Comments Add Comment

तीन कम्युनिष्टवीच कार्यगत एकता गर्ने सहमति

विप्लव समूहले पत्र काटेपछि मसाल बिच्कियो

७ असार, काठमाडौं । वाम ध्रुवीकरणको अभियान चलिरहेका बेला विभिन्न समूहमा छरिएर रहेका तीनवटा कम्युनिस्ट पार्टीवीच कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको छ ।

कार्यगत एकताका लागि सहमत भएका दलहरुमा मोहानविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) रहेका छन् ।

मसालका नेता मोहनविक्रम सिंहले बुधबार माओवादी नेता मोहन वैद्यसँग एकताबारे छलफल गरेको मसालका प्रवक्ता रामप्रकाश पुरीले अनलाइनखबरलाई बताए । दुई नेतावीचको छलफलमा राष्ट्रियता लगायतका विषयमा तत्काल कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको पुरीले बताए ।

त्यसैगरी बुधबार नै नेकपा मालेका नेताहरुसँग पनि दुई पक्षीय कुराकानी भएको र कार्यगत एकता गरेर अघि बढ्ने सहमित भएको पुरीले विज्ञप्तिमार्फत जनाएका छन् ।

मालेसँगको छलफलमा भने शीर्ष नेता सीपी मैनाली र मोहनविक्रम सिंह सहभागी थिएनन् । छलफलमा मालेका तर्फबाट डम्बर श्रेष्ठलगायतको सहभागिता थियो ।

पार्टी एकतामा ‘माओ’ वाधक

विगतमा पनि मसाल र क्रान्तिकारी माओवादीवीच पार्टी एकताकै लागिसमेत विगतमा छलफल भएको थियो । तर, वैद्यसमूहले माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ भने मसालले माओवादलाई अस्वीकार गर्दै ‘माओ विचारधारा’ मान्दै आएको छ । त्यसैले तत्काल कार्यगत एकता गरेर अघि बढ्ने र पछि पार्टी एकताको छलफल गर्दै जाने नेताहरुले बताएका छन् ।

तत्कालीन एमालेबाट अलग भई नेकपा माले पार्टी बनाएका सीपी मैनाली भने माओवाद मात्रै नभई माओ विचारधारासमेत मान्दैनन् । उनी मार्क्सवाद र लेनिनवादमात्रै मान्छन् । त्यसैले उनीसँग तत्काल पार्टी एकता सम्भव नरहे पनि राष्ट्रियता र जनजिविकाका सवालमा कार्यगत एकता गर्न सकिने मसालका एक नेताले अनलाइनखबरलाई बताए ।

विप्लवले पत्र काटेपछि मसाल बिच्कियो

स्रोतका अनुसार यसअघि नेकपा मसालले विप्लव समूहसँग पनि कार्यगत एकताका लागि छलफल चलाएको थियो । वैद्य समूह र विप्लव समूहवीच पार्टी एकताकै विषयमा छलफल चलिरहेको सन्दर्भमा मसालले पनि विप्लव समूहसित कार्यगत एकताका लागि सहमति जनाएको थियो ।

तर, विप्लव समूहले बाग्लुङ र प्युठान लगायतका जिल्लामा मसाल समर्थक राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुलाई राजीनामाको धम्कीसहित पत्र पठाएपछि मसाल बिच्किएको छ । मसालका एक नेताले अनलाइनखबरसँग भने- ‘हामी विप्लवजीहरुसँग पनि छलफलमै थियौं । तर, उहाँहरुले हाम्रा जनप्रतिनिधिलाई पत्र काटेपछि हाललाई उहाँहरुसँगको छलफल स्थगित गरिएको छ । यद्यपि, उहाँहरुसँग पनि छलफलको ढोका खुल्लै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment