Comments Add Comment

हेटौंडा भेलाः रामचन्द्र पौडेलले फेरि चिसै पानीले नुहाए

८ असार, काठमाडौं । २१ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ । तर, लगातार दुई दिन आरोप प्रत्यारोप गर्दै छलफल गरिएको चुनावी हारको समिक्षा र आगामी कार्यदिशाबारे केही उल्लेख छैन् ।

हेडौंडा घोषणापत्रको दोस्रो बुँदामा ‘विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरुको सामना गर्न एकतावद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गर्दछ‘ मात्र भनिएको छ ।

जब कि धेरै छलफल चुनावी समीक्षामा गएको छ । जिल्ला सभापतिहरुले संविधान जारी भएपछि प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारीदेखि आईजीपी प्रकरण, महाअभियोग प्रकरण, टिकट वितरणमा आर्थिक चलखेल सबै उठाएका थिए ।

फरक यत्ति हो कि कसैले चुनावी हारको कारण शेरबहादुर भने त कसैलेे अन्तरघात भने होलान् । तर, भेलाको निष्कर्षका रुपमा जारी गरिएको २१ बुँदामा यसबारे केही उल्लेख गरिएको छैन ।

जब कि रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतको समूहले यो भेलाबाट ‘चुनावी हारको मुख्य जिम्मेवार पार्टी सभापति देउवा नै हुन्’ भन्ने स्थापित गर्न चाहेका थिए ।

असंगठित पौडेल, संगठित देउवा

केन्द्रीय समितिमा चुनावको समीक्षा गर्दा आफूले चाहे अनुसार नेतृत्वलाई जिम्मेवार बनाउन नसकेपछि पौडेल समूहले जिल्ला सभापतिहरुको भेला मागेका थिए ।

जिल्ला सभापतिहरुको भेला बोलाउन माग गर्दै रामचन्द्र पौडेल समूहलाई लागेको थियो, आफ्नो अभूतपूर्व पकड छ, अधिकार कटौतीलाई लिएर उनीहरु नेतृत्वसँग रिसाएका पनि छन् । त्यसैले यो फोरम देउवाविरुद्ध प्रयोग गर्नुपर्छ ।

त्यसैले देउवाले सुरुमा जिल्ला सभापतिहरुको भेला बोलाउन चाहेका थिएनन् । तर, जब भेला बोलाइयो, फेरि पनि रणनीतिक रुपमा देउवाकै जीत भएको छ ।

नेताहरुका अनुसार आफ्नो मागअनुसार बोलाइएको जिल्ला सभापतिहरुको भेलामा कसरी प्रस्तुत हुने, निष्कर्षका रुपमा लिखित के पास गराउने भन्ने कुनै गृहकार्य नै भएन । हेटौंडा जानुअघि पौडेलले एक पटक ८/१० सभापतिसँग परामर्श मात्र गरेका थिए । त्यसबाहेक कुनै गम्भीर परामर्श नै भएको थिएन ।

उद्घाटन समारोहमा बोल्नसम्म नदिएपछि प्रकाशमान सिंह र अर्जुनरसिंह केसी काठमाडौं फर्किए । कृष्ण सिटौलाले पनि भेला सक्नु अघि नै हेडौंडा छाडे । जब कि देउवा पक्षका सिंगो टिम नै पण्डालसहित बसेका थिए । उनीहरु योजनाबद्ध थिए ।

‘जिल्ला सभापतिहरुबाट स्वस्फूर्त नेतृत्वको चर्को आलोचना भएकै हो तर, संस्थागत गर्न सकेननन् र लिखितमा पनि आएन’ त्यसको कारण केलाउँदै एक नेता भन्छन्, ‘पौडेल समूह निकै असंगठित देखियो । देउवा समूह संगठित रहृयो ।’
उनका अनुसार पौडेल समूहका प्रभावशाली नेताहरु आन्तरिक असन्तुष्टिका कारण तितरवितरण हुँदा देउवा समूहका नेताहरुका नेताहरु पण्डालसहित बसेका थिए ।

उनीहरुले सुरुमा सबै जिल्ला सभापतिलाई बोल्न दिनुको साटो समूहगत छलफल गराउने प्रयास गरे । त्यो असफल भएपछि बोल्न दिने तर, लिखित निर्णय गर्ने बेला आफ्नो हात माथि पार्न चाहे । जसमा सफल पनि भएका छन् ।

जुन कुरा चुनावी हारको समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमितिमा पनि भएको थियो । जिल्ला सभापतिहरुको भेलामा भन्दा चार गुणा बढी नै नेतृत्वको आलोचना भएको थियो । तर, बैठक समापन गर्दैगर्दा नोट अफ डिसेन्ट लेख्ने युवा नेताहरुको तयारीलाई समेत देउवाले डिफ्यूज गर्न सफल भए ।

पौडेलले अर्को मौका गुमाए

हिजो आफूबाट छुटि्टएर गएका कृष्ण सिटौला, अर्जुनरसिंह केसीदेखि प्रकाशमानसम्म शेरबहादुरविरुद्ध लडिसके । उनीहरु जे पर्ला पर्ला, यो पटक ‘देउवालाई देआइदिने’ भन्नेमा पुगेका छन् । त्यसैले उनीहरुले बोले पनि नबोले पनि परिस्थितिले देउवा विरोधी समूहमा रहेका सबैको नेता रामचन्द्र पौडेल नै थिए ।

अहिले म नेता बन्छु भन्नुभन्दा ‘देउवालाई देखाइदिने’ भन्ने नेताहरुलाई म्यानेज मात्र गरे पुग्छ । अनि एक डेढ वर्षमा पार्टीको महाधिवेशनमा नेताहरुले एकअर्कालाई स्वीकार गर्न नसक्ने अवस्थामा उनै सर्वस्वीकार्य बन्न सक्थे ।

तर, पौडेल नेताहरुको म्यानेजमा नै चुकेका छन् । जसका कारण हेटौंडा भेलाबाट देउवाले पार्टीमा आफ्नो अवस्था थप अनुकुल बनाए, पौडेलका थप साथीहरु रिसाए । एक नेता भन्छन्, केन्द्रीय कमिटीमा चुकेको जस्तै रामचन्द्र पौडेल फेरि एकपटक चुके । भेलामा जति गाली खाए पनि लिखितममा आफ्नो पक्षमा बनाउन सफल भए ।’

पौडेल निकट मानिएका काभ्रे सभापति मधु आचार्य भने सँधै विवाद गरेर बस्नुको अर्थ नभएको बताउँछन् । भित्र चर्को बहस भए पनि जनतामाझ एकतावद्ध भएर जाने सन्देश जिल्ला सभापतिहरुको भेलाले दिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment