Comments Add Comment

पोखरा महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता

१० असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन ।

उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ । खोजी आइतबार पनि जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिबार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो । विहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेतीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानिय प्रत्यक्षदर्शी शान्ती श्रेष्ठले बताएकी छन् । प्रहरीले सेती वरपर रेस्क्यू टोली नै प्रयोग गरेर खोजी गरेपनि आझैसम्म केहिपनि पत्ता लगाउन सकेको छैन ।

यसैबीच, पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।

प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment