Comments Add Comment

कैलालीको विकास बजेट न्यून मात्रामा खर्च


१० असार, कैलाली । मुलुक सङ्घीय संरचनामा गएपछि विकास बजेट खर्चमा प्रगति बढ्ने अपेक्षा गरिए पनि कैलालीमा पुँजीगत (विकास) बजेट खर्चको अवस्था भने सन्तोषजनक देखिएको छैन ।

स्थानीय र प्रदेश सरकार गठन भई कार्यान्वयनमा आउँदा समेत चालू आर्थिक वर्ष २०७४–०७५ मा पुँजीगत बजेट खर्च गत आर्थिक वर्षको जस्तै देखिएको छ ।

आर्थिक मसान्त आउनै लाग्दा कुल पुँजीगत बजेटमध्ये ६२ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षमा कैलालीका लागि पुँजीगत बजेट ६ अर्ब २४ करोड ४० लाख ५६ हजार रुपैयाँ रहेको थियो । जसमध्ये, जेठ मसान्तसम्म ३ अर्ब ९१ करोड २६ लाख १० हजार रुपैयाँ मात्रै खर्च भएको छ । विकास बजेट उल्लेख्य रुपमा खर्च हुन नसक्दा जिल्लामा कार्यान्वयनमा रहेका कतिपय विकासे योजनाहरुको काम पनि प्रभावकारी ढंगले अगाडि बढ्न सकेको छैन ।

चालू आर्थिक वर्षमा बजेट खर्च प्रगतिको अवस्था विगत वर्ष जस्तै रहेको कोष नियन्त्रक एवम् सूचना अधिकारी मदनराज पाण्डेयले बताए ।

‘अहिलेसम्मको खर्चको परिपाटी हेर्दा आर्थिक वर्षभरी गत आर्थिक वर्षकै हाराहारीमा बजेट खर्च हुने अपेक्षा गरेका छौं’, सूचना अधिकारी पाण्डेले भने ।

गत आर्थिक वर्ष २०७३–०७४ मा कैलालीमा ८२ प्रतिशत बजेट खर्च भएको थियो । विकासको कार्यमा खर्च गरिने पुँजीगत बजेट खर्च प्रगति उत्साहजनक नरहेको अवस्थामा प्रशासनिक कार्यमा खर्च हुने चालू बजेट खर्च प्रगति भने उल्लेख्य रहेको छ ।

चालूतर्फ कुल ११ अर्ब ४१ करोड ६६ लाख २० हजार बजेट आएकोमा जेठ मसान्तसम्म १० अर्ब १८ करोड ९६ लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । तर उक्त बजेटमा ५ अर्ब ५० करोड रुपैयाँ यहाँका स्थानीय तहमा गएकोले चालू बजेट खर्च बढी देखिएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

चालू आर्थिक वर्षका लागि कैलालीमा पूँजीगत र चालू गरी कुल १७ अर्ब ६६ करोड ६ लाख ७६ हजार रुपैया बजेट विनियोजन भएर आएको थियो । चालूतर्फको बजेट खर्च बढी रहेकाले समग्र बजेटको खर्च अवस्था भने राम्रो देखिएको छ । जेठ मसान्तसम्म १४ अर्ब १० करोड २२ लाख ४४ हजार रुपैया (करिब ७५ प्रतिशत) बजेट खर्च भएको जनाइएको छ ।
यसैगरी, विकासे अड्डामध्ये क्षेत्रीय सहरी विकास आयोजनाको बजेट अत्यन्त न्यून खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा २१ करोड ८० लाख बजेट रहेकोमा उक्त आयोजनाको जेठ मसान्तसम्म जम्मा १२ लाख पाँच हजार ५ सय ८ रुपैयामात्रै खर्च भएको छ ।

त्यस्तै २३ करोड ४२ लाख ८५ हजार बजेट रहेको खानेपानी सरसफाई डिभिजन कार्यालयले १४ करोड ३४ लाख ६८ हजार रुपैया खर्च गरेको छ । यस्तै, जिल्ला वन कार्यालयले ४ करोड ३४ लाख १० हजार बजेटमध्ये १ करोड ७९ लाख ८७ हजार रुपैया खर्च गरेको छ ।

यसैगरि, १ करोड २२ लाख २३ हजार बजेट रहेको जिल्ला भू–संरक्षण कार्यालयले १ करोड १४ लाख ९१ हजार रुपैया खर्च गरिसकेको छ । हुलाकी सडक योजना कैलालीले २७ करोड ७१ लख ८९ हजार बजेट सबै खर्च गरि सकेको छ ।

१५ करोड बजेट रहेको खुटिया–विपीनगर–गडसेरा–दिपायल सडक योजनाको १० करोड एक लाख ९७ हजार रुपैया बजेट खर्च भइसकेको छ । यस्तै, ५१ करोड ८१ लाख बजेट रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाको १९ करोड सात लाख ६४ हजार रुपैया खर्च भइसकेको छ । अख्तियारमा मुद्दा, स्थानीयको अवरोध लगायतका कारणले केहि महिना काम ठप्प भएर शुरु भएको मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य प्रगति भने सन्तोषजनक रहेको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको जेठ मसान्तसम्म ८८ करोड ३८ लाख ४१ हजार रुपैया खर्च भएको छ । यो कार्यालयलाई कुल बजेट १ अर्ब ४५ करोड ४३ लाख ९२ हजार रुपैया बजेट प्राप्त भएको थियो ।

यसैगरि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिचाई आयोजनाले कुल एक अर्ब ९२ करोड १३ लाख ४१ हजार रुपैया बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब १६ करोड ६५ लाख ८६ हजार रुपैया बजेट खर्च गरेको छ । जिल्ला समन्वय समिति (जिल्ला प्राविधिक कार्यालय) ले १७ करोड तीन लाख ६० हजार रुपैया खर्च गरिसकेको छ । यो कार्यालयको कुल बजेट ३१ करोड ४१ लाख ८५ हजार रुपैया रहेको छ ।

क्षेत्रीय सिचाइँ निर्देशनालयले कुल ९ करोड ८ लाख ७९ हजारमध्ये ७ करोड ४५ लाख तीन हजार रुपैया बजेट खर्च गरेको छ । यस्तै, ५४ लाख ६६ हजार बजेट रहेको भूमिगत जलस्रोत विकास समिति धनगढीले जेठ मसान्तसम्म ५१ लख १६ हजार रुपैया बजेट खर्च गरेको छ ।

२८ करोड ९२ लाख ५८ हजार कुल बजेट रहेको जल उत्पन्न प्रकोप डिभिजन नम्बर २२ कार्यालयले २५ करोड ९१ लाख १७ हजार रुपैया खर्च गरेको छ । भूगित सिचाइँ डिभिजन कार्यालयले ६ करोड आठ लाख ४० हजार रुपैया बजेट खर्चेको छ । यो कार्यालयलाई ९ करोड ९२ लाख ९७ हजार बजेट प्राप्त भएको थियो । यस्तै ९ करोड ६५ लाख ५२ हजार कुल बजेट रहेको सिचाइँ विकास डिभिजनले जेठ मसान्तसम्म ७ करोड २२ लाख ५८ हजार रुपैया बजेट खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment