Comments Add Comment

आइसल्याण्ड टिमको भित्री कुराः अट्याक भर्सेस डिफेन्स

'फुटबलमा जे पनि सम्भव छ'

आशा छ, विश्वकपमा रहेका आइसल्याण्डका विपक्षी टिमले यो कुरा नपढुन् । किनभने, आइसल्याण्ड कसरी फुटबलमा सफल भइरहेको छ भन्ने कुरा म यहाँ उल्लेख गर्दैछु ।

पहिले त आइसल्याण्डकै बारेमा थोरै केही भनौँ होला । आजभोलि भेटिने नयाँ मान्छेहरु पनि म आइसल्याण्डबाट आएको थाहा पाएपछि उत्साहित हुँदै ‘ओहो तिमी आइसल्याण्डबाट पो हौं । गजव देश छ’ भनिरहेका हुन्छन् ।

सन् २०१६ को युरोकप पछि आइसल्याण्ड अझै प्रकाशमा आयो । यस्तो लाग्छ छुट्टीको बेला सबै नै आइसल्याण्डको राजधानी रेकजाभिक आउन चाहन्छन् ।

तर म आइसल्याण्डमा छुट्टी मनाउन आउने ठाउँको मान्छे होइन । म उत्तरी आइसल्याण्डको हुँ ।

यदि तपाइँ विश्व मानचित्रमा मेरो ठाउँ खोज्न चाहनुहुन्छ भने यदि खोजे पुग्छ, ‘खतरनाक हिउँको ठाउँ ।’

मेरो घर भएको ठाउँलाई अकुरेरी भनेर चिनिन्छ । जहाँ १८ हजार मानिस बस्छन् । हाम्रो रमाइलो गर्ने माध्यम खेलकुदबाहेक अरु खासै केही हुँदैन । यसैले हो मैले पनि फुटबल खेल्न थालेको । वास्तवमै म व्यावसायिक रुपमा नै खेलाडी बन्ने सपना देख्थेँ । तर, सोचेजस्तो सजिलो थिएन । समस्या निकै थिए ।

पहिले त हामी गर्मीको बेलामा मात्रै फुटबल खेल्थ्यौँ । जाडोको बेलामा त मैदानभरी ….. ढाकिएको हुन्थ्यो । हाहा … मलाई थाहा छ तपाइँले हिउँ र बरफले डाकिएको भनेर सोचिसक्नु भयो ।

म तपाइँहरुकोतिर हुने जस्तो जाडो मौसमको कुरा गरीरहेको छैन । अनि यहाँ इंग्ल्याण्डमा हुने जस्तो केही सेन्टिमिटर हिउँ पर्ने खालको जाडो पनि होइन । म त दिनमा चार घण्टा घाम लाग्ने र माइनस १० डिगि्र सेन्टिग्रेट तापक्रम हुने जाडोको कुरा गरीरहेको छु ।

तपाइँले अंग्रेजी फिल्म सिरिज ‘गेम अफ थ्रोन्स’ हेर्नुभएको छ ? ल ठीक छ । त्यो हेर्नुभएको छ भने मैले के भनिरहेको हो तपाइँले बुझ्नुभयो होला ।

अँ अनि जाडोको बेला हामी हृयाण्डबल भने खेल्थ्यौँ । तर त्यसले मेरो फुटबल खेल्ने चाहना पूरा भने हुँदैन थियो ।

अनि नि जब हिउँ पग्लिएर अलि अलि गर्मी सुरु हुन्थ्यो । घाँसे मैदानमा हामीले फुटबल खेल्न पाउँदैन थियौँ । त्यहाँ खेल्ने सुविधा ठूला खेलाडीलाई मात्रै थियो । यसैले हामी ग्राभेल गरीएको ठाउँमा नै खेल्थ्यौँ ।

एक दिन फुटबल खेलेर म घर फर्किरहेको थिएँ, मेरो गोडा पूरै धसारिएको थियो । त्यो देखेर मेरो आमालाई असाध्यै दुःख भयो । खेलिरहेका बेला मैले बल बडाइरहेका एक साथीलाई ट्याकल गरेको थिएँ । त्यस्तो ग्राभेल भएको ठाउँमा ट्याकल गरेपछि केही नहोस त कसरी ।

मैले पहिलो पटक खेलेको क्लबको नाम थोर हो । मलाई फुटबलर बन्ने असाध्यै मन थियो । म हरेक दिन जिम पनि जान थालेको थिएँ । एउटा फुटबल पागलपनले ममा प्रवेश गरीसकेको थियो । मेरा अघि समस्याहरु धेरै थिए । त्यसको समाधानका लागि म आफैलाई प्रश्न गर्थें । तर जवाफ केही पनि पाउँदिन थिएँ ।

आरोन, अकुरेरीबाट कति जना व्यवसायिक फुटबल बनेका छन् ?

धेरै छैनन् ।

अनि गर्मीको बेला मात्रै ग्राभेल भएको ठाउँमा फुटबल खेलेर त्यो सम्भव छ ?

सायद छैन होला ।

यथार्थमा मैले तथ्य कुराहरुलाई पनि पन्छाएर फुटबलमा एकोहोरो भएको थिएँ । त्यसको केही वर्षमा आइसल्याण्ड फुटबल एशोसियसनले फुटबलका लागि इन्डोर हलहरु बनाएर अप्राकृतिक घाँसे मैदान नै बनायो । त्यसले धेरैको फुटबलर बन्ने सपनामा मलजल भयो । फुटबल खेल्न चाहने हरेकले वर्षभर नै खेलिरहन पाए ।

हाम्रो लागि त्यो निकै ठूलो कुरा थियो । वर्षभर फुटबल खेल्नेे मैदान भयो । आहा ।

म पनि आफ्नो नजिकैको इन्डोर मैदानमा नियमित नै जान्थे । एकअर्थमा त मैले त्यहीँ नै डेरा जमाएको थिएँ । कतिसम्म भने कहिलेकाहीँ त मलाई मैदानका मान्छेहरुले रात भयो घर जाउ नै भन्नु पथ्र्यो ।

यो सबै कुरा त भयो तर मानसिक बाधा भने अझै पनि थियो । कस्तो भने आइसल्याण्डमा फुटबल खेलेर कहिल्यै केही पाइन्छ, केही जितिन्छ भन्ने विश्वास कसैलाई थिएन । राष्ट्रिय टिममा खेलिरहेकाहरुलाई पनि त्यो विश्वास थिएन । युरोपमा गएर व्यवसायिक फुटबल खेल्ने कुरामा पनि धेरैले सक्दैन भन्ने नै थियो ।

मैले आफूलाई त्यस्ता कुराहरुले असर पार्न नै दिइनँ । के चाहीँ लागेको थियो भने मैले आफ्नो खेल सुधार्न आइसल्याण्डभन्दा बाहिर गएर फुटबल खेल्नै पर्छ । यसैले हल्याण्डको क्लब एजेड अल्कमारमा खेल्ने अवसर आएपछि म त्यतै गएँ । त्यो बेला म १७ वर्षको थिएँ । असाध्यै अप्ठ्यारो समय थियो । त्यहाँ फुटबलको स्तर नै छुट्टै थियो । त्यहाँ अभ्यासका बेला पनि मैले राम्रो गर्न सकिनँ ।

त्योभन्दा अप्ठ्यारो के थियो भने, म घरभन्दा टाढा थिएँ । पहिलो दुई महिना त होटलमा बसेर आमालाई फोन गर्दै रुन्थेँ म । आमा मलाई यो सबै गर्न मन छैन भन्दै रोइरहेको हुन्थेँ । म भाग्यमानी छु, त्यस्तो बेला मलाई परिवारले साथ दियो र अघि बढीरहने हौसला पनि दियो ।

त्यो बेलाको मेरो सबै मेहनत र आँसुले मूल्य पायो । किनभने त्यसको १८ महिना पछि आइसल्याण्डको राष्ट्रिय टिमका लागि मलाई बोलाइयो । त्यो बेला हामीले बेलारुससँग मैत्रीपूर्ण खेल खेल्दै थियौँ । म हतार हतार प्लेनमा जानुपर्ने भयो । समयमा नपुगे त्यो सबै खेर जान्थ्यो । त्योबेला मसँग कार थिएन । कतै जानुपर्दा साइकल चढेर जान्थेँ ।

मेरो त्यही समस्या बुझेर एकदिन मेरो आमाले मेरो लागि स्कुटर किनिदिनु भएको थियो । रातो रंगको स्कुटर थियो । त्यो लगभग मोटरसाइकल जस्तो नै देखिन्थ्यो । माल्टा जाने बेला हतार हतार एअरपोर्टसम्म पुग्न पनि त्यही स्कुटरले सघाएको हो, त्यसको लागि धन्यबाद आमा ।

त्यसपछि म उडेँ र आफ्नो सपना पूरा गरेँ । आइसल्याण्डको राष्ट्रिय टिमबाट खेल्ने सपना । असाध्यै खुसी लागेको थियो । म प्लेनमा हल्याण्ड नै फर्किंदै थिएँ । खेल सम्झेर खुसी भइरहेको थिएँ । आफू साच्चैको खेलाडी भएको जस्तो लागिरहेको थियो । प्लेनबाट झरेर स्कुटर पार्क गरेको ठाउँमा गएँ । जहाँबाट मलाई क्लबको होटलमा जानु थियो ।

स्कुटर पार्क गरेको ठाउँमा पुग्छु त चेनमा बेरिएको टायर मात्रै छ । म बेलारुससँग फुटबल खेलिरहँदा यता कसैले मेरो स्कुटर चोरिदिएछ ।

मैले स्कुटर चोरिएको कुरा आमालाई भन्दा उहाँ धेरै नै हाँस्नु भयो । मलाई भने त्यो स्कुटरको सम्झना आइरहेको थियो । असाध्यै चिन्ता लागेको थियो । त्यसले मलाई व्यवहारिक हुन भने सहयोग नै गर्‍यो ।

त्यसको केही वर्षमा सायद सन् २०११ को कुरा हो, डेनमार्कमा हुन लागेको यु-२१ युरोको छनोटका लागि म टिममा थिएँ । त्यो छनोटमा आइसल्याण्ड पहिलोपटक खेल्दै थियो । जब हामी २०१४ को विश्वकप छनोट खेल्दै थियौँ त्यही यु-२१ टिमका धेरै खेलाडी राष्ट्रिय टिममा थिए ।

आइसल्याण्ड भन्नेवित्तिकै फुटबलमा सबैले सहज रुपमा लिन्थे । ‘ए आइसल्याण्ड । त्यहाँ राम्रा खेलाडी छन् र’ भन्ने प्रतिक्रिया आउँथ्यो ।

उनीहरुले यसै भनेका त होइनन्, ३ लाख ३५ हजार मान्छे भएको आइसल्याण्डमा व्यवसायिक रुपमा फुटबलमा लागेको हामी धेरै थिएनौँ । यसैले हामी अलि फरक ढंगले बढीरहेका थियौँ । त्यसपछि आएका हाम्रा प्रशिक्षक लार्स लेजरब्याकले पनि त्यही अनुसार काम सुरु गरेका थिए ।

नयाँ प्रशिक्षक आएपछि धेरै नै कुरा भए । उनी असाध्यै मित्रवत व्यवहार गर्थे । आफूले के गरीरहेको छु भन्ने मजाले बुझाएर उनी काम गर्थे । सन् २०११ मा आएका उनले धेरै नै काम गरे ।

उनले सुरुमा त खेलमा डिफेन्सका बारेमा मात्रै धेरै नै बताए । त्यो बेला असाध्यै अल्छी लाग्दो हुन पुग्थ्यो । त्यसपछि उनले विस्तारै पोजिसन, कर्नर, थ्रोइन … सबैबारे विस्तारै सिकाउँदै गए । त्यो सबै कुरा सुन्दा अल्छी नै लाग्ने हुन्थ्यो ।

हामीले अभ्यासमा आफूहरु खेल्दा पनि अट्याक भर्सेस डिफेन्स बनाएर दुई शैलीमा खेल्न थाल्यौँ । त्यसले हामीले डिफेन्सका बारेमा त धेरै नै बुझ्यौँ । जस्तो टिमलाई रोक्न सकिन्छ भन्ने आत्मविश्वास आयो ।

सन् २०१४ को विश्वकप छनोटमा हामी प्लेअफसम्म पुगेका थियौँ । जहाँ क्रोयसियासँग भेट भयो । घरेलु मैदानमा हामीले क्रोयसियासँग गोलरहित बराबरी खेल्यौँ । त्यही बेला नै हामी विश्वकपमा पुग्छौँ भन्ने विश्वासमा थियौँ । तर दोस्रो लेगमा हामी २-० ले पराजित भयौँ ।

त्यसपछि हामी ध्यान युरोकपका लागि भयो । झनै धेरै मेहनत गर्न थाल्यौँ । हामीले हार्‍यौँ भनेर मात्रै होइन । हामीले नराम्रो खेल्यौँ भन्ने सोचेर थप मेहनत गरीरहेका थियौँ ।

सन् २०१६ को युरोकप छनोटमा त हामी राम्रो हुँदै गयौँ । प्रशिक्षक र खेलाडीको मेहनतसँगै समर्थकहरुको साथ पनि ठूलो थियो ।
त्यो बेला हामी हल्याण्डसँग खेलिरहेका थियौँ । १-० ले पछाडि परेका थियौँ । घरेलु मैदानमा सबै दर्शक शान्त भए । धेरैबेरको शान्तीपछि एक्कासी सुरु भयो,

बुम…. बुम….हु ।

म यसो दर्शकतिर हेरेँ । केको आवाज हो यो ? बिजुली चम्किएजस्तो आवाज थियो ।

बुम…. बुम….हु ।

त्यहीबेला हो आइसल्याण्ड समर्थकले पहिलो पटक अहिले चर्चित बनेको भिकिङ क्ल्याप गरेको । हामी १० हजार दर्शकको अघि खेलिरहेका थियौँ । तर जब उनीहरुले हात टाउको माथि लगेर बजाउँदै बुम…. बुम….हु गरे एक लाख दर्शक भएको जस्तै हुन्छ ।

युरोकपमा स्थान बनाउन छनोटको अन्तिम खेलमा हामीले कजाकस्थानसँगको अंक निकाल्नुपर्ने भयो । हामीले गोलरहित बराबरी खेल्यौँ र युरोकपमा स्थान बनायौँ । दर्शकहरु उत्साहले हुटिङ गर्न थाले हामी युरोकप खेल्ने सबैभन्दा सानो देश बन्ने भयौँ ।

त्यही बेला हामीलाई देशलाई गर्व हुने काम गरेको खुसी मिलिरहेको थियो । हामी सबै हषिर्त र उत्साहित थियौँ ।

युरोकपमा पुगेपछि पनि धेरैले सोचेको कुरा हो, आइसल्याण्डले लज्जास्पद हार नव्यहोरे हुन्थ्यो ।

युरोकप सुरु हुनु केही दिनअघि हाम्रो टिमका साथी इडर गुडजोनसेनले मलाई भनेका थिए, आरोन … म आफ्नै टिमविरुद्ध खेल्न चाहन्न ।

उनले के भनेका हुन् मैले बुझिनँ ।

उनले भने, ‘मलाई बल पास गर्दै अगाडि बढेर अट्याकिङ खेल्न मन छ । पास गर्दै गोलको अवसरहरु बनाउन मन छ । तर म त्यस्तो गर्न सक्दिन होला ।’

उनको कुरा सुनेपछि म शान्त भएँ । उनी असाध्यै राम्रा खेलाडी हुन् । आइसल्याण्डबाहेक अन्तैको फुटबल परिवारमा हुर्किएका भए उनी रोनाल्डिन्हो र मेस्सीसँग खेलिरहेका हुने थिए । उनले डिफेन्स लाइन कस्तो छ भन्ने कुरा राम्ररी बुझेका हुन्छन् ।

युरोकपमा पहिलो खेल हामीले पोर्चुगलसँग खेल्नु थियो । सबैले क्रिष्टियानो रोनाल्डोको बारेमा कुरा गरिरहेका थिए । रोनाल्डोले कति गोल हान्लान् ? दुई गोल ? हृयाट्रिक ? कति ?

जब खेल हामीले १-१ को बराबरी खेल्यौँ । पक्कै पनि पोर्चुगिजहरु खुसी थिएनन् । हामी भने खुसी मनाइरहेका थियौँ । त्यसपछि मैले सुनेँ, रोनाल्डोले सानो देश, कमजोर देश भन्ने सोचेर खेले ।

त्यसपछि युरोकपमा हामीले के गर्‍यौँ त्यो त सबैलाई थाहा नै छ ।

हामी अस्ट्रियालाई हराएर नकआउट चरणमा पुग्दा आइसल्याण्ड टीभीमा गरीएको कमेन्ट्री भाइरल नै भयो । कमेनटेटर खुसीले कराएका थिए, उनी रोएर उनको आवाज बन्द भएको थियो । आइसल्याण्डमा सबै जनाले नै त्यही अनुभव गरीरहेका थिए ।

हामीले राउण्ड अफ १६ मा इंग्ल्याण्डलाई हरायौँ । आइसल्याण्डमा हरेक व्यक्ति पि्रमियर लिग हेर्छन् । उनीहरुको फुर्सदको धेरै समय नै टीभीमा पि्रमियर लिग हेरेर बित्छ । यसैले हामीले आˆनै स्टारहरुलाई हराउँदा असाध्यै खुसी मिलेको थियो ।

इंग्ल्याण्डलाई हराएर हामीलाई खुसी मिले पनि उनीहरुको हारको पीडा देख्दा केही दुःख पनि लागेको थियो । उनीहरु एकदमै प्रेसरमा थिए । सामान्य गल्ती गरीरहेका थिए । इंग्ल्याण्डले नराम्रो खेलेको भन्दै धेरैले कुरा गरे । तर, फेरि एकपटक खेल हेर्नुस् हामीले कति राम्रो खेलेका थियौँ । उनीहरुले नराम्रो खेलेर होइन, हामीले राम्रो गरेर हराएका थियौँ ।

इंग्लयाण्डलाई हराएपछि म सिधै हाम्रो समर्थक भएको ठाउँमा गएँ । मैले इंग्ल्याण्डका खेलाडीहरुसँग हात मिलाउन पनि बिर्सेछु । त्यसका लागि अहिले पनि माफी माग्छु । त्यो बेला अपमान गर्न खोजेको होइन ।

हामी युरोपछि आइसल्याण्ड र्फकंदा पनि हरेक मानिसको अनुहारमा देखिएको खुसी निकै राम्रो थियो । त्यहाँ हामीले समर्थकसँगै खुसी साट्यौँ ।

युरोकप पछि हाम्रा प्रशिक्षक लार्सले नर्वेको टिम सम्हाल्न गए । हामीलाई हेमिर हलगि्रमसनले प्रशिक्षण दिन थाले । उनले भनेका थिए, हामी कहिल्यै विश्वकपमा पुगेका छैनौँ । यसपटक त्यो पनि गरौँ न त । मेहनत गरौँ ।

हामीलाई लागेको थियो । हामी विश्वकपसम्म पुग्न सक्दैनौँ होला । असाध्यै कठीन छ । आफूहरुलाई थप तनावमा किन पार्नु र । नसोचौँ होला । कसैले पनि त हामी विश्वकपमा छनोट हुन्छौँ भन्ने सोचकै थिएनन् ।

हामीले युरोकपमा जे गर्‍यौँ त्यसले विश्वकपको सपना देख्न थप सहयोग गर्‍यो । मेहनत गर्ने हौसला दियो । आखिर विश्वकपमा पनि आइछाड्यौँ ।

हामी केही खेलाडी अब खेल जीवनको अन्त्यतिर छौँ । कति जना ३० वर्षको हाराहारीमा पुगिसक्यौँ । हामीले युवा खेलाडीलाई अवसर दिनुपर्छ भन्ने बुझिसकेका छौँ । यसैले हामी जे कुराले सफल भइरहेका छौँ त्यही कुरा पछिल्लो पुस्तामा पनि जाओस् भन्ने चाहन्छौँ । यसैले त हामी रसियामा बार्सिलोनाले जस्तो खेल्न चाहन्छौँ ।

त्यही मात्र सोच्यौँ र कोही अरु जस्तो हुन खोज्यौँ भने हामी नराम्रो टिम हुन पुग्छौँ । फुटबलमा हाम्रो आˆनै तरिका छ नयाँ कुरा सिक्दै त्यसलाई नै अगाडि बढाइरहनु पर्छ । यसैले हामी टेक्निकल रुपमा राम्रो नहौँला, अरुको जस्तो फुटबल नहोला तर के हामीविरुद्ध कसैले सहज रुपमा खेल्ने सोच्ला ? अहँ त्यस्तो लाग्दैन ।

हामी एकजुट भएर खेल्छौँ । बलियो बनेर खेल्छौ । केही कुरासँग डराउँदैनौँ ।

अनि म नयाँ पुस्तालाई पनि त्यही कुरा सिकाउन चाहन्छु । एकजुट भएर, सबैले एउटै कुरा सोचेर खेल्ने हो भने फुटबलमा जे पनि सम्भव छ ।

(अहिले रसिया विश्वकपमा आइसल्याण्ड टिमको कप्तानी गरीरहेका आरोन गुनार्सन इंग्लिस क्लब कार्डिफ सिटीका खेलाडी हुन् । उनले आइसल्याण्ड फुटबल, युरोकप र विश्वकपमा रहेर लेखेको यो लेख प्लेयर्स ट्रिब्युनको खेलको भावानुवाद हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment