Comments Add Comment

रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

किसानलाई अनुदान र सस्तो ब्याजमा ऋण, तीन प्राविधिक शिक्षालय

१० असार, पोखरा । रुपा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ४२ बुँदे नीति तथा कार्यक्रमसहित ३२ करोड ७७ लाख रुपैयाँको बजेट शनिबार सार्वजनिक गरेको हो ।

जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्स्थ, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

गाउँपालिकाले ५८ लाख आन्तरिक आम्दानी, राजस्व बाँडफाँडमा केन्द्रबाट ४ करोड ४० लाख, राजस्व बाँडफाँड गरी प्रदेशबाट प्राप्त १९ लाख ३२ हजार गरी बजेट ल्याएको छ । १ करोड ८८ लाख गत वर्षको बजेटबा यो बजेटमा ल्याइएको छ ।

वित्तीय समानीकरण अनुदान ६ करोड २१ लाख, ससर्त अनुदान १२ करोड २८ लाख ७० हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त ११ करोड २५ लाख र सामाजिक सुरक्षा अनुदान ५ करोड ५० लाख रुपैयाँ छ ।

गाउँपालिकाले आर्थिक वर्षलाई लगानी मैत्री वातावरण निर्माण गर्दै खानेपानी, पर्यटन, कृषिलाई जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले चालुतर्फ ३ करोड ३५ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड ५ लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले सबै नागरिकसम्म खानेपानीको पहुँच पुर्‍याउन एक घर एक धाराको नीति लिएको छ । अबको आर्थिक वर्षलाई ‘खानेपानी वर्ष’को रुपमा मनाउँदै यसका लागि १ करोड ४० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

रुपा गाउँपालिकाले सीप सिक्ने पेशा व्यवसाय गर्न चाहने युवालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

गाउँपालिका संरक्षक रहने गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने नीति लिइएको अध्यक्ष ओझाले बताए । यसका लागि गाउँपालिकाले बिऊ पूँजीका रुपमा ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

जग्गा बाँझो राख्नेलाई निरुत्साहित गर्दै गाउँपालिकाले भूमि बैंक निर्माण गर्ने भएको छ । उत्पादनशील जमिनलाई गाउँपालिकाले निश्चित अवधिका लागि दर निर्धारण गरेर भूमि बैंकमा राख्ने जनाएको छ ।

भूमि बैंकमार्फत उद्योगी व्यवसायीलाई लगानी गर्न आकषिर्त गर्ने योजना गाउँपालिकाको छ । यसका लागि सिड मनिका रुपमा गाउँपालिकाले २५ लाख रुपैयाँ बिनियोजन गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

मुख्य टारहरुमा सिँचाइको प्रवन्ध गर्न सोलार सिँचाई प्रविधि भित्राइने अध्यक्ष ओझाले बताए । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि होमस्टे, भ्यु टावर निर्माण, पार्क निर्माण गर्ने योजना अघि सारेको छ । पर्यटन विकासका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बिनियोजन गरेको हो ।

गाउँपालिकाले व्यावसायिक कृषि विकासका लागि पकेट क्षेत्र तोक्ने भएको छ । गाउँपालिकाले एक गाउँ एक उत्पादनको नीति लिएको छ । कुन ठाउँमा कुन कृषि उपज उत्पादन हुन्छ भन्ने अध्ययन गरी पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।

कृषि विकासका लागि गाउँपालिकाले ४५ लाख रुपैयाँ बिनियोजन गरेको हो । गाउँपालिकाले यसपाली पनि बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । यसअघि १० लाख रुपैयाँ बाँदर नियन्त्रणामा छुट्याएको थियो ।

सहकारी, भूमि बैंक, केन्द्र र प्रदेशको सहकार्यमा स्थापना गर्ने योजना बनाएको छ । यसका लागि गाउँपालिकाले ५५ लाख रुपैयाँ बनियोजन गरेको हो ।

खानेपानी आयोजना र सरकारसफाइका लागि गाउँपालिकाले १ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ । गाउँपालिकाले गाउँकै स्वाथ्यचौकीमा फार्मेसीको व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि ३ करोड बिनियोजन भएको छ । हरेक वडामा एक खेलमैदान निर्माण गर्ने नीति तथा कार्यक्रममा छ । खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकोले ३ वटा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति लिएको छ । प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहित गर्न कम्तीमा एक विद्यालय एक प्रोजेक्टरको योजना गाउँपालिकाले सार्वजनिक गरेको छ । शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले ३ करोड रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले व्यावसायिक रुपमा कुखुरा, बाख्रा, पंगुर र गाई पालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको छ । पशु विकास कार्यक्रमका लागि गाउँपालिकाले १३ लाख रुपैयाँ छुट्याएको हो ।

एकिकृत सम्पत्ति कर लागू गर्ने, घर निर्माण गर्दा अनिवार्य नक्सापासको ब्यवस्था गर्ने नीति गगाउँपालिकाले अघि सारेको छ ।

रुपा गाँउपालिकाका रणनीतिक महत्वका मुख्य सडकहरु शिशुवा पोल्याङटार, रुपाकोट थुम्की र बेगनास भोर्लटार, रुपा रिङरोड, हाङगे वाङगे, शिवचण्डी मोटरबाटो केन्द्र र प्रदेशको योजनामा समावेश गरी यसै वर्षबाट स्तरउन्नति तथा पिचको काम अगाडि बढाइने कार्यक्रममा छ ।

गाँउपालिकाभरिको समग्र आन्तरिक आम्दानी अत्यन्तै नगन्य रहेकोमा आफू निर्वाचित भएर आएपछि ३ सय प्रतिशतले वृद्धि गर्न सकिएको छ र आगामी वर्ष यसलाई दोब्बर बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।

कास्कीकै सानो रुपा गाउँपालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रमले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले बताए ।

एक वर्षको अवधिमा रुपा गाउँपालिका अध्यक्ष ओझा नेतृत्वमा विकासका राम्रा कामको सुरुआत भएको र आगामी आर्थिक वर्षमा यसले अझ गति लिने देखिएको अधिकृत ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment