Comments Add Comment

वर्षा शुरु भएसँगै सप्तरीका स्थानीयवासी त्रसित

प्रशासन भन्छ– उपकरण छैन, तैपनि तयार छौं


१० असार, सप्तरी । वर्षा शुरु भएसँगै सप्तरीका स्थानीयहरु त्रसित बनेका छन् । गत वर्ष आएको बाढीले तहसनहस पारेको स्मरण गर्दै जिल्लास्थित नदी, खोला आसपास घर बनाएर बसोबास गर्दै आएकाहरु पुनः बाढी आउन सक्ने भन्दै त्रसित बनेका हुन् ।

जिल्लास्थित खाँडो, महुली, सप्तकोशी, खड्ग, त्रियुगासहित विभिन्न खोलाको तटबन्ध गत वर्ष भत्केर वस्तीमा प्रवेश गर्दा हजारौं घर बगाएको थियो । गत वर्ष घर गुमाएकामध्ये धेरैले अहिलेसम्म घर बनाउन भ्याएका छैनन् । कतिपय पीडितले सरकारी राहतसमेत अहिलेसम्म पाएका छैनन् ।

अर्काे वर्षाको मौसम आइसक्दा समेत नदी, खोलाको बाँध बाँध्ने काम सकिएको छैन् । बाँध बाँध्ने काम पनि विगतको जस्तै बालुवाको प्रयोग गरेर गरिरहेका छन्, ठेकेदारहरुले । बालुवाको प्रयोग गरेर निर्माण भइरहेको बाँध लगातार दुई दिनसम्म पानी परे भत्किन सक्ने स्थानीयहरुको आंकलन छ ।

वर्षाको मौसममा नदी, खोला छेउका बासिन्दाहरु त्रसित भइरहँदा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने बाढी आउने सम्भावनाप्रति आफूहरु सचेत रहेको बताउँछन् । केही दिनअघि मात्रै जिल्ला आएका प्रमुख जिल्ला अधिकारी पौडेलले खाँडो, महुली, खड्गलगायत नदीहरुको त्रासमा जिल्लाबासी रहेको बताए ।

यद्यपि, यो सन्दर्भलाई विचार गरेर भर्खंरै विपद् व्यवस्थापन समितिको बैठक बसी प्रतिकार्य योजनाहरु बनाइसकेको जानकारी दिए । ‘बाढी पूर्व योजनाहरु बनाउँदै क्लस्टरहरुले गर्नुपर्ने काम, प्रतिकार्य योजनाहरु तयार गरिसकेका छौं’, उनले भने, “सरोकारबालाहरुसँग निरन्तर सम्पर्कमा छौं । उनीहरुसँग सम्पर्क र समन्वय गरेर अघि बढ्नेछौं ।’

पौडेलले स्थानीय तहका प्रमुखहरुसँग यस विषयमा छलफल पनि गरिसकेको बताए । जनप्रतिनिधिहरुलाई स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्न र राहत उद्धार कोष बनाउन भनिसकेको बताए । स्थानीय तहहरुले यो समिति र कोष नबनाएको बताउँदै उनले चाँडै गठन हुने विश्वास व्यक्त गरे । ‘यसको अनुगमन पनि गरिरहेका छौं’, उनले भने ।

बोट र उपकरणको अभाव

प्रमुख जिल्ला अधिकारी पौडेलले सुरक्षा निकाय र प्रशासन बाढीको सन्दर्भमा तयारी अवस्थामा रहेको बताए । उनले पोहोरको जस्तो विपद् नआओस् भन्ने कामना गर्दै त्यस्तो आएमा उपकरणकै अभाव झेल्नुपर्ने बाध्यता सुनाए । बाढीबाट लड्न हामीसँग उपकरण छैन्’, उनले भने, ‘हामीसँग ३ वटा बोट मात्रै छ । अन्य सामानको पनि अभाव छ ।’

सामानहरुका लागि केन्द्रीय विपद् व्यवस्थापन समिति र दातृ निकायहरुसँग पनि कुरा गरिरहेको जानकारी उनले दिए ।
विभागले पूर्व जानकारी दिने

प्रमुख जिल्ला अधिकारी पौडेलले गत वर्ष एक्कासि ठूलो वर्षा भएर धेरै क्षति गराएको बताए । गत वर्ष एक्कासि वर्षा भए पनि यसवर्ष मौसमको पूर्वानुमान जानकारी आउने बताए ।

जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षाबारे पूर्वानुमान गराउने उद्देश्य राखेको बताउँदै पौडेलले १० दिन पहिला अथवा ७ दिन पहिलाको सूचना विभागले उपलब्ध गराउने गरी काम गरिरहेको बताए । उनले यो प्रविधिले राम्रोसँग काम गरे र सूचना समयमा आए नदी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment