Comments Add Comment

चीनसँग विद्युतीय कार्गो रेलसहित १० सम्झौता

७ असार, बेइजिङ । नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । थप चार विषयमा ‘लेटर अफ एक्सचेञ्ज’ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपुल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।

रेलमार्ग निर्माणमा सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उपविदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् ।

चीनमा रेललाई एक्सप्रेस र कार्गो वर्गीकरण गरिएको छ । कार्गो रेलमा सामान पनि ढुवानी गर्न मिल्छ । तर, यसको गति डेढ सयदेखि २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।

के के भए सम्झौता ?

नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका छन् ।

नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ । ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र ऊर्जा प्रशासनका प्रशासक नुर बाइकेलीले सम्झौतामा हस्ताक्षर गरे ।

दुई देशबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलगअलग सम्झौता भएको छ ।

नुवाकोट दरबार पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदान गर्ने समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment