Comments Add Comment

इरानका अन्तिम राजासँग देउवाको तुलना

'रेडिमेड' भेला अर्थहीन भन्दै प्रकाशमानसहितका नेताहरुबाट बहिस्कार

शेरबहादुर देउवा । फाइल तस्वीर

७ असार, हेटौडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि भेलालाई निष्कर्ष विहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् ।

मंगलवार हेटौंडामा शुरु भएको जिल्ला सभापति भेला बिहीबार समापन हुँदैछ । पार्टी एकतामा जोड दिन बोलाइएको भेलामा  सभापति देउवाले आफ्ना विरोधीहरुलाई ‘तह लगाउने’ रणनीति उदघाटन सत्रमै उदांगो पारेको आरोप लगाइएको छ । जसका कारणले सभापति भेलाको दोश्रो दिन कांग्रेसका प्रभावशाली दुई नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलाको बहिष्कार गर्दै हेटौंडा छाडे ।

उदघाटन समारोहमा मन्च बहिस्कार गरेका सभापतिका प्रत्याशी तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भेला अवधिभर जिल्ला सभापतिहरुसँगै बसे । उनलाई मन्चमा पटक-पटक बोलाइए पनि गएनन् । आफ्नो आलोचना हुनसक्ने भएकाले देउवाले सिटौला र प्रकाशमानलाई पूर्वमहामन्त्रीको हैसियतमा बोल्नबाटै रोकेको आरोप लागेको छ ।

मञ्चभन्दा तल बसेका कृष्णप्रसाद सिटौला (वायाँ)

दोहोरी साँझको रमझम

विधानतः कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले लिने निर्णय बोक्ने कुनै कमिटी छैन । सभापति भेलाको सुझाव र निष्कर्षलाई केन्द्रीय कार्य समितिले ग्रहण गरेर सोहीअनुसार महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने उद्देश्यले रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षले भेला माग गरेको थियो ।

उसैपनि जिल्ला सभापति पौडेल पक्षका धेरै छन् । त्यसमाथि कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, केबी गुरुङ लगायतका नेता पनि देउवा विरोधी खेमामा एकजुट भएपछि बहुसंख्यक सभापति संस्थापन इतरका छन् । त्यसैले सभापति भेला आफू अनुकुल नहुने भएपछि संस्थापनले सो भेलालाई निष्कर्षविहीन बनाउन खोजेको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले आरोप लगाए ।

पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न नदिई जिल्ला सभापतिहरुको भेलाको बन्दसत्र सुरु गर्ने भनियो ।  उदघाटन सत्रपछि  काठमाडौंबाट मकवानपुर लगिएका लोकदोहारीका कलाकारलाई उदघाटन सत्रपछि नचाएर भेलालाई रिफ्रेसमेन्ट भेलामा परिणत गरिएको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् ।

बन्द सत्रमा बोल्ने क्रममा उदघाटन सत्रमा प्रभावशाली नेताहरुलाई बोल्न नदिइएको तथा बन्दसत्र सुरु गर्नुको साटो दोहोरी गीत र नाचगानको कार्यक्रम राखेर भेलालाई रमाइलोमा परिणत गर्न खोजेको आरोप समेत सभापतिहरुको छ ।

उदघाटन समारोहमा अपमानित गर्न खोजिएको र सभापति भेलालाई औपचारिकतामा सीमित गर्न खोजिएको भन्दै प्रकाशमान सिंह जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ

बन्दसत्रमा बोल्ने सभापतिहरुले पार्टी सभापति देउवाले आफ्नो आलोचना सुन्नेभन्दा पनि आवाज बन्द गरेर अधिनायकवादी बन्न खोजेको आरोप लगाए । सभापति देउवाले आफ्नो आलोचना कम होस् भनेर पार्टीको भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले दोहोरी साँझबाट मकवानपुर लगेका कलाकारहरुको नाचगान देखाएर रिफ्रेसमेन्ट भेला बनाएको टिप्पणी सभापतिहरुले गरेका छन् ।

यसैबीच महामन्त्री शशांक कोइराला निकट केही नेताले सभापति देउवाले नियोजित रुपमा विजय गच्छदारलाई कोइलाभन्दा पछि बोल्न दिएर मानमर्दन गरेको आरोप लगाएका छन् । पार्टीको निर्वाचित महामन्त्रीभन्दा माथि गच्छदारलाई राखेकोमा देउवा समक्ष कोइरालाले पनि असन्तुष्टि जनाइसकेको स्रोतको दावी छ ।

सभापतिहरुले के भने ?

बन्दसत्रमा बोल्नेमध्ये बहुसंख्यक सभापतिले चुनावी हारमा मूल नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । उनीहरुले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग काण्ड, आईजीपी काण्ड लगायत सरकारमा बस्दा गरिएका अलोकप्रिय कामको श्रृंखलाले जनमत कांग्रेसको विपक्षमा गएको बताएका थिए ।

देउवाको पक्षमा कन्चनपुरका हरिप्रसाद बोहोरा, दोलखाका रुद्रबहादुर खड्का, बाजुराका कविराज पण्डित र पर्वतका खिमानन्द भुसालले बोलेका थिए । उनीहरुले एउटा व्यक्तिले मात्र पराजयको जिम्मा लिनुपर्छ भन्ने तर्क सही नभएको बताएका थिए ।

जिल्ला सभापतिहरुले टिकट वितरणमा आफूहरुलाई निरीह बनाइएको गुनासो गरेका थिए । कालीकोटका सभापति हर्ष बमले इरानका राजा मोहम्मद रेजा पलवीको उदाहरण दिँदै पार्टी सभापति  देउवालाई पनि उनीसँगै तुलना गरेका थिए ।

दोस्रो विश्वयुद्धपछि इरानको शासन सत्ता हात पारेका रेजा पलवी तानाशाह बनेर निस्किएका थिए । उनी आफैं र उनको परिवारका साथै उच्च घरानियाहरु ठूला-ठूला भ्रष्टाचारमा मुछिएका थिए । उनले इरानको कम्युनिस्ट पार्टी (तुदेह)माथि प्रतिवन्ध लगाएका थिए । उनका यस्तै अनेकौं हर्कतका कारण इरानमा राजतन्त्र अन्त भएको थियो ।

देउवाकै कारण कांग्रेस समाप्त हुन लागेको सांकेतिक विम्ब कालीकोटका सभापति हर्ष बमले प्रयोग गरेका हुन् ।

बर्दियाका सभापति सञ्जय गौतमले केन्द्रीय सभापतिमा रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने पदाधिकारीहरूलाई बारम्बार पीडा दिने काम भएको गुनासो गरेका थिए । खोटाङका नरेशकुमार श्रेष्ठले सभापति देउवाले नातागोतालाई मात्र च्यापेको आरोप लगाए ।

पाल्पाका सभापति वीरबहादुर रानाले हारेको सभापतिलाई विश्वासमा लिएर टिकट वितरण गर्नु भनेपछि निर्वाचित सभापतिको अधिकार बाँकी नरहेको बताए । तेह्रथुमका सभापति गोविन्द ढुंगानाले व्यापारीलाई निर्वाचन अभियानमा लगाएर पार्टीले उल्टै सम्बन्धित क्षेत्रका मानिसलाई पार्टीले टाढा पारेको बताएका थिए ।

ककसले छाडे हेटौंडा ?

जिल्ला सभापतिहरुको भेला उदघाटन सत्रदेखि नै अस्वाभाविक भएको र केही नेताको मानमर्दन गर्न खोजिएको भन्दै कतिपय केन्द्रीय सदस्य पनि भेलामा नबसी हेटौंडाबाट फर्किएका थिए । चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराई, हृदयराम थानी, वीरबहादुर बलायर लगायत प्रकाशमान र अर्जुन नरसिंह केसी जस्तै गरी फर्किए ।

उदघाटन समारोहमा अपमानित गर्न खोजिएको र सभापति भेलालाई औपचारिकतामा सीमित गर्न खोजिएको भन्दै प्रकाशमान जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ । ‘सबै कुरा रेडिमेड छ, त्यहाँ बसेर केही उपलव्धी नहुने भएपछि जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किनुभयो,’ सिंह निकट एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment