Comments Add Comment

रुकुमको स्थानीय तहमा कांग्रेसको छायाँ सरकार

 १० असार, रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली कांग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।

बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो ।

विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताए ।

अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता देखिएको प्रारम्भिक जानकारी आएको उनले बताए ।

कुनै योजनामा नयाँ निर्माण गर्दा खर्च भएको रकमभन्दा अहिले मर्मतमा बढी खर्च गरेको, गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेटअनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको छायाँ सरकार बाँफीकोटअन्तर्गत निर्माण तथा भौतिक पूर्वाधार विभागका संयोजक धीरेन्द्रकुमार शाहीले बताए ।

निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटीरुपमा उपभोक्ता समिति गठन भएकाले पनि भने अनुसारको काम नभएको उनको भनाइ छ ।

छायाँ सरकारले गाउँपालिकाअन्तर्गत १० वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने प्रमुख खत्रीले बताए । यहाँ भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment