Comments Add Comment

आइसल्याण्ड भर्सेस नाइजेरिया : अर्जेन्टिनालाई मिल्ला फाइदा ?


८ असार, काठमाडौं । शुक्रबार बेलुका पौने ९ बजे समूह डी का दुई टिम आइसल्याण्ड र नाइजेरियाबीच खेल हुँदैछ ।

पहिलो खेलमा अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड र क्रोएसियासँग २-० ले हारेको नाइजेरियाबीचको खेलले समूह ‘डी’ मा धेरै कुराको टुंगो लाग्नेछ । क्रोएसियासँग ३-० ले हारेको अर्जेन्टिनाको आश पनि यही खेलमा अड्किएको छ ।

पहिलो खेलमा बाहिर रहेका नाइजेरियाका उपकप्तान ओगेनी ओन्जी आइसल्याण्डविरुद्धको खेलमा फर्कदै छन् ।

आइसल्याण्ड टिम भने अर्जेन्टिनासँगको खेलमा घाइते भएका बर्ग गुडमुन्डसनबिना नै खेल्ने छ । उनको स्थानमा रुरिक गिल्सनलाई खेलाइने सम्भावना छ ।

नाइजेरिया रसिया विश्वकपको सबैभन्दा युवा टोली पनि हो । पहिलो खेलमा देखिएको डिफेन्सको कमजोरी सुधार्ने हो भने आइसल्याण्डसँग बलियो रुपमा प्रस्तुत हुन सक्छ ।

अहिलेसम्म नाइजेरिया र आइसल्याण्डबीच एक पटक मात्रै खेल भएको छ । सन् १९८१ मा भएको मैत्रीपूर्ण खेल आइसल्याण्डले ३-० ले जितेको थियो ।

नाइजेरियाले विश्वकपमा खेलेका पछिल्ला १३ खेलमा १ खेल मात्रै जितेको छ । जसमा ३ खेल बराबरी भएको छ भने ९ खेल हारेको छ ।

पहिलोपटक विश्वकप खेलिरहेको आइसल्याण्डको डिफेन्सलाइन निकै बलियो देखिन्छ । दुई वर्षअघि भएको युरोकप फुटबलमा इंग्ल्याण्डलाई हराएर आइसल्याण्डले क्वाटरफाइनल पुग्दै सबैलाई चकित पारेको थियो । त्यो प्रमुख प्रतियोगितामा पाएको आइसल्याण्डको ठूलो उपलब्धी थियो । अहिले विश्वकपको पहिलो खेलमा अर्जेन्टिनालाई रोकेर आइसल्याण्डले सम्भावना देखाएको छ ।

पहिलोपटक विश्वकप खेलेकाले पनि आइसल्याण्डका लागि विश्वकपमा कुनै दबाब छैन । उनीहरुको मनोबल निकै उच्च छ । एकजुट भएर खेल्ने शैलीले उनीहरुले राम्रा भनिएका टिमलाई निराश पार्न सक्छन् । आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश पनि हो जहाँको जनसंख्या ३ लाख ३५ हजार मात्रै छ ।

आइसल्याण्ड टिममा युरोकपमा राम्रो गरेका धेरै खेलाडी अहिले विश्वकपमा पनि छन् । विश्वकप छनोटमा युरोपियन क्षेत्रको समूह ‘आई’ को विजेताको रुपमा विश्वकपमा स्थान बनाएको आइसल्याण्डसँग सबै टिमले चुनौती महसुस गरेका छन् । यसैले पनि नाइजेरियालाई कठिन हुने देखिन्छ ।

नाइजेरिया यसपटक अफ्रिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम हो । नाइजेरियाले सन् १९९४, १९९८, २००२ मा लगातार तीन पटक विश्वकप खेलेको थियो । २००६ मा छनोट हुन नसकेको नाइजेरिया त्यसपछिका तीनवटै विश्वकपमा छनोट भएको छ ।

नाइजेरियाको यो छैठौं विश्वकप सहभागिता हो । दुई पटक समूह चरणबाटै बाहिरिएको नाइजेरिया यसअघि तीन पटक अन्तिम १६ मा पुगेको थियो ।

क्यामरुन, जाम्बिया र अल्जेरिया रहेको विश्वकप छनोटको समूहमा नाइजेरियाले आफ्नो उत्कृष्ट खेल देखाएर विश्वकपमा राम्रो गर्ने सम्भावना प्रस्तुत गरेको थियो । पहिलो खेलमा क्रोयसियासँग पराजित भए पनि नाइजेरियन टिम कमजोर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment