Comments Add Comment

समालोचनाः ‘ऐलानी’ उपन्यासको विश्लेषण

सत्यकथा लेखनले हुन्छ त आख्यानको समृद्धि ?

शंकर लामिछानेले लेख्नुभएको छ कतै, भाषाको काम नै सत्यलाई ढाकछोप गर्नु अनि लुकाउनु हो । सत्यलाई नयाँ आँखाले हेर्ने, देख्ने, महसुस गर्ने लेखकको चलाखीले नयाँ सिर्जना बृक्षका पातमाथिका सित जस्तै चम्किला भएर देखिन्छन्, मोहक बनेर आउछन् । पाठकलाई कलाको स्वाद दिन लेखकले जति राम्ररी चलाखी गर्न सक्दछ उति नै त्यो सिर्जना झन बेसी छोइने, झन बेसी सत्यप्रतित हुने भइ दिन्छ, म्याजिकल रियालिजम भन्छन् पश्चिमतिर । सत्य प्रतित होस भनेर सत्यकथा लेख्यो भने त त्यो साहित्य नहुने कारण पनि यही हो ।

लेखकको चलाखी जान्न सकियो भने मुस्कुराउन पाइन्छ । त्यसरी मुस्कुराउन पार्ने पुस्तकले म सदैब छोइन्छु । बिश्वबिध्यालयको सोध पत्र अनि सत्यकथाले कहिल्यै मुस्कुराउन सक्दिन म । प्रकृतिमा केही राम्रा कुरा छन्, फूल भनौ, जून भनौ, बादल भनौ, झरी भनौ, खोला भनौ, नदी भनौ, हिमाल, पहाड अनि मैदान भनौ वा वतास, वादल भनौ, यीनले भन्ने कथा भनौ । ती राम्रा कुराहरुको नजिक हुँदा मुस्कुराउन पाउछु । प्रकृति धमिलो भएको छ, बिकृत भएको छ अनि मबाट टाढा टाढा भएको छ । मेरो मुस्कुराउनु रोकिएको छ । यहीनेर कलात्मक चलचित्र, कलात्मक पेन्टिङ अनि कलात्मक लेखन मेरो अगाडि आउछन्, मेरो ओठमा मुस्कान भर्न ।

मेरो हातमा पढिसकेको उपन्यास ‘एलानी’ छ । कथाको परिबेश अनि पात्रहरुको जीवन छ दुखै दुखको, कथा छ तितो अनि बिषादको । यी कुरा गन्थन भएर आएको छ । साहायक भएर आएको छ । लेखकलाई त बादी महिलाको मुक्तिको कुरा गर्नू नै छैन, मानौ कि बादी मुक्तिको लागि उनले गगन थापा, नविना लामाहरुलाई लगाएका छन्, नारीबादी अभियन्ताहरुलाई छोडि दिएका छन् अनि आफू भने बादीहरुको दुखको कथामा प्रेम भन्ने बिषयको डिस्कोर्स गर्न लागेका छन् ।

प्रेम भन्ने बिषयमाथि डिस्कोर्स गर्न बादी समूदाएको दुखको कथालाई गन्थनको रुपमा प्रयोग गर्नु नै लेखक बिबेकको चलाखी हो । यस्तो चलाखी नगरेको भए उपन्यास गन्थनमात्र हुने थियो, रोनाधोना अनि आसुको ब्यापार मात्र हुने थियो, यो हुनबाट जोगाउन उनले उपन्यासमा प्रेमको डिस्कोर्स राखिदिए ।

यसरी बिषय बनाउन सकिने मस्तै कुरा थिए । उनले उही बिषय किन लिए ? यो प्रश्न गर्न सकिन्छ । प्रेमको डिस्कोर्स लिन नहुने बिषय हो भन्न सकिने कुरा भने होइन । पागल बस्तिमा सरुभक्तले लिन हुने ऐलानीमा बिबेकले लिन नहुने कसरी हुन्छ र ?सबै लेखक सामाजिक अभियन्ता मात्र भएर गए भने नेपाली साहिल्य कति रुखो होला ? कति निरश होला ? लेखक कुमार नगरकोटीको यस्तो चिन्ता पछिल्लो समय पटक-पटक आइरहेको छ । एउटा फकिर लेखकको त्यस्तो चिन्ता पढ्र म भने फिस्स फिस्स मुस्कुराउछु । तथापी धेरै लेखक सामाजिक यथार्थबादी लेखनकै चक्कर काटिरहेका छन् । यहीनेर प्रश्न जन्मिन्छ के टेप रेकडर गरिएको सत्यकथाले थेग्छ त बि. पी. कोइराला, गोठाले अनि पारिजातहरुको कलासिकल लेखनले उभ्याएको सबृद नेपाली आख्यान । मेरो कुरामाथि तपाई पनि हासी दिनुस् फिस्स, फिस्स । हास्नुमा केही हानी छैन । यो हासोलाई यही छोडौ एलानीतिर लागौ ।

लेखकसँग केही भन्नु हुन्छ, केही लेख्नु अगाडि । तब एउटा लेखक कसरी, कुन परिवेशबाट भन्ने खोजी गर्दछ । बादी समूदाएको कथा ब्यथा त्यसैको लागि आएको छ ऐलानीमा । परिबेस बनेर आएको त्यो आञ्चलिकताको लेखन मिठो छ । जसरी उपेन्द्र सुब्बाको लाटो पहाड मस्तै मीठो छ लिम्बु लवज अनि शैलीको वोलिचालीले । बिबेकको एलानी पनि उसैगरी मस्तै मीठो छ सुदुर पस्चिमको लवजले,परिवेशले ।

नेपाली साहित्यले केही नयाँ शब्द अनि पदावली पाएको छ । यसो हुनुको कराण लेखक बिबेक बादी समूदायको छेउछाउ जन्मनु हुर्कनुले काम गरेको हुनु पर्छ । उही प्रेमको डिस्कोर्स पनि काठमाडौमा कलेज पढ्ने केटाकेटीको कथाको गन्थनलाई लिएको भए प्रेमको अर्कै अनुहार आउथ्यो । तर बिबेक नयाँ अनुहार देखाउन चाहन्थे प्रेमको, काठमाडौमा कलेज पढ्दै गरेका लेखक बिबेकलाई त्यही कुराले हुनु पर्छ आफू हुर्किएको, बढेको ठाउँतिरको कथा गन्थनतिर फर्काएको । नत्र अर्को कुरा पनि हुन सक्छ, त्यो के भने लेख्न न लेख्ने, के लेख्ने ?बादीको बिषय भनेपछि इश्यु जोडिएर आउछ, त्यतिमात्र काहाँ यौन अनि भोक पनि जोडिएर आउछ । नेपाली बजारमा इश्यु भन्नुस वा हल्ला भन्नुस यस्तै केही कुरा बिक्छ । जस्तो राजनितिको बिक्छ । अनि भित्र भित्रै नजानिदो गरी यौन कथा पनि बिक्छ । एउटा लेखकले नबिक्ने कुरामा के काम गर्नु गरी सकेपछि ? काठमाडौबाट बिबेकलाई मुढा पुराउने तत्व यतै, कतै छ जस्तो लाग्छ ।

लेखनमा लेखकले गर्ने चलाखीको कुरालाई अगाडि बढाऔ अब । आख्यानकार अमर न्यौपानेले सेतो धर्तीमा लेखकीय चलाखी गरेका थिए । बाल बिधवाको गन्थन, ब्यथा अनि कहरलाई उनले प्रयोग गरेका थिए ‘जीवन भोग्ने कुरा हो कि समाजको मुल्य मान्यतालाई पछ्याएर कस्ट काटने ?’ प्रश्नको डिस्कोर्समा । जसरी सेतो धर्तीमा वाल बिधुवाको कथा गन्थनको रुपमा आएको हो उसै गरी बिबेक ओझाको पुस्तकमा बादी समूदाएको कथा गन्थनको रुपमा मात्रै आएको छ । सुन्दर कला सिर्जना गर्न यसरी गरिने चलाखीलाई के भन्ने, यो एउटा बहसको बिषय हुन सक्ला ।

तर, यस्तो चलाखी नभई कसरी कलाको सिर्जना होला र ? के बिपि कोइरालाले मोदिआइन उपन्यासमा मोदिआइनजस्तो पीडित पात्रलाई नलिएको भए उपन्यास यति गज्जब बन्दथ्यो र ? उदेश्य त मोदिआइनको कथा भन्नु थिएन कोइरालाको, उनको उदेश्य त श्रीकृण भगवानबाट रचिएको माहाभारतको युद्घ्माथि सारै सामान्य पात्र मार्फत प्रश्न उभ्याउनु थियो । मोदिआइन पढने पाठकलाई मोदिआइनले श्रीकृष्ण भगवानमाथि गर्ने उही प्रश्नले स्तब्ध बनाएर छोडि दिन्छ, तब न त्यो उपन्यास बेजोड भएको छ ।

पिछडिएको समाजमा हुर्कने बढ्ने बिच पनि प्रेम हुन्छ, प्रेम नभए प्रेम जस्तो केही हुन्छ । असमान बर्ग बिचमा पनि प्रेम हुन्छ वा प्रेम जस्तो केही हुन्छ । असलमा प्रेम भन्ने चिज हुन्छ कि त्यो केवल भ्रम मात्र हो त ? ऐलानी पढ्ने पाठकलाई यही प्रश्नमा छोडि दिएका छन् लेखकले । मोक्ष बैराग्य हो कि प्रेम हो त ? पाठकलाई पुस्तक सकेपछि लाग्न सक्छ बैराग्य हो । तर उमेरको यौवनले खासै अपनाउँदैन बैराग्य । कथाले यी कुरामाथि त्यस्तो केही सम्बाद गर्दैन तर पाठकलाई यहाँनेर पुर्‍याउछ । पिध भएको अँखोरामा पानी रहेजस्तो पाठकको हृदयमा रहन्छ त्यो कुरा । उपन्यास पढेको कयौ दिनसम्म पनि उपन्यासको अन्तमा आएको प्रेमप्रतिको त्यो बैराग्य खालको स्ट्रोक लेखनले हानिरहन्छ । एक खालको मीठो पीडा जस्तो, एक खालको मीठो बेदना जस्तो भएर आउछ । त्यो स्ट्रोक हल्का छ, लेखक बिबेकले त्यो स्ट्रकलाई गहिरो बनाउन सकेको भए कोही पाठक बच्ने थिएन त्यस्को छुवाइले । कलाइमेक्सको उचाइ भन्छौ नि कलामा, त्यो उचाई बिबेकले दिन सकेनन्, उपन्यासको उचाइनै घट्यो ।
अत्बेर कामु भन्छन्, उपन्यास भनेको लेखकले आफ्नो दर्शन वा चेतनाको बारेमा धेरैभन्दा धेरैलाई बताउने एउटा गज्जबको माध्यम हो । मेरो हृदयमा प्रभाव पार्ने, मेरो जीवनलाई पनि प्रभाव पार्ने त्यस्तै उपन्यास भए । काफकाको मेटामर्फोसिस, कामुकै आउटसाइडर, हर्मन हेसको शिद्धार्थ, पारिजतको शिरिषको फूल वा बि. पि. कोइरालाको नरेन्द्रदाई, सरुभक्तको पागल बस्ती । सबै फिलोसफीमाथि सजिलोसँग प्रकाश पार्न लेखिएका फिक्सन हुन्, जिवन्त फिक्सन हुन् । यस्ता फिक्सनहरु पिँध भएका आम्खोरा जस्तो लाग्छन् जल थामेर राख्न सक्ने ।

थिम नभएका, दर्शन नभएका बाँकी फिक्सन भने मलाई सदैब पिँध नभएका लोटा जस्ता लाग्छन् । तीनमा जति सुकै मिठो गन्थन, जति सुकै मिठो भाषा भए पनि तीनले पाठकलाई लामो समय आफ्नो बनाउँदैनन्, ती केबल दबङ चलचित्र जस्तो केही दिन हल्ला गर्छन हराउछन् । ऐलानीलाई पिध भएको अँखोराको रुपमा हेर्न सक्छौ, तर त्यो पिध उति बलियो भने छैन । किनकि असमान बर्गबिच घटित प्रेम कथामा बिबेकले प्रेमको डिस्कोर्सलाई गहिरो बनाएर लैजानु पर्ने काम नै गरेनन् ।

टेप रेकर्डबाट लिइएको कथालाई आधार बनाएर आख्यान रचना गर्दा यसरी लेखक चिल्लने हुन्छ प्रायजसो । किनकी रेकडको कुरालाई कति फिक्सनाइज गरेर कसरी लग्ने अनि आफ्नो अभिस्ट कसरी पुरा गर्ने ? लेखक यस्ता समस्या झेल्दछ । धेरै लेखकहरु त आफ्नो थिम अनि चेतनालाई फ्यास्स छोडी उही रेकड कथाकै जन्जालमा हराउछन् । उपन्यास भनेर खाली सत्यकथा लेखेर छोड्छन् ।

एलानीले समाजमा के प्रभाव पार्ला ? यो प्रश्नलाई राखेर हेरौ अब । असलमा यो एउटा गलत प्रश्न हो लेखन माथि गरिने ? यो प्रश्न त नेतालाई गर्नु पर्ने प्रश्न हो । तपाईको जितले कुनचै धारा उपधारा बदल्छ भनेर ? बिडम्बना लेखकलाई पनि सोधिन्छ यस्ता प्रश्न । सोधिने प्रश्नमाथि चर्चा त गर्नै पर्यो । असलमा लेखनले कुनै धारा, उपधारा परिवर्तन गर्दैन । लेखनको प्रभाव समाजबाट पनि अगाडि बढेर मानिसको जीवनमा घुस्दछ । पढ्ने पाठकको सोचमा घुस्दछ । त्यस्को प्रभावले पाठक बदलिन्छ पनि । वादीलाई घर बनाइ दिने काम एलानीले गर्दैन तर वादी हुनु के हो ? वादीले बाचेर आएको त्यो जीवनको अँध्यारो के हो ? महसुस गराएर छोडिदिन्छ उपन्यासले । वादीमाथि, उनीहरुको जीवनप्रति करुणा जगाएर छोडिदिन्छ । एलानीको जग यही महसुस गराउनुमा देखिन्छ । एलानीको धुरी खाबो भने प्रेम माथि गरिएको डिस्कोर्स भएर देखिएको छ । यी दुई कुराले एलानीको आयु थपेको छ ।

ऐलानीमा एउटा पात्र छ अमर नामको । त्यो पात्र फिक्सनल हुन नसकेको पात्र भएर देखा परेको छ । फिक्सनल बनाउन केही काम त गरेका छन् लेखकले । पात्रलाई उनले मानसिकरुपमा अस्वस्थ बनाई दिएका छन् । पहिले यस्सै बिछिप्ततामा घरबाट निस्केको सो पात्रलाई पछि लेखकको रुपमा उपान्तरण गराएका छन् । उस्ले जून तरिकाले कथा टिप्छ, उ जून तरिकाले कथामा आफै कथा भएर देखा पर्दछ त्यो मिठो भएको छैन, फिक्सनल हुन सकेको पनि छैन । उपन्यास अब्बल हुनबाट रोकिएको छ यही कमजोरीले । अँखोराको कलात्मकता बिटमा देखिन्छ । बिट गतिलो नभएको अँखोरा कस्तो हुन्छ ? त्यस्तै भएको छ एलानी उपन्यास ।

चलाखी लेखकले मात्र कहाँ, अहिलेे त प्रकाशकले गर्दछन् धेरैजसो । जस्तो कि यो उपन्यासलाई वादी समुदायको अध्ययन गर्ने अनि समाजिक परिवर्तको सपनालाई उभ्याउने आख्यानको रुपमा लेखिएको छ कभरमा । यस्तोमा नारीबादीहरुले यो उपन्यासमा नारीबाद मात्र खोज्न सक्ने सम्भावना छ । यस्तो भयो भने दुर्घटना हुन्छ ।
पारिजातको शिरिषको फूलमा शकम्बरी पात्र उपन्यासकै मुख्य पात्र तर नारीबादले खोज्ने कुरा शिरिषको फूलमा खोजियो भने के होला ? शिरिषको फूल सामान्य उपन्यास बन्न पुग्छ । एउटा चुम्बनले मर्ने देखाइदिने नारीलाई, यस्तो नि हुन्छ ? यस्तो कम्जोर देखाउने नारीलाई भन्न सकिन्छ । एलानी पनि यस्तै झुर उपन्यास लाग्नेछ नारीबादको चस्मा लगाएर हेर्दा । समाजबादको चश्माले पनि खासै शक्तिसाली देखिदैन ।

अब्बास किरोस्तामीको चलचित्र ‘टेस्ट अफ चेरी’ मा दबङ चलचित्रको टेस्ट खोजियो भने दुर्घटना त हुन्छ नै । चलचित्रमा मात्र होइन आख्यान, कथा, कविता आदि सिर्जनामा पनि बिबिध धार हुन्छन् । कलात्मक चलचित्र मन पराउनेले ऐलानी मन पराउने छन् । ब्यबसायिक धारको चलचित्र मन पाराउने अनि सामाजिक कथाको खोजीमात्र गर्नेले एलानी मन पराउने छैनन् ।

‘यो संसार नै अचम्मको रहस्यमय छ, वास्तविक हुन, बाच्न अनि खोज्न छोडिदेउ ।’ बुद्घले भन्नु भएको थियो । यस्तो रहस्यमय संसारमा बसेका बिबेकजस्तो सम्भावना भएका लेखक सत्यकथाको जन्जालमा पर्न छोडुन, सत्यकथालाई चाहिए जति मात्र लिन जानुनु, चेतनालाई केन्द्रमा राखेर जिवन्त सिर्जनामा लागुन् । बि. पि. कोइराला, इन्द्रबाहदुर राई, गोबिन्द गोठाले अनि पारिजातहरुको कलमले सम्बृद बनाएको नेपाली साहित्यमा एक बर्ष होइन बिश बर्ष बाँच्ने, बिष बर्षको सुची बनाउँदा पनि पर्ने उत्कृष्टमा पर्ने सिर्जनामा लागुन, ऐलानीले दिएको संकेत अनुसार यो एउटा अपेक्षा ऐलानी पठेपछि रहिरहेको छ । मलाई थाहा छ यो सजिलो छैन, सस्मरण कथाको बाटोबाट गन्थनको थुप्रोजस्तो आख्यान सिर्जनाको सजिलो बाटो मात्र हिँड्ने त हामी लेखकले उसो भए ?

यो प्रश्न म आफैलाई पनि, विवेकलाई पनि, बाँकी अख्यान लेखकहरुलाई पनि…।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment