Comments Add Comment

भरतपुर अस्पतालको ‘सी’ ब्लक निर्माणमा ठेकेदारको लापरवाही

सम्झौताको १३ महिनामा मात्रै ७ प्रतिशत प्रगति

भरतपुर अस्पतालको नयाँ बन्न लागेकाे भवन स्केच

९ असार, चितवन । भरतपुर अस्पतालको महत्त्वकांक्षी भवनका रुपमा रहेको सी ब्लक निर्माणमा ठेकेदारले लापरवाही गरेका छन् ।  सम्झौताको १३ महिना पुगिसक्दा जम्मा काम भने ७ प्रतिशत मात्रै पूरा भएको छ ।

अस्पतालको डायगोनेष्ट्रिक भवनका रुपमा रहेको सी ब्लकको निर्माणको जिम्मा आशिष श्यामसुन्दर प्रतिष्ठा जेभीले लिएको छ । ३० महिनाभित्र भवन निर्माण गरिसक्ने गरी गत वर्ष जेठ २८ गते सम्झौता भएको थियो ।

निर्माणको कार्य ढिला भयो भनेर ६ पटकसम्म ठेकेदारलाई पत्र लेखेर ध्यानाकर्षण गराएको अस्पतालका लेखा अधिकृत हरिहर शर्मा तिवारीले अनलाइनखबरलाई जानकारी दिए । तर ठेकेदारले टेरेको छैन ।

जेभीका ठेकेदार धुव्र रिजाल हुन् ।

भवनमा अहिले डण्डी र फर्माको काम भैरहेको छ । ३ खण्डमा बाँडेर निर्माण गरिएको भवनको पहिलो खण्डमा ‘लोअर टाई बीम’को काम भैरहेको छ र दोस्रो खण्डमा बल्ल काम सुरु भएको भवन निर्माणमा अस्पतालका तर्फबाट राखिएका इन्जिनियर उपेन्द्र सुवेदीले जानकारी दिए ।

तेस्रो खण्डको खाल्डो खन्ने काम नै सुरु भएको छैन । ‘सी ब्लक भवनको प्रोग्रेस अति कम छ यस्तो तरिकाले समयमा नै भवन निर्माण हुनै सक्दैन,’ इन्जिनियर सुवेदीले भने, ‘अब बाँकी २ बर्षमा भवन पूरा हुन सम्भव छैन ।’

अस्पतालले भवन निर्माणमा ढिलाई गर्ने यिनै ठेकेदारलाई खानेपानीको बोरीङको लागि भन्दै २० लाख रकम समेत दिएको छ ।

अस्पतालले समयमा नै भवन बनाउने साइड क्लियरेन्स नगरेका कारण ढिलाई भएको दावी ठेकेदारले गर्दै आएका छन् । ठेकेदार तर्फका इन्जिनियर सुवास पोखरेलले भवन निर्माण गर्ने स्थानमा खानेपानीका पाइप, बिजुलीका लाइन र खानेपानीको ट्याङ्की भएका कारण निर्माणमा ढिलाई भएको बताए । सुरूमा भवन निर्माणका काम थाल्न दुवै पक्षबाट ढिलाई भएको उनको भनाई छ ।

अस्पतालले सहज वातावरण बनाइदिए तोकिएको मिति भित्र नै काम पूरा गर्न सकिने दावी उनले गरे ।

यति ठूलो भवन निर्माणमा जम्मा १२ जना कामदारले मात्रै दैनिक रुपमा काम गर्दै आएका छन् । ‘म्यानपावर नै छैन, काम कसरी स्पीड अप हुन्छ, भवन निर्माणमा उदासिनता देखिन्छ,’ अस्पताल तर्फका इन्जिनियर सुवेदीले भने ।

ठेकेदारले पहिलो किस्ता स्वरुप १ करोड ६५ लाख रकम माग गरेको छ । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि २ करोड रकम आएको छ ।

अस्पतालमा तीन साता अघि मात्रै मेडिकल सुपरिटेण्डेन्टका रुपमा आएका डा. रविन खड्काले ‘सी’ ब्लक भवन निर्माणमा आफ्नो विषेश चासो रहने बताए । ‘यो भवन निर्माण पूरा हुँदा अस्पतालको स्वरुप नै बदलिने पाएको छु, सेवा प्रवाहसमेत सहज बन्ने छ,’ अस्पतालका मेसु डा. खड्काले भने, ‘के कति कारणले ढिला भैरहेको छ ठेकेदारलाई पटकपटक ताकेता गर्छु । समयमा नै काम सक्ने गरी ठेकेदारले बाँकी काम गर्नुपर्दछ ।’

कुल २४ करोडको लागतमा निर्माण गर्न लागिएको भवनको २० प्रतिशत हुन आउने रकम ४ करोड ८० लाख अस्पताल विकास समितिले र ८० प्रतिशतको १२ करोड २० लाख नेपाल सरकारले व्यहोर्ने छन् । भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओगट्ने छ । भवनको भुइँ तलामा सिटी स्क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोस्कोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् ।

दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छन् । भवनको तेस्रो तलामा डायलासिस् सम्वन्धी काम हुने छ ।

२०७३ असोज ६ गते तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले भवनको टेण्डर नहुँदै शिलान्यास गरेका थिए । भवनको टेण्डर प्रकृया कानुन विपरीत भएको भन्दै अख्तियारमा समेत मुद्दा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment