Comments Add Comment

केरुङ-काठमाडौं रेल इतिहासकै महत्वपूर्ण समझदारी

उपस्थित सञ्चारकर्मी मित्रहरू,

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम ली खछ्याङको मैत्रिपूर्ण निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज म स्वदेश फर्किएको छु।

भ्रमणबाट प्राप्त महत्वपूर्ण उपलव्धिका बारेमा भ्रमण दलका सञ्चारकर्मी मित्रहरुबाट निरन्तररुपमा समाचार सम्प्रेषण भएको हुँदा यहाँहरु सो सम्वन्धमा अवगत नै हुनुहुन्छ।

मेरो भ्रमणको उद्देश्य नेपाल चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबिच विगतमा सम्पन्न भएका सम्झौता समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, ऐतिहासिक निर्वाचन पश्चात् गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई अवगत गराउने

तथा राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरुमा सहयोग तथा सहकार्य गर्नुरहेको थियो।

चीनमा रहँदा मैले महामहिम राष्ट्रपति सी जिनपिङ्गसँग भेटवार्ता गरें। मेरा समकक्षी महामहिम प्रधानमन्त्री ली खच्याङ्गसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष महामहिम ली झान्सुसँग समेत भेट भयो। यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भयो।

चिनियाँ नेतृत्वबाट नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिदै नेपाल सरकारले देशलाई विकासको नयाँ चरणमा पुर्‍याउने आशा व्यक्त भएको छ । साथै राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफल हुने विश्वास व्यक्त गर्दै सो अभियानमा चीनको सक्दो सहयोग हुने बिचार पनि चिनियाँ नेताहरुबाट प्रकट भएको छ। सन् २०१६ मा मेरो चीन भ्रमणको अवसरमा सम्पन्न सम्झौता एवं समझदारीहरु लगायत सबै सम्झौता एवं समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन्।

नेपाल र चीन बिच सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वार पार बहुआयामिक सम्पर्क सन्जाल (Trans- Himalayan Multi- Dimensional Connectivity Network) को बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने कुरामा दुबै पक्षबीच सहमति भएको छ।

भ्रमणको अवसरमा चिनियाँ उच्च नेतृत्वसँग भएको सारभूत र व्यापक छलफल पछि विभिन्न सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ भने नेपाल-चीन सम्वन्धको विकास र सम्बन्धको थप विस्तारमा आगामी दिनका लागि दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ति समेत जारी भएको छ।

दुबै पक्षबीच हस्ताक्षर भई आदान प्रदान गरिएका सम्झौता तथा समझदारीपत्रहरुबाट नेपाल-चीनबीच विद्यमान आर्थिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन मद्दत पुग्नेछ। यस क्रममा दुई देशबीच सम्पन्न रेल्वे कनेक्टिभिटी सहयोग सम्बन्धी समझदारी महत्वपूर्ण रहेको छ।

यसको कार्यान्वयनबाट केरुङ्ग-रसुवागढी-काठमाडौं रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोग सम्बन्धी कारवाही अगाडि बढ्ने छ । यसबाट काठमाडौं-पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुनेछ । द्विपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण समझदारी रहेको र यसले सीमावारपार यातायात संजाल सम्बन्धी सहयोगको क्षेत्रमा नयाँ आयाम थपिने दुवै देशको विश्वास रहेको छ ।

नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा चिनियाँ नेतृत्वसँग सकारात्मक कुराकानी भएको छ । दुबै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं उत्तर दक्षिण जोड्ने यातायात सन्जाललाई थप सुदृढ बनाउन सहमत भएका छन् ।

यस क्रममा कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर तथा कर्णाली आर्थिक कोरिडोर विकासको लागि संभाव्य सहयोग उपलब्ध गराउनेबारे थप अध्ययन गर्ने सहमति भएको छ । आ-आफ्ना मुलुकका एयरलाइन्स कम्पनीहरुलाई सीधा हवाई सम्पर्क विस्तारका लागि अभिप्रेरित गर्न दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी सीमा वारपार प्रशारण लाइन निर्माणको सिलसिलामा केरुङ-रसुवागढी-गल्छी-रातमाटे ४०० केभी प्रशारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्टेट ग्रिड कर्पोरेसनबीच हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा वैठक बसी टुङ्ग्याउने र तातोपानी खासा नाका सन् २०१९ को मे महिनासम्ममा खुला गर्ने सहमति भएको छ । त्यसैगरी रसुवागढी-केरुङ्ग नाकालाई सुब्यबस्थित रुपमा संचालन गर्न, स्याफ्रुबेसी रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न दुवै पक्षहरु सहमत भएका छन् ।

नेपालमा तेल तथा ग्यासको अन्वेषणको संभाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ भने पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले अध्ययन गरी सहयोग गर्ने जनाएको छ ।

चीनमा नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि सकारात्मक उपायहरु अवलम्वन गर्न, निर्यातयोग्य नेपाली वस्तुहरुको विकास तथा कृषिजन्य उत्पादनको लागि Post harvest Technology मा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन, दुई मुलुकबीचको आर्थिक कारोबार बैकिङ्ग माध्यमबाट गर्न तथा नेपालमा सम्पूर्ण सुविधायुक्त क्वारेन्टाईन प्रयोगशाला निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ। साथै, आपसी सहमतिमा थप व्यापारिक नाका खोल्न दुवै मुलुक सहमत भएका छन् ।

नेपाल सरकारको छेन्दुमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने सम्बन्धी प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको छ। सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको घोषणा अनुरुप चीनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहयोग गर्न चिनियाँ सरकार सहमत भएको छ ।

यसैगरी नेपालको मानव स्रोत विकासका लागि प्रत्येक वर्ष ४०० भन्दा बढी तालिम अवसरहरु तथा हाल उपलव्ध गराउदै आएको सरकारी छात्रवृत्ति संख्यालाई बढाउने बिषयमा समेत चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । उच्चस्तरीय भ्रमणको आदान प्रदानमार्फत् दुबै देशबीच विद्यमान सम्बन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन् ।

यसै सन्दर्भमा मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपति र मेरा तर्फबाट महामहिम चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु । चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु ।

भ्रमणका क्रममा मैले बेइजिङस्थित नेपाली राजदूतावास तथा ल्हासास्थित महावाणिज्यदूतावासको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेको थिएँ ।

भ्रमणको अवसरमा मैले वेइजिङमा नेपाली राजदूतावास र China Council for the Promotion of International Trade (CCPIT) द्वारा संयुक्त रुपमा आयोजना गरिएको China- Nepal Business Forum लाई सम्वोधन गरी चिनियाँ व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेको छु। साथै, चीनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि बेइजिङ खेलकुद विश्वबिद्यालयमा आयोजित Nepal-China Friendship Run कार्यक्रमको शुभारम्भसमेत गरेको छु ।

बेइजिङमा रहँदा मैले चाइनिज एकेडेमी अफ गभर्नेन्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरें ।

चीन भ्रमणबाट फर्किएपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भ्रमणसम्बन्धी प्रेसनोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment