Comments Add Comment

भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छः डा. महत

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले भने,’नेपालले आफैं रेल निर्माण गर्न सक्दैन, हाम्रा आफ्नै आन्तरिक आवश्यकताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ-धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन ।’

अघि भने, ‘बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, साझेदारीमा पनि बनाउन सक्ने अवस्थामा हामी छैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरु पनि भएका थिए ।’

यद्यपि नेपालमा रेल आउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो ।’

नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि अनुदानमा रेल बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए । उनले भने,’यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ । नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन ।’

दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment