Comments Add Comment

काठेकोल हराउँदा शुद्ध तोरीको तेल अभाव

९ असार, जाजरकोट । यहाँको कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्।

गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उनको दुखेसो छ । पहिले टोलपिच्छे काठेकोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरे पनि अहिले गाउँबाट काठेकोल हराउँदै गएपछि समस्या परेको उनको भनाइ छ ।

“पहिले टोलटोलमा ओखल र काठेकोल पाइन्थे जताततै शुद्ध तोरीको तेल पाइन्थ्यो तर अहिले यत्रो गाउँपालिकाभरि एक दुईटा मात्र कोल छन्”, उनले भने । कालीबहादुरमात्र होइन, कुसेको मान्यजुरका उज्ज्वल रोकाय पनि गाउँमा आफ्नो घरबाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयवासी मिलतिर तेल पेल्न जाने गरेको बताउँछन् ।

खानका लागि मात्र नभई स्वास्थ्यका लागिसमेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भए पनि स्थानीयवासी सजिलोका लागि मिलमा गएर तेल पेल्ने गरेका छन् । उहाँका अनुसार काठेकोलमा तेल पेल्न झन्झट हुने भएकाले सबैले कोल बिर्संदै गए ।

स्थानीय पहिचान र परम्पराका रूपमा रहेका पुराना काठेकोल, पानी घट्ट र ओखलमा पिसिएका खाद्यान्न निकै स्वस्थकर र ताजा हुने भए पनि सरोकारवाला र युवा पुस्ताको बेवास्ताका कारण हराउँदै गएको छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आगामी वर्षदेखि आफ्नो गाउँपालिकाभित्र परम्परागतरूपमा चल्ने पानीघट्ट, काठेकोल र मुसल सबैलाई जस्ताको तस्तै सञ्चालन हुने गरी योजना बनाउने बताए । गाउँ समाजको पहिचानका रूपमा रहेका ती साधनलाई स्थानीयवासीकै सक्रियतामा संंरक्षण गर्ने अवस्थामा ल्याउन आफूले विशेष पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment