्पतालले आफ्नो स्वामित्वको जग्गा खाली गर्न भनेपछि व्यवसायीहरुले विरोध जनाएका छन् ।

वर्षौदेखि अस्पताललाई भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका ३५ व्यवसायिक प्रतिष्ठानले अस्पतालले विना परियोजना आफूहरुलाई विस्थापित गर्न खोजेको गुनासो गरेका छन् ।

अस्पतालको उत्तरतर्फको १६ कठ्ठा जग्गालाई खाली गरी पर्खाल लगाउने भन्दै अस्पतालले व्यवसायीलाई पत्र काटेपछि व्यवसायीले ठोस परियोजना नबनाइ हतारमा व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

स्थानीय व्यवसायी राजु न्यौपानेले त्यहाँ रहेका ३५ वटा व्यवसायिक प्रतिष्ठानले ५० रुपैयाँ प्रति स्क्वायर फुटका दरले अस्पताललाई जग्गा भाडावापत मासिक करिब १३ लाख रुपैयाँ बुझाउँदै आएकोमा अस्पतालले कुनै परियोजना स्वीकृत नगरी जग्गा खाली गर्नु न्यायोचित नभएको बताए ।

अस्पतालले पारदर्शी ढंगले कुनै परियोजनाको निर्णय गरेमा जग्गा खाली गर्न तयार रहेको अर्का व्यवसायी दीपेन्द्र पराजुली बताउँछन् । ‘अस्पतालले के बनाउने भन्ने आधिकारिक निर्णय नगरी हतारमा व्यवसायीलाई विस्थापित गर्नु उपयुक्त भएन’-पराजुलीले भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले व्यवसायिक सटरहरु रहेको क्षेत्रमा ट्रमा सेन्टर बनाउने छलफल भए अनुसार जग्गा खाली गर्न पत्र काटिएको जानकारी दिए । ‘ट्रमा सेन्टर बनाउने निर्णय चांही भएको छैन । तर, छलफल भएकाले साविकको निर्णय वमोजिम जग्गा खाली गराउन पत्र काटिएको हो,’ डा.खनालले भने, ‘अस्पताल विकास समितिको २०७४ भदौ ७ गतेको निर्णय अनुसार जग्ाा खाली गराउन पत्र काटिएको हो ।’

व्यवसायीले ट्रमा सेन्टरमा बन्ने व्यवसायिक सटरहरु भाडामा लगाउंदा पहिल्यैदेखि व्यवसाय संचालन गरिरहेका पुराना व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

अस्पतालले भने बक्यौता रकम समेत बुझाई जग्गा खाली नगरे कानुन वमोजिम कारवाही गर्ने पत्रमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment