Comments Add Comment

‘सूचना माग्दा जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिए’

८ असार, सप्तरी । नेकपा सप्तरीका नेताहरुले जनप्रतिनिधिहरुले गरिरहेको कामको सूचना माग्दा ज्यान मार्ने धम्की आएको बताएका छन् । नेकपाका जिल्लास्तरीय शीर्ष नेताहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस्तो गुनासो गरेका हुन् ।
धेरै ठाउँका जनप्रतिनिधिहरुले गरेको काम अपारदर्शी र जनभावना विपरित भएको उनीहरुको दाबी छ । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजिव झासहित गाउँपालिकाको वडा नम्बर १, ४ र ५ का अध्यक्षले कामबारे सूचना दिन नचाहेको बताए ।
उनीहरुले मिलोमतोमा काम गरेको र कुनै सूचना दिन नचाहेको बताए । सूचना माग्दा उल्टै ज्यान मार्ने धम्की दिइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सुनाए ।
अग्निसाइर कृष्णासवरणसँगै महदेवा राजगढ गाउँपालिका सहित अधिकांश स्थानीय तहमा सञ्चालित विकास योजनामा जनप्रतिनिधिहरुले मनमानी गरिरहेको बताउँदै नेकपाका नेताहरु मनमानी नरोकिए आन्दोलन गर्नेसम्मको चेतावनी दिए ।
प्रदेश २ का प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलको नेतृत्वमा पूर्वमन्त्री उमेश यादव, प्रदेश सांसद गोबिन्द न्यौपानेसहितका दुई दर्जन नेकपाका नेताहरु शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर गुनासो गरेका हुन् ।
आन्दोलन गर्न आफूहरुले संघर्ष समिति बनाइसकेको भन्दै उनीहरुले एक साताको समय दिएका छन् नभए वाध्य भएर कार्यालयमा तालाबन्दी लगाउनेसम्मका आन्दोलन अगाडि बढाउने जिल्लास्तरीय नेकपाका नेता बेचन चौधरीले चेतावनी दिए । चौधरीले संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरिएको व्यहोरा उल्लेख गर्रिको ज्ञापन पत्र समेत प्रमुख जिल्ला अधिकारीलाई बुझाए ।
ज्ञापन बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विकास निर्माणका काममा भइरहेका गतिविधिबारे माथिल्ला निकायमा जानकारी गराउने प्रतिबद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment