Comments Add Comment

मानवतस्करीको आरोपपछि मलेसियामा बंगलादेशी कामदार लैजान बन्द

८ असार, काठमाडौं । मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजान बन्द गरेको छ । मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियामा बंगलादेशी कामदार ल्याउने प्रक्रिया तत्काललाई बन्द गरिएको बताए ।

‘बंगलादेशको सिन्डिकेटले श्रमिकहरुको शोषण गर्दै मानवतस्करी गरिरहेको आरोपको पूर्ण छानबिन नभएसम्म यो प्रक्रिया बन्द हुने छ’ द स्टारसँग कुराकानी गर्दै उनले भनेका छन् ।

कुलासेगरनले नजीव सरकारले कामदार भर्ना गर्ने प्रक्रियालाई केही मानिसहरुलाई मात्रै फाइदा हुने व्यापार जस्तै गरी सञ्चालन गरेको आरोप समेत लगाएका छन् ।

‘पुरै प्रणाली नै अस्तव्यस्त थियो जसमा कामदारहरुले बंगलादेश र मलेसियाका बिचौलियाहरुलाई चर्को पैसा तिर्नुपथ्र्यो,’ उनले भने, ‘कामदार पठाउने प्रक्रियाको सिन्डिकेटमा संलग्न १० कम्पनीलाई पनि निलम्बन गरिएको छ ।’

यस समस्याको मलेसिया सरकारले विस्तृत रुपमा छानबिन गर्ने र समाधानको लागि उपाय खोज्ने पनि उनले बताएका छन् ।

एकै कामदारसँग २० हजार रिंगेटसम्म असुल्थे

हालसालै बंगलादेशी मानवतस्करहरुको एक सिन्डिकेटले रोजगारीको लागि मलेसिया जाने कामदारहरुसँग चर्को शुल्क असुल्ने गरेको र उनीहरुलाई बंगलादेशी राजनितिज्ञहरुको संरक्षण रहेको खुलासा भएको थियो ।

रिपोर्टहरुका अनुसार सिन्डिकेटले एक कामदारसँग बीस हजार मलेसियन रिंगेटसम्म लिने गरेको थियो र यसरी चर्को शुल्कमा उनीहरुले एक लाख भन्दा धेरै कामदारहरुलाई मलेसिया पठाएको खुलेको थियो ।

मलेसिया र बंगलादेश दुवैतिर राजनीतिक पहुँचको आधारमा सिन्डिकेट चलाएका व्यापारीहरुले सन् २०१६ मा जम्मा १० कम्पनीले मात्रै बंगलादेशबाट मलेसिया कामदार आपूर्ति गर्न पाउने सम्झौता गराउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment