Comments Add Comment

काँकरभिट्टाबाट भारतीय माछाको आयात घट्यो

९ असार, बनियानी, झापा ।  पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४१० मेट्रिक टन माछा आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो । आव २०७३÷७४ मा एक हजार ६७५ मेट्रिक टन माछा आयात भएको थियो ।

त्यस्तै, आव २०७०÷७१ मा भारतबाट दुई हजार ८० मेट्रिक टन, २०७१/७२ मा दुई हजार १०९ मेट्रिक टन, २०७२÷७३ मा एक हजार ७३६ मेट्रिक टन माछा भारतबाट आएको कार्यालयको तथ्याँक छ ।

पाँच वर्षयता माछा आयातमा ६० प्रतिशतले कमी आएको छ । पछिल्लो समय नेपालमा माछाको व्यावसायिक उत्पादन हुन थालेपछि भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै माछाको परिमाणमा कमी आएको हो । काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेका छन् ।

झापामा ३० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा गत वर्ष ३.५ मेट्रिक टन माछा उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा माछा ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ ।

सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई रू तीन लाख अनुदान उपलब्ध गराउँदै आएको कृषि विकास कार्यालय झापाका मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment