Comments Add Comment

खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा पोखराबाट शुरु

९ असार, पोखरा । नेपालमै पहिलोपटक पोखराबाट खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खेलाडीहरुको विमा गरिदिएर नेपालको खेल क्षेत्रमा स्वास्थ्य विमाको शुरुवात गरेको हो ।

समितिले पश्चिमाञ्चलका १६ जिल्लाका राष्ट्रिय खेलाडीहरुको प्रुडेन्सियल ईन्सुरेन्स कम्पनीमा स्वास्थ्य तथा दुर्घटना विमा गरिदिएको हो ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा क्रिकेटका राष्ट्रिय खेलाडी करण केसी र भलिवलको राष्ट्रिय टीमकी उप-कप्तान मञ्जु गुरुङले विमा कागजमा हस्ताक्षर गरेर विमा कार्यको शुरुवात गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामा ९ खेलका ४२ जना राष्ट्रिय खेलाडी रहेकाले उनीहरु सबैको विमान गरिनेछ । विमा असार ११ गते आइतबारदेखी लागू हुनेछ ।

हस्ताक्षर गरिएपछि नै विमाको अवधी शुरु हुने भएपनि अफिसियल पूरा गर्न कार्यालय खुल्नुपर्ने भएकाले आइतबारदेखि मात्रै विमा लागू हुने कम्पनीले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रति खेलाडीको वार्षिक २ लाखको दुर्घटना विमा र २५ हजारको स्वास्थ्य विमा गरेको छ ।

जस अनुसार खेलाडी दुर्घटनामा परेर अंगभंग भई उपचार गर्नुपर्ने भएमा २ लाख रुपैयाँ क्षतिपूर्ति पाउँछ भने घाइते भई उपचार गर्नुपर्ने भएमा विमित रकमको १० प्रतिशत अर्थात २० हजार बराबरको उपचार खर्च पाउँछ । विमावापत खेलाडीलाई कुनै भार पर्ने छैन भने खेलाडीको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले विमा कम्पनीलाई प्रिमियमवातको आवश्यक रकम बुझाउनेछ ।

विमा नेपालसहित भारत र भुटानमा बिना शर्त लागू हुने जनाइएको छ । तोकिएका देशमा बाहेक अन्य देशमा गएर खेल्नुपर्ने भएको अवस्थामा भने पूर्व जानकारी गराएर गएमा सो देशमा पनि विमा लागू हुने कम्पनीले जनाएको छ ।

खेलाडीको स्वास्थ्य र दुर्घट्ना विमाको शुभारम्भ भएको घोषणा गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीलाई राज्यले हेरेन भन्ने गुनासो सँधै रहँदै आएको बताउँदै विमाले त्यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले विदेशमा खेल्दाखेल्दै केहि भयो भने घरमा फोन गरेर बुबा, आमा वा आफन्तलाई फोन गरेर पैसा माग्नुपर्ने बाध्यता छ, अब यो विमाले त्यो बाध्यता हटाउँछ ।’

उनले अहिले विमाको शुरुवात मात्र भएको बताउँदै केहि समयपछि नै यसलाई बढाएर सके १० लाख नत्र कम्तिमा पनि ५ लाख पुर्‍याउने घोषणा गरे । उनले भने, ‘दुर्घटना विमा १० लाख पुर्‍याउने योजना हो तर कम्तिमा पनि ५ लाख त पुर्‍याउँछौं, स्वास्थ्य विमा चाहिं डेढदेखी दुइलाख पुर्‍याउँछौं ।’

अध्यक्ष पौडेलले अहिले राष्ट्रिय खेलाडीका लागि मात्र विमा गरिएपनि केहि समयपछि क्षेत्र र जिल्लास्तरीय खेलाडीको पनि विमा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment